घरघरमै पुगेर खोप लगाउन छुटेका बालबालिकाको खोजी

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर-घरमा पुगेर खोजी गर्न थालिएको छ ।

वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई घर-घरमा पुगेर खोज्न थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए ।

उपमहानगरपालिकाका २३ वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको छ । अभियान प्रभावकारी बनाउन वडा-वडामा गोष्ठी, खोप सुनिश्चितता र कार्ययोजना तयार गरिएको उनेले भनाई छ ।

चैत मसान्तसम्ममा खोप नलगाएका बालबालिकाको एकिन गरी खोप लगाइने छ । ‘वडा स्तरदेखि नै छुटेकाको खोजी गरी खोप लगाउने उद्देश्यले घरधुरी सर्वेक्षणमा जुटेका छौँ,’ बस्नेतले भने ।

संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ)को सहयोगमा घरधुरी सर्वेक्षण भइरहेको छ । घरधुरी सर्वेक्षणको प्रगति र प्रभावकारिताबारे अनुगमन पनि भइरहेको छ । हालसम्म वडा नम्बर ३, ८, १४ र २२ मा घरधुरी सर्वेक्षणको काम सकिएको छ । नियमित खोप लगाउन छुटेकाको पहिचान र विश्लेषण गर्ने गरी कार्ययोजना बनाइएको उपमहानगरपालिकाले जनाएको छ ।

कार्यशालामार्फत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धिसमेत गरिएको छ । वडास्तरमा वडाध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित गरिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *