एक्लिएका ओलीले बल्ल खोजे रावलको साथ 

अचम्मकाे ओली शैली : पहिला उपेक्षा, अहिले अपेक्षा 

काठमाडौँ । नेकपा एमालेको पछिल्लो गतिविधि नियाल्ने हो भने अहिले एमाले आन्तरिक एकीकरणमा लागेको देखिएको छ । १० मंसिर २०७८ मा भएको एमालेको १० औँ महाधिवेशनबाट पार्टी अध्यक्ष बनेका केपी शर्मा ओलीले प्रतिस्पर्धी डा. भीम रावललाई पार्टीबाट पुरै जिम्मेवारीविहीन बनाइदिए । आफ्नै पार्टी अध्यक्षप्रति तीव्र असहमति राखेका रावललाई ४ मंसिरको निर्वाचनअघिसम्म पनि ओलीले पार्टीभित्रै पूरै बहिष्करणमा पारेको जगजाहेर छ । किनभने उनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारसम्म बन्न नदिएर ओलीले संसद्को ढोकासमेत बन्द गरिदिएका थिए ।

४ मंसिरको निर्वाचनपछि नेकपा एमाले देशकै दोस्रो ठुलो राजनीतिक दलकै रूपमा कायम रह्यो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) जस्ता केही नयाँ दलको उदयसँगै सत्ताको अङ्कगणितमा धेरै परिवर्तन देखियो । निर्वाचनपछि पनि एकीकृत समाजवादी, माओवादी, रास्वपा, राप्रपासहित अन्य ६ दलको साथ एमालेले पायो । प्रधानमन्त्री बन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वार्थलाई सघाउन तयार भएपछि एमालेले ११ पुसमा बनेको ७ दलीय गठबन्धन सरकारमा ६४ दिनसम्म रहने मौका पायो । त्यसयता भने परिस्थिति बिल्कुल भिन्न हुँदै गयो । आफैँलाई प्रधानमन्त्री बनाउने ओलीको साथ छोडेर प्रचण्ड कांग्रेस गठबन्धनतिर गए ।

त्यसपछि ओली बिस्तारै राष्ट्रिय राजनीतिमा बहिष्करणमा पर्न थाले । कांग्रेस नेतृत्वमा १० दलीय गठबन्धन बनेपछि भने ओली पुरापुर बहिष्करणमा परेका छन् । संघीय सरकारमा नयाँ सत्ता समीकरण बनेपछि प्रदेशमा पनि एमालेलाई एक्ल्याउँदै नयाँ गठबन्धनका सरकारहरू बनिरहेका छन् । यो क्रम जारी नै छ ।

यसरी राष्ट्रिय राजनीतिमा शक्ति क्षीण बनेपछि भने ओलीले अहिले पुनः नयाँ शक्ति आर्जनतर्फ केन्द्रित भएका छन् । उनी पार्टीभित्रको आन्तरिक सुदृढीकरणमा लागेका छन् । त्यसैको परिणति हो- ‘ग्रासरुट अभियान’ देखि आफैँद्वारा उपेक्षा गरिएका भीम रावलसँगको वार्ता टोली गठन ।

पार्टीको दशौँ महाधिवेशनमा आफूसँग पराजित भएका रावललाई ओलीले केन्द्रीय सदस्यमा मनोनयन गर्न खोजेका थिए । तर, रावलले यसमा असहमति जनाए । रावलले हरेक भाषणमा पार्टीमा अध्यक्ष ओलीको चर्को हस्तक्षेपबारे बोल्दै आएका छन् ।

त्यसो त ओलीविरुद्ध बोल्दै आएका नेता घनश्याम भुसाललाई पनि एमालेले ४ मंसिरमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको टिकटसम्म दिएन । बाध्य भएर उनी आफ्नै पार्टीका नेता छविलाल विश्वकर्माको बागी उम्मेदवार बने ।

एमाले पार्टी ओलीको पेवा जस्तो भएको त्यहाँ ओलीको मात्र मनोमानी चलेको भन्दै यसअघि एमालेबाट भुसाल २९ पुसमा नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए । त्यस बेला भुसालले भनेका थिए, ‘केपी शर्मा ओलीकै कारण एमालेमा ओलीवाद हाबी भएको छ ।’

टिकट नपाए पनि बागी उम्मेदवार नबनेका रावल भने तटस्थ बसेका थिए । रावलको क्षेत्रमा अछाम-१ मा एमालेले झपट बोहरालाई उम्मेदवार बनाएको थियो । त्यसपछि भने रावल र अध्यक्ष ओलीबिच बोलचाल नै बन्द भयो ।

यसको असर एमालेले पनि व्यहोर्नु पर्‍यो । सुदूरपश्चिमकै उच्च तहका नेता रावललाई टिकट नदिएपछि एमालेले सुदूरपश्चिम प्रदेश सभामा ३ सिट प्रत्यक्षमा र ७ सिट समानुपातिकबाट ल्याएको छ । ०७४ को निर्वाचनमा प्रतिनिधि सभातर्फ एमालेले सुदूरपश्चिममा ११ सिट प्रत्यक्षमा जितेको थियो । २०७९ मा जम्मा दुई सिट जितेको छ । एमालेबाट तारालामा तामाङ कञ्चनपुर क्षेत्र नम्बर १ ब बाट र दामोदर भण्डारी बैतडीबाट प्रतिनिधि सभामा छन् ।

रावल- ओली सम्बन्ध अहिले पनि सुध्रिएको छैन । न त रावल एमालेबाट अलग भएर अन्त कतै लागेका नै छन् । तर, थप शक्ति आर्जनका लागि रावलको आवश्यकता बोध ओलीलाई भएको भने स्पट बुझ्न सकिन्छ । किनभने उनले रावललाई एमालेमा उपयुक्त जिम्मेवारी दिने प्रस्ताव राखेका छन् । र, रावलसँग वार्ता गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा वार्ता टोली नै गठन गरेका छन् । उक्त टोलीमा लेखराज भट्ट र कर्ण थापा सदस्य छन् ।

पहिला उपेक्षा, अहिले अपेक्षा
४ मंसिरको निर्वाचन परिणामपछि एमाले दोस्रो ठुलो दलमा कायमै रहेको छ । तर, आगामी ५ वर्षपछि हुने आवधिक निर्वाचनमा एमालेलाई देशकै पहिलो र शक्तिशाली पार्टी बनाउने अभियानका साथ अध्यक्ष ओली जोडतोडले लागि परेका छन् । यो विषय उनले एमालेले चलाइरहेको ग्रासरुट अभियानमा पनि पटक-पटक उल्लेख गर्ने गरेका छन् । हाल प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९ सिट छ । यस्तै नेकपा एमाले ७८ सिट छ । तर, आगामी चुनावमा सरकार बनाउन पुग्ने दुईतिहाई सिट नै जित्ने ओलीको चाहना छ ।

अध्यक्ष ओली १० सिटे नेकपा एकीकृत समाजवादीलाई पनि पुनः एमालेमै फर्काउन चाहन्छन् । यसका लागि पनि उनले कसरत नगरेका होइनन् । खासगरी १५ फागुनमा प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बारिहरिएपछि उनले नेकपा एसलाई ल्याउन कसरत थालेको एसका नेताहरूको भनाइ छ । तर, १० सिटे पार्टीकै भए पनि अध्यक्ष हुन पाएका र सत्ता घटक दलका रूपमा छुट्टै मान र सम्मान पाएका माधवकुमार नेपाल पुनः एमालेमा फर्किएर ‘ओली शासन’बाट शासित हुन चाहँदैनन् । त्यसैले पनि यसका लागि नेपालले इच्छा देखाएका छैनन् । त्यसो त एमालेमा हेपिएका दुई पात्र मध्ये घनश्यामलाई पार्टीमा भित्र्याएका अध्यक्ष नेपाल भीम रावललाई भने आफ्नो पार्टीमा कुनै पनि हालतमा नल्याउने अडानमा रहेको स्रोत बताउँछ । किनभने पार्टीमा रावलको हस्तक्षेपको डर नेपालमा प्रष्ट रूपले देखिन्छ ।

त्यसो हुँदा रावल ‘न घरको न परको’ नै भएर निरीहता प्रस्तुत गरिरहेको अवस्थामा छन् । यस्तो बेला थोरै सहानुभूति देखाउन सके रावलको पनि उद्धार हुने र शक्ति आर्जनमा आफूलाई पनि बल पुग्ने ठानेर ओलीले यतिबेला पार्टीमा रावललाई उपयुक्त जिम्मेवारी दिने प्रस्ताव अघि सारेका छन् । वार्ता टोली पनि त्यसैको उपज हो ।

अचम्मको ओली शैली : आफ्नै पार्टीका नेतासँग कुरा गर्न पनि वार्ता टोली !
आफ्नै पार्टीभित्रका एक असन्तुष्ट नेतालाई सहमतिमा ल्याउन अध्यक्ष केपी शर्मा ओलीले बोलाएर स्पष्टसँग सौहार्दतापूर्वक छलफल गर्न सक्थे । तर, त्यसो नगरी अध्यक्ष ओलीले असन्तुष्ट रावलसँग कुरा गर्न वार्ता टोली नै बनाए । सम्भवतः नेपाली राजनीतिक इतिहासमा एमाले पार्टीभित्रकै एकजना नेतासँग कुरा गर्न वार्ता टोली बनाइएको पहिलो घटना हुन सक्छ ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘अहिलेसम्म अध्यक्ष ज्यू र रावलजी भेट्न चाहेको देखिँदैन । त्यो कारण कमिटीलाई व्यवस्थित र मर्यादित होस भनेर खटाइएको हो ।’

कुनै छलफल नै गर्न नचाहेका ओलीले वार्ता टोली पनि बनाउनु उपलब्धिमूलक भएको एमाले सचिवालयका एक नेता बताउँछन् ।

‘हामीले भीम रावल कमरेडसँग अध्यक्ष ज्यूले कुरा गर्नुपर्ने बताउँदै आएका थियौँ,’ एमाले सचिवालयका एक नेताले भने, ‘तर यो कुरा उहाँले सुन्न चाहनु भएको थिएन । धेरै हाम्रो नेताहरूले जोड गरेपछि अहिले उहाँ यो कुरामा कन्भिन्स हुनुभयो । तर कमरेड रावलसँग वार्ता गर्न टोली नै पनि बनाउनु भएछ ।’

विषयवस्तु राख्न र रावलका असन्तुष्टिहरू बुझ्न सहज हुने आशयका साथ वार्ता टोली बनाइएको पनि हुन सक्ने उनको भनाइ छ ।

उपाध्यक्ष ज्ञवालीले पनि रावलसँग व्यवस्थित कुराकानी गर्न टोली बनेको बताएका छन् । उनले रावलसँग कुराकानी गरेर तीन सदस्य टोलीले प्रतिवेदन बुझाउने र त्यहाँबाट आएका कुराहरू हेरेर नेतृत्व अघि बढ्ने बताए ।

उनले भने, ‘भीम रावलसँग भेटेरै गर्दाखेर राम्रो हुन्छ भनेर व्यवस्थित कुराकानी गर्न टोली गठन भएको हो । टोलीले रिपोर्ट बुझाएपछि मात्रै अध्यक्षले भेट्नुपर्ने हो कि अध्यक्षलाई रावल जीले भेट्नुपर्ने हो टुङ्गो लाग्छ ।’

के गर्दैछ वार्ता टोली ?
टोलीका सदस्य रहेका कर्ण थापाले हालसम्म कुनै सार्वजनिक गर्न लायक कुराकानी नभएको बताए ।

यसबारे नेता रावल स्वयंले पनि हालसम्म कुनै वार्ता नभएको बताएका छन् । मकालुखबरसँग उनले भने, ‘वार्ता टोली बनेको कुरा मैले पनि सुनेको छु । हालसम्म कुनै छलफल भएको छैन । सम्पर्क भएको छ । समय मिति तोकिएको छैन ।’

तर, विश्वस्त स्रोतलाई आधार मान्ने हो भने अध्यक्ष ओलीले वार्ता टोलीलाई छलफल सुरु गर्ने आदेश नदिएको कारण टोलीले अहिलेसम्म वार्ता सुरु गर्न सकेको छैन ।

‘टिम त बनाएको हो तर नेतृत्व वार्ता सुरु गर्नु नभनेको कारण छलफल सुरु नभएको होला,’ स्रोत भन्छ, ‘बैठकमा निर्णय भएको कुरालाई यसरी नअड्काएको भए राम्रो हुने थियो । हामीले पटक-पटक भन्दै आएका छौँ । उपनिर्वाचनको तयारीमा लागेको कारण पनि ढिलो भएको हुनसक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *