कर्णाली सरकार आफैँमा रुमलिएको छ, जनताले विकासको महसुस गरेनन् : सन्तोषी शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले दोस्रो पटक कर्णाली प्रदेश सभामा मागेको विश्वासको मतको विपक्षमा उभिएको राप्रपाले कर्णाली प्रदेश सरकार आफैँमा रुमलिएको र कर्णालीबासीले विकास तथा सुशासनको महसुस गर्न नपाएको बताएको छ ।

यसअघि प्रदेश सरकारलाई समर्थन गरेको राप्रपाले केन्द्रीय राजनितीमा आएको फेरबल पछि केन्द्र सरकारबाट बाहिरिए पछि कर्णालीमा एक सिट रहेको राप्रपाले फागुन १८ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकार निमार्णमा समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि पुनः मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिएका हुन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा विश्वासको मतमा ३९ जना सहभागि भएका थिए । जसमा मुख्यमन्त्रीले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ३८ र विपक्षमा १ मत परेको छ । माघ ६ गते पहिलो पटक विश्वासको मत लिँदा विपक्षमा मत दिएको नेपाली काँग्रेसले भने यसपटक पक्षमा मत दिएको छ ।

कर्णालीका मुख्यमन्त्री शर्माको विपक्षमा राप्रपाले मात्र मत दिएको छ । मुख्यमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्दै राप्रपाबाट कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले कर्णाली प्रदेश सरकारले जनतालाई सुशासन र विकासको पक्षमा आशा जगाउन नसकेको बताइन्।

उनले भनिन, “प्रदेश सरकार सरकार आफै कता कता कुहिरोमा हराएको कागझैँ भएको आम कर्णालीबासीले महसुस गरेका छन् । सरकारले के गर्दैछ ? सरकारको प्राथमिकता के हो ?, सुशासन कायम राख्ने एजेण्डा के हुन ? बजेट कार्यान्वयनमा भएको बेथिति जस्ता दर्जनौं प्रश्नले प्रदेश सरकार घेरिएको छ ।जनताको पक्षमा कानून बनाउने, सरकारलाई खबरदारी गर्ने प्रदेशसभालाई विजनेश दिन नसक्दा हामी भूमिकाविहिनजस्तै भएका छौं । प्रदेश सरकारले प्रद शसभालाई बिजनेश दिनतर्फ कुनै चासो र तदारुपकता दिन सकेको छैन् । प्रदेशसभालाई बिजनेश दिनेतर्फ मुख्यमन्त्रीज्यू र सरकारको वास्ता छैन् ।यस्ता तमाम प्रश्नहरुको जवाफ दिने नेतृत्वकर्ता मुख्यमन्त्रीज्यू आफै नाजवाफ देखिनुहुन्छ । आफू नेतृत्वको सरकारको भविष्य के हुने हो ? उहाँ स्वयं अन्यौलमा देखिनुभएको छ ।”

शुभेच्छुकहरुको ठूलो असहमतिका बीच प्रदेश सरकारलाई समर्थन दिएर राष्ट्रियताको संरक्षण, विकास र सुशासनको पक्षमा कर्णाली प्रदेशले केही प्रगति गरोस भन्ने चाहेर प्रदेश सरकारलाई विगतमा समर्थन गरेको तर सत्ताको नेतृत्वकर्ता दलका साथै अन्य दलहरु आपसी सत्ता स्वार्थमै रुमल्लिंदा राप्रपा सत्तामा बसिरहन वा समर्थन गर्न उपयुक्त नदेखिएकोले समर्थन फिर्ता लिएको उनको भनाइ छ।

सांसद शाहीले राप्रपा यस्तो सत्ता स्वार्थमा सामेल नभई प्रतिपक्षबाटै कर्णालीवासी जनताको पक्षमा काम गर्ने, भ्रष्टाचार र जनविरोधी क्रियाकलापको भण्डाफोर गर्ने संकल्प गर्दै प्रदेश सरकारलाई विश्वासको मत नदिएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *