स्वर्णिमले भने– रास्वपाको आधिकारिक उम्मेदवार भएपछि निर्वाचनको तयारी गर्छु

काठमाडौँ । नेपाली कांग्रेस छाडेर बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएका अर्थविद् डा. स्वर्णिम वाग्लेले आफू रास्वपाबाट तनहुँ १ को आधिकारिक उम्मेदवार भएपछि निर्वाचनको तयारी थाल्ने बताएका छन् ।

शुक्रबार मकालुखबरसँग कुरा गर्दै उनले आफूलाई तनहुँ १ बाट उठ्न त्यहाँका जनता र समर्थकको उच्च साथ र सम्मान रहेको बताउँदै पार्टीले आफूलाई आधिकारिक उम्मेदवार घोषणा गरेपछि मात्र निर्वाचनको तयारी थाल्ने बताए ।

उनले भने, ‘साथीहरूले मलाई उठ्नका लागि जोड गरिरहनु भएको छ । अन्य दुईजना साथीहरूको पनि नाम आएको छ । पार्टीमा छलफल हुन्छ । म आधिकारिक उम्मेदवार घोषणा भएपछि तयारी थाल्छु । त्यहाँका जनताले मेरो माग पनि गरिरहनु भएको छ । अहिले छलफल चलिरहेको छ । चाँडै टुङ्गो लाग्छ ।’

रास्वपाले बिहीबार साँझ विज्ञप्ति जारी गरी तनहुँ १ मा उम्मेदवार बनाउने सूचीकाे पहिलाे नम्बरमा स्वर्णिम वाग्लेकाे नाम राखेकाे छ । दाेस्राेमा ईश्वर लामिछाने र तेस्राेमा डा. रूपक विक घिमिरेकाे नाम सार्वजनिक गरेकाे छ ।

पार्टी परित्याग गरेको घोषणा गरेसँगै बिहीबार दिउँसो नै रास्वपा सभापति रवि लामिछानेसँग वाग्लेले छलफल गरेका थिए । छलफलपछि अनलाइन आवेदन दिई उनले १ हजार लेबी बुझाएर रास्वपाको सदस्यता लिएका थिए ।

उनले कांग्रेसमा देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानमा परेको भन्दै कांग्रेस पार्टी परित्याग गरेको बिहीबार दिउँसो घोषणा गरेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 15 =