दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मन्त्री शर्मा

काठमाडौँ । नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिनभित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने दाबी गरेकी छन् । सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा पेचिलाे बनिरहेका बेला मन्त्री शर्माले यस्ताे दाबी गरेकी हुन् ।
बुधबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै दुई दिनभित्रै यसले पूर्णता पाउने बताइन् ।
मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सफल हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको जिकिरसमेत गरिन् ।
उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले भर्खरै विश्वासको मत लिनु भएको छ । र, सरकार विस्तारको चरणमा हामी छौँ । सरकार विस्तारको गृह कार्य करिब अन्तिम अवस्थामा आएको छ । यो सरकार गठन भएपछि जनतामा आशा पलाएको छ । यो सरकारले कहीँ गर्छ भन्ने कुराको भाव दिन यो सरकारको नेतृत्व सफल भयो । त्यो नै महत्त्वपूर्ण कुरा हो भन्ने मलाई लाग्दछ ।’
मन्त्री शर्माले वर्तमान सरकारप्रति जनतामा आशा पलाएको उल्लेख गर्दै उनीहरूको चाहनाअनुसार काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । उनले सङ्क्रमणकालीन न्याय निरूपणका लागि सरकारले सोसम्बन्धी विधेयक संसदमा ल्याएको र त्यसलाई छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने बताइन् ।








