पहिला भएका सम्पत्ति जोगाऊँ, अनि लिपुलेक–लिम्पियाधुरा जोगाउँला : मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भएका सभ्यताहरूको जगेर्ना गर्ने कुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन्  । बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले केन्द्रको सरकार नकिटिदिँदा स्थानीय सरकारलाई कतिपय काम गर्न असहज भएकाले केन्द्र सरकार टिकाउनुपर्ने बताए । उनले कामनपाले बागमती सभ्यता जोगाउन पहल गरिरहेको भन्दै सरकारले यसमा सहज बनाइदिनुपर्ने बताए ।

‘केन्द्रको सरकार नकिटिदिँदा स्थानीय सरकारलाई असहज हुने गरेको छ, धेरैकुरा जोडिएको छ,’ उनले भने, ‘ बागमती सभ्यता जोगाउन खोज्दछौँ । यो मान्छे भन्दा अघिको सभ्यता हो । त्यसको लागि हिजो मात्रै अनुरोध गरेका थिएँ, पहिला भएका सम्पत्ति जोगाऊँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पियाधुरा पनि जोगाउँला ।’

मेयर साहले न्यायिक समितिले सरकार भनेको सिंहदरबारमा मात्रै नभई पालिकापालिकामा छ भन्ने अनुभूति नागरिकलाई दिलाउन सक्नुपर्नेसमेत बताए ।

उनले न्याय भनेको केन्द्रमा मात्रै हाेइन, पालिका पालिकामा छ भन्नेकुरालाई वास्तविकतामा उतार्नुपर्ने तर्क गरे । उनले न्याय माग्न ११ दिन पैदल हिँडेर  काठमाडौँ आउनुपर्ने अवस्थाको अन्त्य गर्न न्यायिक समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

‘साँच्चिकै सरकार भनेको सिंहदरबारमा मात्रै नभएर पालिका पालिकामा छ,’ उनले भने, ‘न्याय भनेको केन्द्रमा मात्रै होइन, पालिका पालिकामा छ भन्नेकुरालाई आगामी दिनमा वास्तवमा नै अभ्यास गर्न सकियोस् । न्याय माग्न ११ दिन काठमाडौँ महानगरपालिकामा हिँडेर आउन नपरोस् । आफ्नै पालिकामा यस्ता न्यायहरू समाधान होस् । यसका लागि तपाईँहरू जिम्मेवार पनि हुनुहुन्छ । तपाईँहरू प्रमुख भूमिकामा हुनुहुन्छ । सरकार छ भन्ने कुराको बोध गराउने भनेकै न्याय हो । पालिकामा नै न्यायिक समितिले मेलमिलाप केन्द्र राख्नुभयो भने साँच्चिकै मेरै घर परिवारमा सरकार छ भन्ने अनुभूति हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eighteen =