दैलेखको पर्यटन प्रवर्द्धन गर्न ‘पशुपतिनाथ टु पञ्चकोशी’ यात्रा सम्पन्न

सुर्खेत । दैलेखमा रहेका पञ्चकोशी तिर्थस्थलहरुको प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको पशुपतिनाथ देखि पञ्चकोशीसम्मको यात्राको समापन गरिएको छ ।

चैत ५ गतेबाट काठमाडौँको पशुपतिबाट सुरु भएको यात्रा देवघाट, लुम्बिनी, बागेश्वरी, काँक्रेविहार हुँदै दैलेखका पञ्चकोशी तीर्थस्थलमा पुगेको थियो । मनघरी फाउन्डेसनको आयोजना र दैलेखी सेवा समाज काठमाडौँ, दुल्लु नगरपालिका, भैरवी गाँउपालिका, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको सहकार्य यात्रा तय भएको पशुपति–पञ्चकोशी यात्राले दैलेखको पर्यटन विकास र पञ्चकोशी तथा ज्वाला क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्‍याउने यस यात्राका परिकल्पनाकार भरतबन्धु थापाले जानकारी दिए ।

यस्तै, उनले यो यात्राले काठमाडौँको पशुपति आएको पर्यटकहरूलाई दैलेख आउन मार्ग तय गरेको पनि बताए । साथै प्राचीन महत्त्व र अनेक सभ्यताको इतिहास बोकेको दैलेखको प्रचारप्रसार गर्ने र यस क्षेत्रको अध्ययन अवलोकनका लागि विभिन्न स्थानबाट पर्यटकहरूलाई दैलेख ल्याउने यात्राको मुख्य उद्देश्य रहेको बताए । पशुपति देखि पञ्चकोशीसम्मको यात्राले दैलेखलाई काठमाडौँसम्म जोड्न मदत गरेको दैलेखबाट कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले बताए ।

यात्रामा काठमाडौँदेखि नै सँगै रहेको सांसद भण्डारीले दैलेखमा एउटा मात्र सभ्यता नभएर अनेकौँ सभ्यता रहेको र यसलाई अध्ययन गरेर प्रचारप्रसार गर्नुपर्ने बताए । साथै दैलेख धेरै जातीहरूको उद्गम स्थल, धेरैजसो भएको साथै यहाँका सम्पदाहरुले धार्मिक र प्राचीन सभ्यता बोकेको हुँदा यसको प्रवर्द्धनमा सबै लाग्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘हामीले काठमाडौं देखि पञ्चकाेशीसम्मको यात्राबाट दैलेखलाई लुम्बिनी र काठमाडौँसँग जोड्ने प्रयास गरेको मात्र हो । दैलेखमा धेरै यस्ता सम्भावना छन् । यिनको प्रचारमा हामी सबैले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । हामीले यो यात्राका क्रममा भिडियो वृत्तचित्र बनाएका छौ । यसलाई क्रमशः काठमाडौं, देवघाट, लुम्बिनी, बागेश्वरी र सुर्खेतमा प्रदर्शन गर्नेछौ । साथै दैलेखका सम्पदा र सभ्यतालाई चिनाउन फोटो प्रदर्शनी गर्ने पनि योजना रहेको छ ।’

यस्तै उनले प्रदेश सरकारबाट दैलेख लगायत कर्णालीको सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन विकासका लागि नीति बनाउन पनि लागि पर्ने बताए । यस्तै, दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजनलले पञ्चकोशीमा पर्ने अधिकांश तीर्थस्थल दुल्लुमा रहेकोले यसको संरक्षण र प्रचारप्रसारमा नगरपालिकाले सक्रिय भूमिका खेल्ने बताए । उनले दुल्लु र पञ्चकाेशीको धार्मिक सांस्कृतिक सम्पदाको संरक्षणमा पालिका सधैँ तयार रहेको र नगरबासी तथा दैलेखबासी सबैले यसको संरक्षणमा लागिपर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *