गृहसहित पहिला पाएका मन्त्रालय पाए हामी सरकारमा जान्छौँ : रास्वपा महामन्त्री ढकाल (अन्तर्वार्ता)

'जनताले देख्ने गरी काम गर्ने हुटहुटी छ, सात दलीय गठबन्धन फुट्दैछ भन्ने मेसो पाएर सरकारबाट बाहिरिएका थियौँ'

काठमाडौँ । २०७९ असार ७ गते अगाडि मुकुल ढकाल डाक्टरी पेसामा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको गठनपछि ढकालले प्रवक्ता तथा महामन्त्रीको जिम्मेवारी सम्हालेका छन् । ३० वर्षको उमेर पनि नपुगेका ढकाललाई अहिले देशभर फैलिएको आफ्नो पार्टीको सम्पूर्ण गतिविधिको हेक्का राख्नुपर्ने जिम्मेवारी छ । विराटनगर स्थायी ठेगाना भएका ढकाल पार्टीमा आउनुअघि कालिकोटको रास्कोट अस्पतालका डाइरेक्टर थिए । पार्टी सभापति रवि लामिछानेको पहलमा उक्त अस्पताल बनेको थियो ।

बुधबार अपराह्न मकालुखबरको टिम रास्वपा कार्यालय पुग्दा ढकाल तनहुँको निर्वाचन क्षेत्र नबर १ र बारा-२ मा हुन लागेको उपनिर्वाचनबारे केही केन्द्रीय सदस्यसँग कुरा गरिरहेका थिए । प्रवक्ता भएका कारणले उनको फोन र कार्यालयको ढोका पनि निकै व्यस्त थियो । बाहिर आएका मानिसलाई सेक्युरिटीले पालैपालो भित्र प्रवेश गराइरहेका थिए ।

चितवन २ को उपनिर्वाचनको सन्दर्भमा सभापति रवि लामिछाने उठ्ने फिक्स भएपछि त्यहाँको तयारीको बारेमा समेत उनलाई काम गर्ने भ्याइन भ्याइ भएको उनले सुनाए । उनी तनहुँ-१ मासमेत आफ्नो पार्टीले निर्वाचन जित्ने र २१ सांसद आफ्नो पार्टीबाट प्रतिनिधि सभाका पुग्नेमा विश्वस्त देखिए । उपनिर्वाचनमा उठ्न चाहने प्रत्याशीहरूको फोनकल र नाम दैनिक रूपमा आइरहेको भन्दै उनी पार्टीमा छलफल गरेर दुई क्षेत्रमा उम्मेदवार टुङ्ग्याउने बताउँछन् ।

यस पृष्ठभूमिमा हामीले रास्वपा पछिल्लो अवस्था, सरकारमा जान लागेको तयारी तथा रास्वपाप्रति देखिएको जनताको चासोबारे कुराकानी गरेका छौँ । प्रस्तुत छ ढकालसँगको कुराकानी :

राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता बाहिर बस्न सकेन जता पनि टाँसियो, आफ्नो नीति सिद्धान्तमा अडिग भएन भन्ने आरोप यहाँहरूमाथि लागिरहेको छ । के भन्नुहुन्छ ?
हामीमाथि जनताको ठुलो विश्वास र आशा भरोसा छ । त्यसो हुँदा उहाँहरूले यो कुरा गर्नु भएको स्वाभाविक हो । तर हामी आफ्ना नीति सिद्धान्त अँगालेर नै सरकारमा गएका थियौँ । यो कुरा जनतालाई मैले भन्नै पर्छ । हामी जनतालाई गरेको बाचा जनतासँग गरेको प्रतिबद्धता पूरा गर्नेका लागि नै सरकारमा गएका छौँ । र, जाने छौँ ।

सात दलीय गठबन्धन हुँदा पनि तपाईँहरू सरकारमा हुनुहुन्थ्यो, १० दलको गठबन्धन बन्दा पनि यहाँहरूले गठबन्धनबाहिर भएर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिनु भयो । किन यस्तो गर्नु हुन्छ ?
हामीले १० पुसमा भएको सहमति अनुसार नै प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छौँ । हामीले २६ पुसमा पनि साथ दिएका थियौँ । यसकै निरन्तरताका लागि ६ चैतमा पनि विश्वासको मत दियौँ । एमाले, राप्रपा लगायतले गठबन्धन छाडे भन्दैमा हामीले आफ्नो धर्म छाड्न सक्दैनौँ । हामीले त प्रधानमन्त्रीलाई काम गर्न कम्फरटेबल बाटो बनाएका हौँ । र हामीले जनताका केही माग, आवश्यकता सम्बोधन गर्न सकिन्छ कि भनेर जनताको काममा आउन चाहेका हौँ ।

अन्य दलको विकल्पमा तपाईंहरुलाई जनताले रोजेका थिए । तर तिनै दलहरू जस्तै सरकारमा भाग मात्रै खोज्ने सत्तास्वार्थी हुने हो भने फरक के भयो त ?
हामी सत्ताका लागि स्वार्थी भएका छैनौँ । यो कुरा जनतालाई बुझाउन खोजेका छौँ । स्वार्थको रूपले हेर्ने हो भने हामीलाई सजिलो छ, सरकार बाहिरै बस्दिने । गाली गर्दिने गर्दा हुन्थ्यो । हामी सरकारमा जान लालायित पनि हैनौँ । हामीले हाम्रा सर्तहरू सेवा प्रवाहका क्षेत्रमा, नीति तथा कार्यक्रममा समेटेका छौँ । विदेशमा बस्ने नेपालीले भोट हाल्न पाउनुपर्नेदेखि लिएर सबै कुरा समेटेर हामीलाई काम गर्न मिल्ने मौका दिइन्छ भने हामी काम गर्ने ठाउँमा पुगेरै सफल वा असफल भएको देखाउन चाहन्छौँ । प्रतिपक्षमा बसेर पनि काम गर्न नसकिने होइन । तर जनताको साथमा बसेर काम गर्नेको लागि एउटा हुटहुटी छ । हामी जनतामाझ देखिने गरिएको काम गर्ने चाहन्छौँ । हामीबाट जनताले त्यो खालको अपेक्षा गरेका छन् ।

यहाँहरू सरकारमा जाँदा कुन कुन मन्त्रालय लिने कुरा भएको छ ?
हामी साबिकका मन्त्रालयहरू लिने छौँ । हामी जनतासँग जोडिएका काम गर्न चाहन्छौँ । हामी साबिकको मन्त्रालयभन्दा बाहिर भयो भने जाने कुरा छैन । गृह मन्त्रालय हाम्रो पहिलो प्राथमिकतामा रहेको मन्त्रालय हो । त्योभन्दा बाहिर भयो भने हामी जाँदैनौँ होला ।

यहाँहरूले चैत ६ गते प्रचण्डलाई दिनुभएको विश्वासको मतसँग रवि लामिछानेको पासपोर्ट प्रकरणको मुद्दा साटियो भन्ने आरोप पनि छ नि ?
यो कुरा साँचो होइन । त्यो अदालतको काम हो । एकै दिन परेकाले त्यस्तो शंका लागेको हुनसक्छ । हामीले २६ गते पनि विश्वासको मत दिएका थियौँ त्यसलाई यथावत् राखेको हो । प्रधानमन्त्री ज्यूले मुद्दा हेर्ने होइन । रोक्ने पनि होइन । उहाँले रोक्न सक्ने भए उहाँ आफैँलाई लागेको मुद्दालाई ढाकछोप गर्न सक्नुहुने थियो । यो केही व्यक्तिले विपक्षीले गरेको हल्ला मात्र हो । हामी जनतालाई यसको कारण भन्न चाहन्छौँ । तर जनतालाई यो कुराको मूल चुरो बताउँदा विपक्षीले समेत थाहा पाउने भएकोले चुप लागेका छौँ । वास्तवमा कुरा अर्को छ । यो कुरा साँचो होइन हामी जनताको पक्षमा छौँ । हाम्रा गल्तीहरू भए जनताले हाम्रा गल्तीका कारण दुःख पाए तर हामीले यसलाई महसुस गरेका छौँ । र आगामी दिनमा सुधारेर जाने छौँ ।

त्यो चुरो कुरा जनतालाई त जसरी पनि बुझाउनु पर्‍यो नि । नत्र कसरी जनता सचेत हुन सक्छन् त ?
होइन राजनीतिमा कतिपय कुराहरू गोप्य हुन्छन् । हामी जनतालाई यदि उहाँहरूले मात्र सुन्ने माध्यम भए भन्ने थियौँ । र यहाँ त्यो सुविधा नभएकाले आफ्ना कुरा राख्न सकेनौँ । तर विश्वासको मत दिने कुरा र रवि ज्यूको पासपोर्ट प्रकरणको कुरा फरक हो । यो मुद्दा हामी लड्न सक्छौँ । हामीलाई कानुनसँग सही कुरामा लड्न डर छैन ।

रवि लामिछानेको नागरिकता प्रकरणपछि पुनः उहाँलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई दबाब दिनुभयो । पहिलाको सात दलीय गठबन्धनमा यो कुराले पनि फाटो ल्यायो भनिन्छ नि ?
त्यो बाहिर आएका हल्ला हुन् । राजनीतिक सहमतिका गोप्य कुराहरू हामीले भनिहाल्न पनि मिल्दैन थियो । अब यो ब्रेक गर्ने बेला आएको छ । त्यो बेला पनि प्रधानमन्त्रीले हामीलाई यो गठबन्धन छुट्ने खालको कुरा गर्नुभएको थियो । सात दलीय गठबन्धन ढल्दै छ भन्ने कुरा हामीलाई थाहा थियो । र हामी त्यो राजनीतिक खेलमा अल्झिरहन सकेनौँ । रणनीतिक रूपले नै हामी सरकारबाट बाहिर निस्काएका थियौ । जनतालाई भन्ने सक्ने अवस्था थिएन । राजनीतिक रणनीति भएको कारण प्रधानमन्त्री जहिले पनि हामीप्रति सकारात्मक हुनुहुन्छ । तर गठबन्धन टुट्दै छ भनेर हाम्रो टिमलाई थाहा थियो । तर बाहिर भन्ने अवस्था थिएन ।

पछिल्लो समय यहाँहरूलाई दश दलीय गठबन्धनको बैठकमा बोलाएको वा कसैले भेटेको वा सल्लाह भएको अवस्था छ ?
अहिलेसम्म छैन । उहाँहरू छलफलमा हुनुहुन्छ । हामी सरकारमा गए पनि हामी गठबन्धनमा बस्दैनौ । उहाँहरूलाई यो कुरा राखेका छौँ ।

विवेकशील साझा पार्टी जुन अवस्थाले छिन्नभिन्न भयो, रास्वपा त्यही अवस्थामा पुग्छ भनेर आम जनताले भनिरहेका छन् नि ?
विवेकशील साझा पार्टीभन्दा हामी फरक छौँ । उहाँहरूले जुन किसिमले राजनीतिक यात्रामा आउनु भएको थियो, त्यो यात्रामा संसदीय अभ्यास सुरु नगर्दै छिन्नभिन्न भएको थियो । त्योभन्दा हामी धेरै अगाडि बढेका छौँ । त्यो कारणले हामीले लिएको रेसलाई विवेकशीलसँग दाँज्न मिल्दैन ।

तपाईँहरू आफ्ना संसद्लाई मिडियामा बोल्न दिनुहुन्न भन्ने आरोप छ । यो सत्य हो ?
जनताले त सबैसँग बोल्नु नै भएको छ । बिराज जी पनि बोल्नु भएको छ । सन्तोष जी, मनिष जी, बोली नै रहनुभएको छ । हाम्रा जति पनि सांसद छन् । ठुला पार्टीको बरु धेरै नेताले बोल्नु भएको छ, त्योभन्दा बढी हाम्रा नेताहरूले बोलिराख्नु भएको छ । यो भाष्य सिर्जना मात्र गरिएको कुरा हो, जुन कुरा गलत छ । हाम्रा सांसदहरू हप्तैपिच्छे मिडियामा आउनु भएको छ ।

तर तपाईँहरूको मिटिङको विषयमा गरेको निर्णयको विषयमा बोल्न तपाईँहरूमा सांसदलाई दिनु हुन्न नि ?
त्यो होइन । मिटिङको निर्णय बैठकको निर्णय प्रवक्ताबाट मात्र जाओस् भन्ने हाम्रो चाहाना हो । हाम्रा सांसदहरू कुनै न कुनै ठाउँमा गएर बोल्नु नै भएको छ । अरू पार्टीको जस्तो जथाभाबी बोल्ने मात्र नगर्नु भएको हो । जनताका कुरा उठाउनु भएकै छ । हामीले रोकेको छैन ।

मङ्सिर ४ मा तपाईँहरूलाई विश्वास गरेर मत हाल्ने जनताले अहिले तपाईँहरुलाई के भन्दै हुनुहुन्छ ?
जो आम जनता हुनुहुन्छ । उहाँहरूले हामीलाई हेर्दै हुनुहुन्छ । राम्रो गर्नुपर्‍यो हामी पाँच वर्ष तपाईँहरूलाई हेर्छौँ । परिणाम हेर्छौँ । त्यो बाहेक अन्य पार्टीमा लागेका जनताको आ आफ्नो हेराइ छ । आम जनता आफ्नो रोजी रोटीमा कमाई गरेर खाएको हानिरहेको छ उहाँहरूले तपाईँहरू नसकिनु सुझ बुझ तरिकाले निर्णय गर्नु भन्नु भएको छ ।

यहाँहरूका कार्यकर्ताले सरकारमा गएर काम गर्नु भन्नु हुन्छ कि प्रतिपक्षमा बसेर हाम्रा कुरा उठाउनु भन्नु हुन्छ ?
हामीलाई बिस्तारै हिँडेको राम्रो भन्ने सल्लाह दिनुभएको छ । हामीले जनताको काम गर्ने सरकारमा गएर गर्नु पर्छ भनेर बुझाउने गरेको छौँ । उहाँहरूले काम गर्ने दिँदैनन्, तपाईंहरुलाई सिध्याउँछन् भन्नुहुन्छ । हामी रिस्क लिएर सरकारमा जाने काम गर्ने कोसिस गर्दैछौँ । सकियो भने ठुलो पार्टी बन्छौँ । सकेनौँ भने सकिन्छौँ । यसो हुँदा के हुन्छ भन्दा उहाँहरूले त्यसो भए जानुहोस् भन्नु हुन्छ । हामीलाई जनताले धेरै नै माया गर्नु भएको छ । हामी सरकारमा जाने कुरामा आम जनताको ठुलो विरोध पनि छैन । उहाँहरूले बिस्तारै सिक्दै जानु भरखर सुरु गरेका छौ, राजनीतिमा हतार नगर भन्नु त हुन्छ । तर हामीले बुझाउँदा सरकारमा जानू उसोभए भन्नुहुन्छ । नेपालमा नयाँ दल खोलेर काम गर्न नसक्दा खेर नै जान्छ । हामीलाई काम गर्ने हुटहुटी छ । हामीलाई कुरेर बस्ने समय छैन । धैर्य गर्ने स्थिति छैन । हामी जान्छौँ । रिस्क हामीले लिएकै हो । हामीले यो कुरा ढाँटेको छैन रिस्क लिएर नै सरकारमा जान आँटेको हो ।

पछिल्लो दिन रवि लामिछानेको नागरिकता प्रकरणपछि तपाईँहरूको दल सकिने अवस्थामा पुग्यो, यसको औचित्य नै छैन भन्ने कुराहरू बजारमा आएका छन् नि यसलाई प्रस्ट पारिदिनु न ?
यो पछि त झन् सदस्यता थपिने लिने मान्छेको आकर्षण छ । त्यसमा हामीले शुल्क राखेका कारण भए दिइहालौँ न भन्ने भावना जो कोहीलाई आउन सक्दैन । अरूको जस्तो सहज रूपमा सदस्यता दिन सक्ने वातावरण छैन । हाम्रोमा पाँच वर्षको सदस्यता एकै पटक तिर्नुपर्ने भएकाले केही गाह्रो भएको होला । निम्न वर्गका मानिसहरू हुनुहुन्छ भने उहाँहरूलाई हामीले छुट पनि दिने गरेका छौँ । सदस्यताका लागि हुलमा आउने जत्था नै भएकाले हामीले अझ त्यसलाई नियन्त्रण गरेर अगाडि बढिराखेका छौँ । हामीले हुललाई व्यवस्था गर्ने सक्दैन र पार्टी छिन्नभिन्न हुन्छ भनेर नियन्त्रण गरिराखेका छौँ ।

कस्ता मानिसहरू तपाईँहरूको पार्टीमा आउने चाहाना राख्छन् ? सर्वसाधारण जनता आउँछन् कि अरू ?
हाम्रो पार्टीमा तीन चार पङ्क्ति आउन चाहेका छन् । एउटा पङ्क्ति अरू दलमा काम गरेको र असन्तुष्ट भएर आउने गरेका छन् । अरू दलमा अवसर नपाएर पनि आउनु भएको छ । विज्ञहरूको टोलीसमेत आउनु भएको छ । हामी जस्तै पङ्क्तिसमेत आउन चाहनु भएको छ । अर्का हामीसँग जोडिएको रवि लामिछानेसँग विभिन्न अभियानमा जोडिएको पङ्क्तिका हुनुहुन्छ । र त्यसपछि अन्य साना दलमा जोडिएका साथीहरू हुनुहुन्छ । हामीले सत्कर्म र सद्बुद्धि भएर बसेका मानिसहरू जोडेका छौँ । यसलाई हामीले मेकानिजम बनाएर कन्ट्रोल गर्ने खोजिरहेका छौँ ।

हाम्रो कुरामा गरिब मान्छे जोडिन्छ भने उसलाई सबै छुट छ । पार्टी सदस्यता शुल्क समेत लिने गरेको छैन । तर त्यो भन्दै गर्दा अति राजनीतिकरण भएका कारण ‘जान्नेलाई छान्ने’ नारा अन्तर्गत सफल व्यक्ति नै आउनुपर्छ भनेर मान्यता रहेको कारण गरिब आउन नपाउने धनी आउन पाउने भन्ने होइन । एउटा सफल किसान आओस् । एउटा मजदुर आओस् । हाम्रो पार्टी त्यस्तो हो । धनी पुँजीपति वर्ग आएर हाम्रो पार्टी कब्जा नगरोस् भन्नेमा सचेत छौँ । उहाँहरूलाई हामीले रोक्न त मिल्दैन नेपालको कानुनले दिँदैन । मजदुर, किसान, इन्जिनियर, डाक्टर आओस् त्यसले किसानको लागि काम गर्ने मजदुरको लागि काम गर्ने गरिब निमुखाको लागि काम गर्नुपर्छ । हामी सफल व्यक्तिको खोजीमा छौँ ।

अन्तिममा यहाँहरूले प्रदेश सरकारलाई मानिरहनु भएको छैन अब ५ वर्ष पछि पुनः रास्वपाले प्रदेशमा उम्मेदवार नउठाउने हो ?
यो विषयमा हामीले छलफल गरेका छैनाैँ । प्रदेशको खर्च बढी भयो यसलाई कटौती गरौँ भन्ने छ । पार्टीको महाधिवेशन र भेला भएपछि मात्र यसको निर्णय हुन्छ । अहिले छलफल गरेका छैनौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *