दोस्रोपटक विश्वासको मत लिँदै प्रचण्ड, यी दलले दिँदैछन् पक्षमा मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय भएको हो ।

पुस १० गते सात दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले गत पुस २६ गते विश्वासको मत लिएका थिए । तर बीचमा राष्ट्रपति निर्वाचनको विषयले उक्त गठबन्धन टुट्यो । एमाले र राप्रपाले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिए ।

सरकारलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले एक महिनाभित्र पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।

अहिलेसम्म प्रधानमन्त्रीलाई माओवादी, कांग्रेस, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलगायतले विश्वासको मत दिने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मतका लागि १३८ सांसदले पक्षमा मतदान गर्नुपर्नेछ । अहिलेसम्म माओवादीका ३२, कांग्रेसका ८८, रास्वपाका १९, जसपाका १२, नेकपा एसका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, जनमोर्चाका १, नेसपाका १, आम जनताका १ सांसदले विश्वासको मत दिने सम्भावना छ ।

नेकपा एमाले, राप्रपा, मजदुर किसान पार्टीका सांसद भने प्रतिपक्षमा छन् । एमालेसँग ७९, राप्रपासँग १४ र मजदुर किसान पार्टीसँग १ सांसद छन् । कांग्रेस, नेकपा एस, रास्वपा, लोसपालगायत दलले त प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय नै गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *