सानीको जीवनकै प्रिय प्रश्न- ‘त्यो फेरि फर्कला ?’

यहाँ बास पाइन्छ ?
कुन्नि आमासँग सोध्नुपर्छ ।
लौ, आमा यिनै हुन्, तपाईँका भरियाहरू कता छन् ?
भरिया एउटै छ, त्यो पनि बुढो, त्यही भएर यहाँ बास बस्नुपर्‍यो । नत्र आज चित्लाङ पुगेर बस्ने बिचार गरेको थिएँ । त्यहाँ चिनाजाना भएका पसलेहरू पनि छन् । बास पनि राम्रै ठाउँमा पाइन्थ्यो । तर यो त भट्टी पसल हो क्यारे !
हो, भट्टी पसल भएर के हुन्छ ? चित्लाङमा पनि त्यही त हो नि ।
ठिकै छ यहीँ बस्ने निधो गरियो ।

(भट्टी पसल्नीकी छोरी, बाहिरी आवरण मैलो र दरिद्रको विज्ञापन भए पनि यसको अनुहार नराम्रो छैन ।)

माथिका संवाद यतिबेला सामाजिक सञ्जालमा लोकप्रिय बनिरहेको देखिन्छ । यस संवादमा युवाहरूले टिकटक बनाएर मनोरञ्जन लिइरहेका छन् । भवानी भिक्षुको ‘त्यो फेरि फर्कला ?’ कथाले पहिल्यै प्रसिद्धि कमाइसकेको भए पनि कक्षा ११ को पाठ्यक्रममा समावेश गरिएपछि युवावर्गमा झनै लोकप्रिय बनेको देखिन्छ ।

‘त्यो फेरि फर्कला ?’ कथामा लघु चलचित्र नै बनेको हुँदा सामाजिक सञ्जालमा अझै लोकप्रिय बनिरहेको छ । उक्त कथालाई भवानी भिक्षुले लेखेका हुन् । उनको जन्म वि.सं १९६६ साल जेठ २१ गते कपिलवस्तुको तौलिहवामा भएको थियो । पिता इन्द्रप्रसाद र आमा यशोदादेवी गुप्ताबाट जन्मेका भिक्षुले नेपाली साहित्यको कथा, कविता र उपन्यासका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । उनले त्रिभुवन प्रज्ञा पुरस्कार, साझा पुरस्कार र मदन पुरस्कारसमेत प्राप्त गरेका छन् ।

यौन मनोविज्ञानकाे कथामा आधारित ‘त्यो फेरि फर्कला ?’ कथामा प्रमुख पात्रको रूपमा सानीलाई देख्न सकिन्छ । यस कथामा सानीको मनोविश्लेषण गरी उनको चरित्र मार्फत अवचेतन मनको यथार्थ सूक्ष्म विश्लेषण गरिएको छ । कथामा सानी अतृप्त यौन वासनाबाट ग्रसित कुण्ठित मानसिकताका कारण अवचेतन मनका आवेग र संवेगले उसको जीवनमा परेको प्रभाव एवं पीडालाई मर्यादित शैली र सुन्दर रूपमा चित्रण गरिएको छ ।

युवा यात्रीप्रतिको अव्यक्त प्रेमाकर्षणका कारण दमित यौन कुण्ठाको शिकार बनेकी सानीको दमित यौन इच्छालाई उद्घाटन गरी सानीको अचेतन मनले चेतन मनमा परेको प्रभावका कारण जीवनमा आएका मनोदशा एवं उतारचढावलाई कलात्मक रूपमा सजीव चित्रण गरिएकोले कथा घटनाप्रधान नभई चरित्रप्रधान बनेका छ ।

कथाको सुरुमा सूर्यले पश्चिमतर्फको पर्वत पछाडि आफ्नो मुख लुकाएपछि मधेसबाट आएका एउटा युवा यात्रीले यौवनको सिँढीमा खुट्टा अड्याई घरको द्वारमा उभिएकी सानीसँग बास पाइन्छ भनी प्रश्न गर्दछ । सानीले आमासँग सोध्नुपर्ने कुरा गर्छे र एकैछिनपछि आमालाई लिएर आउँछे ।
यात्रीले चित्लाङ पुगे राम्रै ठाउँमा बास पाइन्थ्यो तर यो भट्टीपसल पो हो क्यार भनेर प्रश्न गर्दा सिनाले आश्चर्य र उपेक्षाको भावमा स्वीकृति जनाउँदै बस्नेकोठा सफा नै भएको बताउँछे ।

सानी पहिलो नजरमै युवा यात्रीको प्रेममा पर्दछिन् । यात्री आफ्नो घरमा बास बस्लाकी नबस्ला भन्नै जिज्ञासामा भरियाले भारी बिसाएपछि उनमा सन्तोषको भाव देखिन्छ ।

हँसिलो यात्रीसँग सानीको संवादकै क्रममा आँखा जुध्छन् । सानी लजाउँदै जान लागे पनि पुनः फर्केर भुटुन, दाउरा, नुन, मसला र मट्टितेल आवश्यक पर्छ कि भनी प्रश्न गर्दा सबै थोक उपलब्ध गराइदिन्छे ।

खानपिन सकिएपछि सानी पनि सुत्ने कोठामा पसी ढोका थुन्दछे । लक्का जवान युवा यात्रीप्रति आकर्षित भएकी सानी आफ्नो ओछ्यानमा पल्टे पनि निद्रामा पर्दिनन् ।

यात्रीको कोठामा खटपट आवाज सुनेपछि सानी यात्रीकै बारेमा सोचमग्न हुन्छे । (अहिलेसम्म खानपिन गरेको रहेनछ । भात पकाउन जान्दछ कि जान्दैन होला, तरकारी पोख्यो कि ?, लोग्ने मान्छे पकाउन कहाँ जान्दो हो ?, मधेसमा कसले भात पकाएर खुवाउँदो हो ?, साहुमहाजन जस्तो पनि छैन । जागिरे होला जस्तो छ । कसरी भान्छे राख्न सक्छ र ?) भन्ने विचारधारा बगाउँदै यात्रीप्रति सहानुभूति जगाउँदै सानी यात्रीको कोठामा जान्छिन् ।

यात्री निश्चिन्त सुतिरहेका हुन्छन् । सानीको मनमा अचानक लोभ, अव्यक्त उल्लास, साहस, डर र पिडाको मिश्रित पुरै नसामा प्रभावित हुन्छ । सानी मनमा हलचल र प्रवाह लिएर आफ्नै कोठामा फर्कन्छे ।

भोलिपल्ट बिहानै उठेर यात्री आफ्नो बाटो लाग्छन् । त्यसबेला सानीको आँखामा भएका अवचेतन मनका अव्यक्त मोह र चाहनाहरू पहाडको टुप्पोमा पुगेर फर्कन्छन् । यात्रीको बिछोडले सानीको मन भारी हुन्छ अनि अन्तरमनले एउटै प्रश्न गर्दछ ‘त्यो फेरी फर्कला ?’

समय बित्दै जान्छ । सानीको विवाह अर्कै केटासँग हुन्छ तर उसको हृदयमा बसेको यात्रीको अतीतका छाप मेटिएको हुँदैन । लोग्नेको घरमा हुँदा यात्री फर्केर गइहाल्यो भने भन्ने प्रश्नको शङ्काले उनको मनमा सदैव रहिरहन्छ । सानी युवायात्री फर्कँदै नफर्कोस, बरु त्यसकै बाटो हेर्दै जीवनको अन्त्य होस् भन्ने चाहना राख्दछिन् । यति भएर पनि सानीले घरव्यवहार र आफ्नो कर्तव्यमा कुनै बाधा आउन दिएकी हुँदिनन्।

उनले ‘त्यो फेरि फर्कला ?’ प्रश्नलाई स्वागत गरी कैयौँ दिनहरू बिताउँछिन् । आमाको मृत्यु भएपछि माइतकै घरमा उही पुरानो व्यवसाय गरेर बसेकी सानी ‘त्यो यात्री कहिल्यै त फर्कला’ भन्ने आशमा अल्झिएकी थिइन् । अतीतको मनोरम स्मृति उनका लागि यौवनको पहिलो उपहार र प्रेम थियो ।

नभन्दै एउटा साँझमा पसल उठाइसकेपछि ढोकामा उही यात्री देखापर्छ । कैयौँ दिनका व्यर्थ प्रतीक्षा, उदासीन पीडा र गहभरि आँसु पारेर सानी निर्जीव बन्दछिन् । यौवनपारि पुगिसकेको त्यही यात्रीले ‘यहाँ बास पाइन्छ ?’ भनेर प्रश्न गर्दा अतीतको स्मृतिले सानीलाई झट्का दिन्छ । यात्रीले नेपालजाँदा यसै घरमा बास बसेको र आज पनि यसै घरमा बास बस्ने विचार गरी आएको बताउँछ ।

यात्रीले ‘सानी तिमी नै हौ ?’ भनी प्रश्न गर्दा सानी निःशब्द बन्दछे । सानी आफ्नो दीर्घ प्रतीक्षालाई नैराश्य रोदनको अन्तलाई यति सजिलै स्वागत गर्न तयार थिइनन् ।

यात्रीको अप्रत्याशित आगमनले सानीलाई छहारी दिए पनि उनको एकतर्फी मायालाई यात्रीले कसरी अनुमान गर्नसक्थ्यो र ? आफू सानी भएको जवाफ दिएकी सानीलाई यात्रीले हाँस्दै ‘तिमी त बुढी भइसकिछौ’ भन्छ । त्यसपछि सानीका आँखा उघ्रन्छन् ।

जसलाई सानीले जीवनपर्यन्त पर्खेकी थिइन्, उसैको दुई शब्दले सानीको अन्तर हृदयमा घाउ लाग्छ ।

सानीले आशामा झुण्डयाई राखेको उमङ्ग, उत्साह र यौवनपर्यन्तलाई यात्रीको ‘तिमी त बुढी भइसकिछौ’ वाक्यले चकनाचुर बनाइदिन्छ ।

त्यस दिनदेखि सानीको जीवनको उद्देश्य नै हराउँछ । जीवनको प्रिय प्रश्न ‘त्यो फेरि फर्कला ?’ पनि भयानक विपद्को अन्धकारमा विलुप्त हुन्छ । उनको एकतर्फी सम्पूर्ण प्रेम स्वप्निल संसारमा विलीन हुन्छ ।

यस कथामा सानीको अवचेतन मनको अतृप्त वासनाबाट ग्रसित, कुण्ठित, आवेग र संवेगका उतार चढावलाई यथार्थपरक रूपमा सुन्दर चित्रण गर्दै मनोविश्लेषण गरिएको छ ।

युवा यात्रीप्रतिको प्रेमाकषर्णका कारण दमित यौन कुण्ठाको सिकार बनेकी सानीको दमित यौन इच्छालाई उद्घाटन गरी एकतर्फी अव्यक्त प्रेमको स्वप्निल संसारमा हराई आफ्नो वास्तविक धरातल लाई बोध नगर्दा सिनाले भोग्नुपरेको मानसिक कुण्ठा र शारीरिक शिथिलतालाई कलात्मक रूपमा सजीव चित्रण गरिएको छ ।

कथाले एकोहोरो एकतर्फी अव्यक्त प्रेमको स्वप्निल संसारमा हराउँदाको परिणामलाई उद्घाटन गरेको देखिन्छ । जहाँ सानीको एकतर्फी प्रेम सफल भएको छैन । ‘त्यो फेरि फर्कला ?’ लघु चलचित्रमा पनि यही कथावस्तुलाई देख्न सकिन्छ । यसै कथाका संवादहरूमा अहिले थुप्रै टिकटकहरू बनिरहेका छन् । उक्त टिकटकहरूमा दर्शकको थुप्रै लाइक, भ्युज, कमेन्ट र सेयर देखिन्छ ।

सानीको प्रेम असफल भएकोमा धरै दर्शकहरू दुःखी छन् । कतिपयले वास्तविकतालाई अँगालेर खुसीसाथ बाच्नुपर्ने सुझाव दिएका देखिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *