कोइलाको अभावले आरन व्यवसाय धान्न समस्या

रामपुर । विश्वकर्मा समुदायको पुख्र्यौली व्यवसायका रुपमा आरन व्यवसायलाई लिइन्छ । यस समुदायका सबैका घर–घरमा पहिले आरन व्यवसाय अनिवार्यजसो चलाइन्थ्यो ।
विश्वकर्मा समुदायको पुर्खादेखि नै जीविका चलाउने माध्यम नै आरन व्यवसाय हो । हिजोआज भने गाउँघरमा पहिलेजसो व्यावसायिक रुपमा आरन चलाउने कमै छन् । यो व्यवसाय चलाउन कोइलाको अभाव र बाउबाजेले धान्दै आएको व्यवसाय युवापुस्ताले अवलम्बन नगर्दा व्यावसायिक रुपमा आरन धान्ने कम छन् ।
पाल्पाको बगनासकाली गाउँपालिका–९ बगनास बस्ने ४६ वर्षीय राजु विश्वकर्माले कोइलाको अभावमा व्यवसाय धान्न समस्या रहेको गुनासो गर्नुभयो । बाउबाजेको पालादेखि नै चलाउँदै आएको व्यवसाय अहिले आफूले पनि निरन्तर रुपमा धान्दै आएको उनी बताउँछन् । गाउँघरमा कोइलाको अभावले गर्दा आरन व्यवसाय धान्न अप्ठ्यारो परेको उनले बताए । ‘आरन व्यवसाय धान्न कोइलाको समस्या छ, गाउँमा हिजोआज कोइला पाइन छाड्यो’, उनले भने, ‘किनेर चलाउनु पर्दा व्यवसाय धान्न अप्ठ्यारो परिरहेको छ, कोइलाको बन्दोबस्त कतैबाट नहुँदा व्यवसाय कसरी धान्ने भन्ने पिरलो छ ।’
उनले अहिले कोइला किनेर दुःखसुखले पुख्र्यौली व्यवसाय धानिरहनुभएको छ । हँसिया, कोदालो, कुटो, बञ्चरोलगायत फलामबाट बन्ने घरायसी प्रयोजनका सबैजसो औजारबताउँछन् । पाल्पाको प्रख्यात बगनासे साँचोसमेत उनले तयार पार्छन् । उनले न्यूनतम रु दुई सयदेखि एक हजार तीन सय मूल्यसम्मका सामग्री तयार पारेर बिक्री गर्छन् । यस व्यवसायबाट मासिक रु ३० हजार बराबरको कमाई गर्दै आएका छन् ।
उनले भने, ‘बाउबाजेबाट सीप सिकेर अहिलेसम्म निरन्तरता दिइरहेको छु, आरनबाटै घरखर्च चलाइरहेको छु, व्यावसायिक रुपमा काम गर्ने कम छन्, दैनिक घरायसी प्रयोजनका लागि चाहिने सामग्री भएकाले टाढा टाढाबाट ग्राहक खोजी खोजी आउँछन् ।’
अहिले उनले भौँसी बाँध्ने गोठमा आरन व्यावसाय चलाइरहनुभएको छ । व्यवसायमा वेल्डिङ्ग मेशिन, काट्ने मेशिन, छेड्ने मेशिन, कोइलाको आवश्यकता रहेको हुँदा विभिन्न सङ्घसंस्थाबाट उनले सहयोगको अपेक्षा गरेका छन् । सबैले छाड्दै गएको अवस्थामा आफूले भने यो व्यवसायलाई सकेसम्म नछाड्ने अठोट राखेका छन् ।
उनले घरमा तयार पारिएका विभिन्न सामग्री तानसेनको नारायणस्थान बजारको सडक छेउमा बसेर बिक्री गरिरहेका छन् । विश्वकर्मा विभिन्न स्थानमा हुने मेला महोत्सवमा बिक्रीका लागि सामग्री बोकेर पुग्छन् ।








