फर्मास्युटिकल एसोसियसनकाे अध्यक्षमा उम्मेदवारी दिँदै ललितमोहन पन्त, काे हुन् उनी ?

काठमाडाैँ । जनताको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको औषधिसँग सम्बन्धित विषयवस्तुहरू आजको दिनमा पनि सार्वजनिक बहसको विषय बन्न सकेको छैन । अस्पताल, डाक्टर र फार्मासिस्टहरू नै सबैथोक हुन् र उनीहरूले गरेको उपचार र दिएको औषधिमाथि आम जनता अझै पनि प्रश्न गर्न डराउँछन् ।

यी र यस्ता विषयहरूमा राज्यको नीति पनि प्रष्ट नभएको देखेर ललितमोहन पन्तले समस्याको पहिचान र त्यसको समाधानका निम्ति केही गर्न सकिएला भन्ने उद्देश्य राखेर आफू यस अभियानमा लागेको बताउँछन् ।

यही शनिवार हुने नेपाल फार्मास्युटिकल एसोसियसनको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेका पन्तले औषधिको क्षेत्रबारे राज्यलाई थप गम्भीर बनाउने गरी आफूले काम गर्न चाहेको बताएका छन् ।

२०४५ सालमा बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा जन्मेका पन्तले आफ्नो माध्यामिक पढाइ कन्चनपुरको इन्टरनेसनल पब्लिक सेकेण्डरी स्कूलबाट पूरा गरेका थिए भने उच्च माध्यामिक शिक्षा कन्चनपुराकै रेडीयन्ट हायर सेकेण्डरी स्कूलबाट पूरा गरे ।

२०६४ सालमा काठमाडौँ विश्वविद्यालयमा उनले बी फार्मा पढ्न शुरू गरे । शुरूदेखि नै जनस्वास्थ्यका विषयमा चासो रहेको बताउने पन्तले देश र समाजलाई स्वास्थ्य क्षेत्रमा केही गर्न सकिन्छ कि भनेरै बी फार्मा पढ्न शुरू गरेका हुन् ।

२०६८ मा पासआउट भएपछि काठमाडौँ विश्वविद्यालयबाटै उनले २०७२ सालमा मास्टर पास गरे । सामान्य जीवनशैली, सरल र मृदुभाषी स्वाभावका पन्तले आफूले पढ्ने क्रममा नै विभिन्न स्कूल कलेजहरूमा पढाउन पनि शुरू गरेका थिए । मास्टर पास गरेपछि उनले कलेजहरूमा अध्यापन गराउन थाले भने हाल काठमाडौँ विश्वविद्यालयमै प्राध्यापकका रूपमा कार्यरत छन् ।

औषधिसँग जनस्वास्थ्यको क्षेत्रमा केही गर्नुपर्छ भन्ने आफूलाई सुरूदेखि नै लागेको र त्यसका लागि यो क्षेत्रमा छिरेको उनको भनाइ छ ।

उनी भन्छन् – ‘फार्मेसी प्रोफेसनमा हामीले धेरै समस्या देख्यौं, काठमाडौँ विश्वविद्यालयमै पढ्दा पनि मैले ती समस्या समाधान गर्ने कतिपय अभियानको नेतृत्व गरेको छु ।’

आफैँ फार्मासिस्ट भएकाले उनले समस्याको पहिचान र निराकरणका उपायहरू निकाल्न सहज भएको बताउने गर्छन् ।

आजभन्दा दशवर्षअघि स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको ओएनएममा फार्मासिस्टहरूको दरबन्दी नदेखेपछि आफूलाई थप चित्त दुखेको पन्तको भनाइ छ ।

‘सरकारी सेवामा राज्यले फार्मासिस्टलाई चिनेन,’ उनले भने, ‘हामी राज्यबाट पहिचान खोज्नुपर्ने अवस्थामा पुग्यौँ । हाम्रो पेशालाई राज्यले पनि नचिनेको रहेछ भनेर नराम्रो लाग्यो । एकातिर लाखौ खर्च गरेर पढ्यो। पढ्न उत्तिकै मेहनत गर्‍यो । पारिश्रमिक न्यून हुँदा जीवन धान्नै गारो हुने कुराले झन धेरै पिरोल्ल्छ।’

त्यसपछि पन्तले आफ्ना साथीहरूको सहयोगमा फार्मासिस्टको पक्षमा अभियानहरू चलाउन शुरू गरे । राज्यलाई निरन्तर दबाब दिने अभियानमा लागे । फार्मासिस्टहरू बलियो हुनुपर्छ भन्ने अनुभव गरेर नै पन्तले एसोसियसनको अध्यक्षमा दाबी गरिरहेका छन् ।

हाल एसोसियसनको महासचिव रहेका पन्तले यसअघि धेरै काम गर्न खोजेको भएपनि कोभिड १९ को महामारीका कारण कतिपय अवरोधहरू आएको बताए ।

कोभिड मात्र नभएर विभिन्न सरोकारवाला पक्षहरूले आफ्नो पक्षमा वकालत गर्दा जनस्वास्थ्यको पाटो ओझेलमा परेको उनको भनाइ छ ।

‘कोभिडले समस्या गरायो नै, त्यो पनि स्वास्थ्य क्षेत्रकै नराम्रो वास्तविकता उजागर भयो । त्यसअघि हाम्रो पनि यस्तो समस्या आउला भनेर कुनै तयारी थिएन । कोभिडले अहिले हामीलाई झकझक्याएको छ । यो क्षेत्रलाई सुदृढ गर्न हामीसँग अब पर्याप्त कारण पनि छ र तयारी पनि छ,’ उनले भने ।

अहिले कम्युनिटी फार्मेसीको अवधारणा आएको र त्यसले जनताको स्वास्थ्यको बढी ख्याल गर्ने गरेको आफ्नो अनुभव रहेको पन्तको भनाइ छ ।

‘एनपीएका कारणले फार्मासिस्टलाई बलियो बनाउने हाम्रो मुख्य उद्देश्य हो, त्यससँगै अधिकतम रूपमा जनस्वास्थ्यको चासो सम्बोधन गर्नेतिर हामी लाग्छौं,’ उनले भने, ‘हिजोका दिनमा फार्मासिस्ट उद्योगमा मात्र सीमित थिए, अहिले कम्युनिटीमा जान थालेको छ । जनताको स्वास्थ्यप्रति बढी उत्तरदायी हुन थालेको छ, त्यसलाई अघि बढाउन हामीले थप पहलकदमी लिन्छौँ ।’

पन्तले औषधिको क्षेत्रमा काम गर्न मन मिल्ने टीम लिएर चुनाव लड्न उत्रिएको बताए । उनको प्यानलबाट उपाध्यक्ष अमृत गौरो, प्रदिप लम्साल र महिला उपाध्यक्षमा डा। रोनक श्रेष्ठ, महासचिवमा संजिव शर्मा कट्टेल, सचिवमा केदार प्रसाद शाह र विवेक श्रेष्ठ छन् भने कोषाध्यक्षमा गोपीना राई, सहकोषाध्यक्षमा निर्मलराज मरासिनी, प्रचार सचिवमा अनिश श्रेष्ठ रहेका छन् ।

त्यस्तै पन्तकै प्यानलबाट सदस्यमा सुदर्शन बिडारी, संजिव प्रजापति, सुशील अधिकारी, मनोज भट्टराई र महिला सदस्यमा सौभाग्य डंगोलले निर्वाचन लड्दैछन् ।

उनी आफू उद्योगी या व्यवसायी नभएकाले स्वार्थको द्वन्द्व नहुने दाबी गर्छन् । तर अहिले विभिन्न उध्धोगी व्यवसायिले अनावश्यक इन्ट्रेस देखाएर फार्मेसी पेशालाइ गिजोल्ने खोजेको प्रती उनको आक्रोश छ। ‘आफू संचालक भए कै कम्पनी बाट फर्मासिस्ट लाई अपमानित गर्ने, उचित पारिश्रमिक नदिने तर अहिले आएर हक हितमा लाग्छु भन्दा हासो लाग्छ ।’

उनले आम जनता र स्वास्थ्य प्रणालीबीचको सम्बन्धलाई ठोस ढंगले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘आम जनताले आफू बिरामी हुँदा पहिला त उपचार नै ढिला शुरू हुने देखिएको छ, दोस्रो आवश्यक औषधि समयमा उपलब्ध नहुने अवस्था छ, त्यसलाई दूर गर्ने मेरो पहिलो एजेन्डा हो,’ पन्तले भने ।

उनले जनताको लासमा हाल्ने अबिर र कपुरमा समेत ठेक्का आह्वान गर्ने सत्ता र व्यापारीलाई आफ्नो चुनौती रहेको बताए । ‘स्वास्थ्य प्रणालीका कारण जनताले अमूल्य ज्यान गुमाउनुपरेको र त्यसको क्षतिलाई कम गर्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने, ‘कतिपय अफ्रिकाका देश र एसियाको नेपालमासमेत अनइथिकल रूपमा क्लिनिकल ट्रायल गरेर जनतालाई प्रयोगशाला बनाउने अवस्थालाई निरुत्साहित गर्न लाग्नेछु ।’

यसबाहेक टेलीमेडिसिन सेवालाई प्रभावकारी गराउने, अनलाइन फार्मेसीलाई कानूनको दायरामा ल्याउने, नीति निर्माण तहमा काम गर्ने, औषधिको न्यायोचित मूल्य निर्धारण गर्न पहल गर्ने, सातै प्रदेश र जिल्लामा औषधि व्यवस्था विभागलाई विकेन्द्रीकरण गर्न दबाब दिने, फार्मासिस्ट र एसिस्टेन्ट फार्मासिस्टहरूलाई बेलाबेलामा तालिम दिने कामसमेत आफूले गर्ने उनको दाबी छ ।

‘वार्षिक ६० अर्बको औषधिको कारोवार हुन्छ नेपालमा,’ उनले भने, ‘राज्यले नियमन गर्न सकिरहेको छैन । जनताको स्वास्थ्यमा राज्यको माथिल्लो तहबाटै खेलवाड हुने गरेको छ । जनताको स्वास्थ्य मेरो प्राथमिकतामा हुन्छ ।’

उनले आफू कुनै व्यापार, व्यवसाय र उत्पादनमा नजोडिएकाले स्वार्थको द्वन्द्व नहुने बताए ।

‘एउटै व्यक्तिले औषधि उत्पादन गर्छ, बेच्छ तर सोही व्यक्ति नीति निर्माणमा रहेर औषधिको मूल्य निर्धारण गर्ने ठाउँमा जान सुहाउँदैन,’ उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *