विराटनगरमा नगर बस सञ्चालनका लागि रुट परीक्षण

विराटनगर । विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको सिटी बसका लागि प्रारम्भिक चरणको रुट परीक्षण ट्रायल गरिएको छ ।

महानगरको सडक र मोडहरूमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको महानगरकी कार्यवाहक मेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् ।

बिहीबार दुईवटा बसबाट महानगरका विभिन्न रुटमा परीक्षण गरिएको थियो । कार्यवाहक मेयर कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला बसमा आफैँ चढेर रुटको परीक्षण गरेका थिए ।

महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ । लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागिएको उनको भनाइ थियो । ‘कुन–कुन रुटमा कति साइज र क्षमताको बस सञ्चालन गर्न सहज हुन्छ भनेर जानकारी लिन हामीले रुट ट्रायल गरेका हौँ,’ कार्कीले भनिन्, ‘ट्रायल सकिएपछि दुई–तीन महिनाभित्रै हामी नगर बस सञ्चालनमा ल्याउनेछौँ ।’

ज्येष्ठ नागरिक र अपाङ्गताले निःशुल्क आवागमन गर्न पाउनेछन् । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने कार्यवाहक मेयर कार्कीले जानकारी गराइन् । बस वातानुकूलित सुविधासहितको हुने महानगरले जनाएको छ ।

महानगरले मिलन चोक, ढाट, केशलियालगायत विभिन्न रुटबाट बस सञ्चालन गर्ने तयारी गरेको छ । सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो ।

प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी रहेको कार्कीले बताइन् । निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया अन्तिम चरण पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । नगर बस सञ्चालनका लागि मेयर नागेश कोइरालाको नेतृत्वमा विभिन्न चरणमा छलफल भई खरिद प्रक्रियासमेत अगाडि बढेको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nine =