सहकारीको सास्ती : ऋणीको उठीबास, बचतकर्ताको बिचल्ली !

बुढोपाकाले भन्थे, ‘हातले पैसा दिँदा खुट्टालाई दुःख ।’ पैसा लिने बेला हाँसाहाँसी लग्ने तर फिर्ता गर्ने समयमा कि त कालो मुख लगाउने नभए भागेर हिँड्ने । यता साथीभाइ वा नातेदारलाई ऋण दिएमा भोलि त्यही पैसाका कारण साथीभाइ र नातेदार नै त्याग्नु पर्ने हुन्छ ।
पछिल्लो समय विश्वासको भरमा ब्याजको प्रलोभनमा परी सर्वसाधारणले सहकारीमा आफूले जीवनभर दुःखसुख गरेर कमाएको रकम राखे । तर, सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेपछि अहिले उनीहरूमध्ये कोही गुण्डा लिएर जान्छन् त कोही राजनीतिक दलका नेता वा अभियन्ता ।
यसो गर्दा पनि पैसा फिर्ता नगरे सहकारीमा भएको सामग्रीहरू धमाधम उठाउने । यता बजारबाट पैसा उठाइरहेका बजार प्रतिनिधिलाई पनि थर्काउने वा हातपात गर्ने । पछिल्लो समय सहकारीमा काम गर्ने कर्मचारीहरू सहकारीका सञ्चालक र अध्यक्षका कारण असुरक्षित महसुस गरिरहेका छन् ।
त्यसैले, कतिपयले अहिले काम नै छोडिसकेका छन् । तर यिनीहरूमार्फत बचतकर्ताले राखेको रकम त आज डुब्ने अवस्थामा पुग्यो नित । बचतकर्ताले यिनीहरूको विश्वासमा आएर पैसा राखे तर यिनीहरूले आफू असुरक्षित हुनेबित्तिकै जागिर छोडे । त्यसैले, अब बचतकर्ता जाने त कहाँ नै ?
अहिले ग्रामीण भेगदेखि सहरसम्मै सहकारीहरू भागिसकेका छन् वा डुबिसकेका छन् भनेर सबैले थाहा पाइसकेका छन् । जोकोही सहकारीले आफ्नो रकम डुबाइदिएको वा सहकारी नै भागेको बताउँछन् । अहिले अधिकांशले सहकारीमा रकम जम्मा गर्न छोडिसकेका छन् ।
बचतकर्ताले विश्वासको भरमा सहकारीमा रकम जम्मा गरेका थिए तर अहिले यिनै सहकारीहरू ठग, लुट् र चोर हुन् भनेर उनीहरूले थाहा पाइसकेका छन् । सहकारीले बाटामा साग बेच्नेदेखि घरधनीसमेतलाई ठग्न बाँकी राखेन । यिनीहरूले यतिसम्म गर्छन् भनेर बचतकर्ताले सपनामा समेत कल्पना गरेका थिएनन् । मर्नुभन्दा बौलाउनु ठिक छ भनेझैँ अहिले सहकारीमा रकम राख्नेहरूको पनि यही हालत भएको छ ।
तर बुझ्दैनबुझी विश्वासको आडमा आफूले जीवनभर कमाएको रकम सहकारीमा राख्दा आज उनीहरूको बिल्लीबाठ भएको छ । सहकारीबाट पीडित भएका बचतकर्ताहरूमध्ये कुनै आन्दोलन गर्न थालिरहेका छन् त कुनै सहकारीविरुद्ध उजुरी हाल्न वडा कार्यालय, नगरपालिका, महानगरपालिका र प्रहरी प्रशासन धाइरहेका छन् ।
यता सहकारी सञ्चालन गर्न जुन घरधनीले आफ्नो घर भाडामा दिए । उनीहरूलाई आज न रातमा निन्द्रा न दिनमा भोक लागिरहेको छ । एकतिर एक वर्षदेखि भाडा पाएको छैन त अर्कोतिर बचतकर्ताहरू दिनैपिछे आएर रुनेदेखि तोडफोडसम्म गर्ने गर्छन् । उनीहरूलाई अहिले आफ्नो घर जोगाउन हम्मेहम्मे परिरहेको छ ।
कति सहकारीलाई घरधनीहरूले आफ्नो घरको सुरक्षाका लागि वर्ष दिनको भाडा पनि मिनाहा गरेर सहकारीलाई आफ्नो घरबाट धपाइरहेका छन् । त्यस्तै, कति घरधनीले आफ्नो घरको बिमा गराउन थालेका छन् । अहिले सहकारी सञ्चालन गर्ने भन्यो भने कसैले आफ्नो घर भाडामा लगाउँदैन ।
साथै, सहकारीमा काम गर्छु भन्दा पनि कोठा भाडामा दिइँदैन । भुरादेखि बुढासम्मले सहकारी चोर हो भनेर भन्छ । पहिला पहिला मिनपावर, कन्सल्टेन्सी, जग्गा दलालीलगायतले यसरी ठग्ने गर्थे तर यही सिको अहिले सहकारीले सिक्यो । पैसा माग्न गएका बचतकर्तालाई सहकारीका कर्मचारीहरू बत्ती, नेट वा सर छैन वा हाम्रो जग्गा बिक्री भएको छैन भन्दै बहाना बनाएर भागिरहेका छन् ।
कति बाठा बचतकर्ताहरू त्यस्ता चिप्ला कुरामा नपरेर थर्काएर वा तोडफोड गरेर आफ्नो पैसा असुली गरिरहेका छन् । तर जो बचतकर्ता अशिक्षित छ वा सिधा छ उसैलाई सहकारीहरूले उल्लुमाथि उल्लु बनाइरहेका छन् । ७५ प्रतिशत अशिक्षित व्यक्तिहरूको सहकारीमा रकम छ तर यिनीहरूको अरबौँ रकम आज डुब्ने अवस्थामा पुगेको छ ।
अहिले सबै सहकारीमा पैसा निकाल्नेको लाम छ तर बजारबाट पैसा उठाउनेहरू भने शून्यझैँ भइसकेका छन् । यता व्यापारीहरू दैनिक पैसा रकम पनि छोडिसकेका छन् । सहकारीमा रकम जम्मा गर्नेहरूको १० हजारदेखि १० करोडसम्म रकम डुबेको सुनिन्छ । पैसा नपाएपछि बचतकर्ताहरू रन्थनिएर हिँडेको भेटिन्छ ।
तर अझैपनि सहकारीहरू हामी भाग्दैनौ वा हामी डुबेका छैनौँ भनी भ्रम फैलाएर बचतकर्तासँग रकम असुली रहेका छन् । सहकारीहरू सबै डुबिसकेका छन् र दर्ता भएका आधाभन्दा बढी सहकारी भागिसकेका छन् । विज्ञापन बोर्डले भने अहिलेसम्म सहकारीमा पैसा नराख्नुस् भनेर सर्वसाधारणलाई सचेत गराएको छैन ।
विज्ञापन बोर्ड पनि सहकारीकै पक्षमा उभिएको छ र सर्वसाधारणको हितमा बोलेको छैन । बोर्डले अन्य विषयका बारेमा सर्वसाधारणलाई सचेत गराउँछ तर सहकारीले यत्रो सर्वसाधारणलाई पीडित बनाउँदा किन बोर्ड मौन बस्छ ? यसबाट त बोर्ड पनि बिकेको स्पष्ट हुन्छ नि त । सहकारीले एक दुईलाई मात्र नभई करोडौँलाई पीडित बनाएको छ । यता उनीहरूको बिसौँ खरबौँ रकम सहकारीले खाइदिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राई र सचिव डा. दामोदर रेग्मी सहकारीले यत्रो बचतकर्ताको बिल्लीबाठ बनाउँदा पनि कानमा तेल हालेर बसिरहेका छन् । उनीहरूको पनि बचतकर्ता डुबाउनुमा केही न केही मिलोमत्तो छ भनेर अहिले सर्वसाधारण बुझ्दछन् ।
सहकारी विभागका महानिर्देशक नवराज घिमिरे न त्यस्ता सहकारीको दर्ता नै खारेज गर्छन् न त्यस्ता सहकारीलाई कारबाही नै गर्छन् । दिनमा सयौँ बचतकर्ता सहकारीले आफ्नो रकम डुबाइदिएको भन्दै उजुरी तथा गुनासो गर्न सहकारी विभाग आउँछन् तर महानिर्देशक कानमा तेल हालेर बस्छन् ।
यता महानगर, नगरका मेयर वा गाउँका अध्यक्षहरू कहाँ आफ्नो रकम डुबाइदिएको भन्दै गुनासो गर्न जाँदा पनि बचतकर्ताहरूलाई मेयर तथा अध्यक्षसँग भेट्न दिइँदैन । एउटै बचतकर्ताको १० करोडसम्म रकम सहकारीमा डुबेको भनिन्छ तर सरकार अहिलेपनि सहकारीमा यत्रो रकम नराख्नुस् वा २० हजारभन्दा बढी नराख्नुस् भनेर सुसूचित गराउँदैन ।
सर्वसाधारणलाई सचेत न नगरपालिका नै गराउँछ न सरकार । अहिलेपनि सरकारको आँखा खुलेको छैन त अहिलेपनि सहकारीले आफ्नो लुटको धन्दा मच्चाइरहेका छन् । यता कति सहकारीहरूले प्रमाण मेटाउनका लागि बचतकर्तासँग भएको पासबुक पनि ब्याज चढाउने भन्दै बजारबाट उठाएर जलाइरहेका छन् ।
तर, सरकार आफ्नो बचतकर्ता कसैलाई पनि नदिनुस् भनेर पनि सूचना जारी गर्दैन । सहकारीका कर्मचारीहरू एक वर्षदेखि तलब नपाएको बताउँछन् । तर कतिले आफूलाई अप्ठ्यारो पर्छ भनी तलब नै माया मारेर जागिर छोडिरहेका छन् । अहिले सहकारीमा पैसा उठाउनका लागि कर्मचारी पाइँदैन त रोजगारी नपाएर सहकारीमा जागिर खान्छु भन्दा पनि घरपरिवार मान्दैनन् ।
सहकारीमा महिनाभरि काम गरेको ७ हजारदेखि १० हजारसम्म तलब दिन्छ । तर, न कर्मचारीको बिमा नै गराएको हुन्छ न अन्य सेवा सुविधा नै दिन्छ । बजार प्रतिनिधिहरू बजारबाट पैसा उठाएर ल्याउँछन् अनि त्यो पैसामा सहकारीका सञ्चालक र अध्यक्षहरू मोजमस्ती गर्छन् अनि बचत फिर्ता नगरेपछि चुटाई खान्छन् बजार प्रतिनिधिहरू । संस्थाका सञ्चालक र अध्यक्षहरू १ बजे कार्यालय आउने तर महिनाको तलब ५० हजारदेखि १ लाखसम्म खाने ।
यता २० लाख मूल्य बराबरको जग्गालाई घुस, सेवा शुल्क र चर्को ब्याज लिएर २० लाख नै कर्जा प्रवाह गर्ने त बैङ्कले सय रुपैयाँमा निष्कासन गरेको सेयरलाई पनि २५ सयसम्म कर्जा प्रवाह गर्ने । यता गाडीमा पनि त्यही नै हो । तर पछिल्लो समय यी वस्तुहरूको मूल्य छैन । जसले गर्दा यिनीहरूमा मन्दी छाएको छ त लगानीकर्ताहरू डुबेका छन् ।
त्यस्तै, सहकारीहरूले पनि यिनै वस्तुमा लगानी गरेका थिए तर यिनै वस्तुमा मन्दी छाएपछि यिनीहरू पनि डुबेर भाग्ने क्रम जारी रह्यो । त्यसैले, अब सर्वसाधारण जनताले आफू पनि सहकारीमा रकम नराखौँ र राखेकालाई पनि छिटोभन्दा छिटो आफ्नो रकम निकाल्न सरसल्लाह दिऔँ । खाईनखाई दुःख गरेर कमाएको पैसा अरूको लहैलहैमा लागेर वा ब्याजको प्रलोभनमा परेर नराखौँ ।
किनभन्दा अहिले सहकारीमा पैसा राख्नु भनेको त्यो रकम माया मार्नु हो । साथै, सञ्चार क्षेत्रले पनि सहकारीको यस्तो बेतिथिबारे बाहिर ल्यायौँ र यिनीहरूको ठगीधन्दा बारे पर्दाफास गरौँ । अब सञ्चार क्षेत्रहरूले नडुबेका बचतकर्तालाई डुबाउनबाट जागौँ । सहकारीबाट ऋण लिएका र रकम राखेका दुवै जनता हुन् तर सहकारीले ऋणको उठीबास लगायो नै तर बचतकर्तालाई समेत छोडेन ।
कति सहकारीहरू आफ्नै भवन छ भनेर बचतकर्तालाई ढाँटिरहेका छन् । तर उसले बचतकर्ताको रकम फिर्ता गर्नु छ अर्ब तर भवन बेच्दा आउँदा करोड । यसरी सहकारीहरूले बचतकर्ताहरूलाई अलमल्याइरहेका छन् ।








