मल लिन भोकभोकै घण्टौँ लाइनमा किसान (भिडिओ)

काठमाडौँ । पूर्वी क्षितिजमा बिहानी घामको लालिमा छाउँदै थियो । सडकमा मोटरको चहलपहलले मानिस बिउँझदै थिए । भक्तपुरको सल्लाघारी कम्प्लेक्सको केहि पर ठुलो टहरामा एकाएक मानिस जम्मा हुन थाले । हात–हातमा बोरा र नाम्लो बोकेका ती मानिस बन्द ढोकाअगाडि क्रमैसँग उभिन थाले । कौतुहलता थाम्न नसकी आगन्तुक एकजनाले सोध्यो– ‘यो के के लाइन हो ?’ थाहा पाउने अर्को बोल्यो– ‘युरिया मल लिन लाइनमा बसेको रे ।’ मेरो पनि जिज्ञासा मेटियो । लामबद्ध ती मानिस त अन्नदाता किसान रहेछन् ।

विस्तारै घाम छिप्पिएर चर्काे हुँदै आयो । सडकमा सवारी साधनको आवतजावत बढ्दै गयो । केही घण्टाको अन्तरालमा ढोका अगाडि बसेका मानिसको संख्या बढेर करिब डेढ सय जति पुगिसकेको थियो ।

बिहान ६ बजेदेखि युरिया मल खरिद गर्न आएका किसानको संख्या मध्यान्न १२ बजे पनि उत्तिकै देखिन्थ्यो ।

‘मल खरिद गर्न सहज कहाँ छ र ? एकाबिहानै उठेर टोकन लिन पालो पर्खनु पर्छ । टोकन लिसकेपछि बिल काट्नु पर्छ । बिल काटेपछि फेरि मल लिन पालो पर्खनु पर्छ,’ किसान ध्रुवभक्त बताउँछन् ।

भिडिओ

बिहानैदेखि भोकभोकै लाममा किसान

पहिले पैसा भए मल खरिद गर्न गाह्रो थिएन । मानिस मल लिन एकाबिहानै आएर पालो पर्खनुपर्ने अवस्था थिएन । पैसा तिरेपछि किसानले सजिलै मल खरिद गर्न सक्थे ।

मल खरिद गर्न आएका किसान शिव सिन्ताकला भन्छन् ‘दुई, चार वर्ष भयो यस्तो भएको । पहिले पैसा भए मल किन्न गाह्रो थिएन । अहिले ६ बजेदेखि लाइन बस्नुपर्ने अवस्था छ ।’

शिव सिन्ताकला मात्र होइन् । उनीजस्ता धेरै किसान बिहान ६ बजेदेखि मल लिन पालो पर्खिरहेका थिए । मध्यान्न १२ बजेसम्म पनि पालो नपाउँदा भोकै बस्नुपरेको उनीहरु बताउँछन् ।

किसान सिन्ताकलाले भने, ‘बिहान ६ बजेदेखि लाइन बसेको, अझै पालो आएको छैन, खाना पनि खाएको छैन् । खाना खान गयो भने मल पाइँदैन ।’
उनले खाना खान जाँदा मल नपाउने हुँदा भोकै बसेर पालो पर्खनु परेको बताए ।

सरकारबाट निराश, सरकारकै आश
सरकारले समयमा मल उपलब्ध नगराएकोले किसानले दुःख पाएको अर्का किसान गोपाल श्रेष्ठ बताउँछन् । उनी भन्छन् ‘समयमा मल नआएकोले लाइन बस्नुपर्छ । १० किलो मलले के गर्नु ?’

किसान सरकारले महिनामा एकपटक भए पनि मल उलब्ध गराउन सके मलको अभाव नहुने बताउँछन् । महिनामा एकपटक मल उपलब्ध गराए पालो पर्खन तयार भएको उनीहरू बताउँछन् ।

भन्छन्, ‘यसरी नै भए पनि महिनाको एकचोटी मल वितरण गर्याे भने हामीलाई सहज हुन्थ्यो । पालो पर्खन हामी गाह्रो मान्थेनाैँ ।’

किसान ध्रुवभक्त बाटु अर्थमन्त्रीले मल उपलब्ध गराउँछु भने पनि आवश्यक मात्रामा उपलब्ध गराउन नसकेको बताउँछन् । नेताहरू चुनावका बेला अनेक प्रतिबद्धता गर्ने तर चुनाव जितेपछि जनताको समस्यालाई सम्बोधन नगरेको उनको भनाई छ ।

उनी भन्छन्, ‘ नेताहरू भोट माग्न आउँदा यस्तो गर्छु र उस्तो गर्छु भन्छन् तर चुनाव जितेपछि वास्तै गर्दैनन् । मल सहज रुपमा कहिल्यै वितरण गरिँदैन । किसानलाई खुसी बनाउनु छ भने मल समयमै ल्याऊ ।’

किसान ध्रुवभक्त किसानलाई खुशि बताउन सरकारले मल उपलब्ध गराउनुपर्ने बताए । उनले मल पाउन बिहान ७ बजेदेखि पालो पर्खेको र ११ बजे बल्ल पालो आएको बताए । यसअघि उनले मल खरिद गर्न बिहान ४ बजे उठेर पालो पर्खने गरेको बताए ।

मलको मूल्य र वितरणको अवस्था
जिल्ला सहकारी संघका सदस्य कृष्णराम बासुकलाका अनुसार यसपटक सहकारीलाई जम्मा ४० बोरा मल उपलब्ध गराइएको छ । सहकारीले प्रत्येक किसानलाई १० केजी मल वितरण गराएको उनले बताए ।

उनले भने, ‘४० बोरा मल आएको हो । हामीले किसानलाई १०/१० किलो मल वितरण गरेका छौँ ।’

यसअघि सल्लाघारीमा मंसिर २५ गते मल वितरण गरिएको थियो भने करिब २ महिनापछि पुनः मल वितरण गरिएको छ । वीरगंज, भैरहवा र विराटनगरमा एक बोरा युरिया मलको औषत खरिद मूल्य ४ हजार ४ सय १२ रुपिँया तोकिएको छ । यसमा सरकारले औषत ३ हजार ६ सय ६३ रुपैँया अनुदान दिन्छ । सरकारले दिने अनुदान दिएपछि त्यस क्षेत्रका किसानले एक बोरा युरिया मल औषतमा ७ सय ५० रुपैयाँमा किन्न पाउँछन् ।

त्यसैगरी काडमाडौँ उपत्यकामा युरिया मलको मूल्य प्रतिबोरा ६ हजार ५ सय रहेको छ । सरकारले अनुदान दिएपछि काठमाडौँ उपत्यकाका किसानले एक बोरा युरिया मल औषत १ हजार रुपैयाँमा पाउँछन् । प्रतिकिलाे मलकाे भने २२ रूपैयाँ पर्ने गरेकाे छ ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *