मध्यमार्गी बाटाेमा प्रचण्ड : एमालेकै गठबन्धनमा बसेर कांग्रेसलाई राष्ट्रपति दिने दाउ

काठमाडौँ । नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि आफ्नो सरकार टिकाउने पक्षमा छन् । सरकार जाेगाउन उनी मध्यमार्गी बाटाे अवलम्बन गर्न खाेजिरहेका छन् । अर्थात् नेकपा एमालेलाई पनि सरकारबाट ‘आउट’ नगर्ने र कांग्रेसलाई पनि सरकारमा ‘इन’ गराउने उनकाे चाहना प्रष्टै देखिएकाे छ ।

१६९ सांसदको समर्थनमा १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई वर्तमान सात दलीय गठबन्धन जोगाएर सरकार चलाउन मुस्किल भइरहेको छ । सात दलीय गठबन्धनको प्रधानमन्त्री भएका प्रचण्डलाई २६ पुसमा संसद्मा सहभागी २ सय ७० सांसदमध्ये २ सय ६८ सांसदले विश्वासको मत दिएका थिए । अर्थान् एकाध दल छाेडेर संसदका सबैजसाे दलका र स्वतन्त्र सांसदले उनलाई विश्वासकाे मत दिए । संसदकाे सबैभन्दा ठूलाे दल कांग्रेसले पनि उनलाई विश्वासकाे मत दिएपछि भने उनले कांग्रेसलाई पनि पदबाँडफाँटमा सामेल गराउनु पर्ने जिम्मेवारी थपिएकाे थियाे ।

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी लगायतका दल दिएकाे विश्वासको मतकाे बदला के दिने भनेर उनी तनावमा परेकाे देखिन्छ ।

यीमध्ये मंसिर ४ को चुनावमा ८९ सिट जितेको देशको पहिलो दल नेपाली कांग्रेस सरकारमा जाने हताराेमा छ । सके याे गठबन्धन स्पेस खाेज्ने नसके याे गठबन्धन टुटाएर सरकार ढाल्ने र नयाँ गठबन्धनकाे खाेजीमा लाग्ने सार्वजनिक अभिव्यक्ति नै कांग्रेसका नेताहरूले दिइरहेका छन् ।

यतिबेला कांग्रेसको अर्जुनदृष्टि राष्ट्रपति निर्वाचनमा छ । उसले सरकारका अन्य सबै पद छाडेर जसरी पनि राष्ट्रपतिमा आफ्नो स्थान बनाउन चाहेको छ । अर्थात् कांग्रेसको मिसन राष्ट्रपति पाउँने हो ।

यता माओवादी केन्द्रले पनि कांग्रेसलाई राष्ट्रपति दिन पार्टी नै तयार रहने संकेत गरेको छ । कतिपय सार्वजनिक भाषणहरूमा महासचिव देव गुरुङ, उपाध्यक्ष तथा उपप्रधान तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठले पनि कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने बताउँदै आएका छन् । यति मात्र होइन, स्रोतका अनुसार माओवादीका अधिकांश नेताले एमालेले राष्ट्रपति पाउनु नहुने पक्षमा बलियो मत राख्दै आएका छन् ।

तर, नेकपा एमालेले पुस १० को सर्तअनुसार राष्ट्रपति आफ्नै दलले उठाएको उम्मेदवार हुनुपर्ने अडान अझै कायमै राखेको छ । एमालेका अडानबीच प्रचण्डले भने कांग्रेसलाई समेटेर लानुपर्ने जिम्मेवारी बाेध गरिनै रहेका छन् ।

माओवादीका एक नेता भन्छन्– ‘हामी कांग्रेसलाई नै सघाउने पक्षमा छौँ । यही विषयमा निर्णय लिन अहिले पार्टीको पदाधिकारी बैठक बस्दैछ ।’

आइतबार बेलुका राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न कांग्रेसले माओवादीसँग औपचारिक आग्रह गर्ने कांग्रेस नेताहरू प्रचण्ड निवासमा ढोका ढक्ढक्याउन पुगेका थिए । सभापति शेरबहादुर देउवासहितका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र कृष्ण सिटौलाले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएर अगाडि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएको बैठकका सहभागी एक नेताले मकालुखबरलाई बताए ।

ती नेताले भने, ‘प्रधानमन्त्री ज्यू हामीले उठाएका कुरामा लाेयल हुनुहुन्छ । फेरि हामीले उहाँलाई तपाईं ५ वर्ष नै प्रधानमन्त्री बन्नुहोस् भनिदिएका छौँ । यसको छिनोफानो आज हुन्छ ।’

प्रचण्डलाई कांग्रेसले पुरानै गठबन्धन ब्युँताउन र एमालेसँगको सहकार्य तोड्नसमेत आग्रह गरिरहेकाे ती नेताले खुलासा गरे ।

फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । समय नजिकिँदै जाँदा नेकपा एमाले पनि माओवादीलाई फकाइरहेको देखिन्छ । उसो त अध्यक्ष ओलीले २६ पुसमा कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर ढोक्सा थापेको बताए । ओलीकाे याे भनाइकाे प्रतिउत्तर स्वरूप गगन थापा, प्रदीप पाैडेललगायत कांग्रेस नेताहरूले पहिलाे दल भएकाे हिसाबले कांग्रेसले सरकारकाे नेतृत्व गर्न खाेज्नु र राष्ट्रपतिमा उम्मेदवारी दिनु ढाेक्सा थापेकाे नभइ स्वभाविक भएकाे बताइरहेकाे पनि छन् ।

यतिमात्र होइन सोमबार साझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री प्रचण्डबीच पनि सिंहदरबारमा छलफल भएको थियो । छलफलमा नेपालले पनि एमालेलाई राष्ट्रपतिमा सहयोग नगर्ने प्रचण्डलाई सुझाव दिएका छन् ।

तर, आइतबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले नेकपा माओवादीलाई फकाउँदै भनेका छन्,‘माओवादीले राष्ट्रपतिमा एमालेले उठाएको उम्मेदवारलाई भोट दिन्छ । यसमा कुनै शंका छैन । एमालेबाट हुने राष्ट्रपतिको नाम म १३ गते दिन्छु ।’

यता प्रचण्ड पनि एमालेलाई पनि सँगै लिएर कांग्रेसको पनि चित्त बुझाउने दाउमा छन् । उनले मिले सात दलीय गठबन्धन पनि नभत्काई कांग्रेसलाई राष्ट्रपतिमा सघाउने पक्षमा छन् । उनी ‘सर्प पनि मार्ने र लट्ठी पनि नभाँच्ने दाउमा छन् । तर नेकपा एमाले कांग्रेसलाई राष्ट्रपति दिन कुनै पनि हालतमा तयार छैन । ओली निकट एक नेताका अनुसार बरु एमालेले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई राष्ट्रपतिकाे उम्मेदवार बनाउनेबारे सहमति गर्न सक्ने सम्भावनामा छ ।

तर, प्रधानमन्त्री प्रचण्ड भने कुनै नाटकीय परिवर्तन नभए जसरी पनि कांग्रेसलाई राष्ट्रपति दिन सहमति जुटाउने अडानमा कायमै देखिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *