चितवन–२ उपनिर्वाचन : एमाले र माओवादी अनिर्णित, जनतासँग ढुक्क रास्वपाका रवि

कांग्रेसबाट कायमै उमेशकाे दाबी

काठमाडौँ । संसदीय निर्वाचनमा नेपाली जनताले धेरै चासो दिएको निर्वाचन क्षेत्र हो, चितवन–२ । यहाँ वैशाख १० गते उपनिर्वाचन हुने भएपछि अझ चासो बढेको छ । राजनीतिक दलहरु यो क्षेत्रको उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न तयारीमा जुटिसकेका छन् ।

पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले यही क्षेत्रबाट संसदको यात्रा सुरु गरेका थिए । ४ मंसिरमा २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा सो स्थानबाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति लामिछाने सांसद निर्वाचित भएका थिए । तर, बिडम्बना उनले संसदीय यात्रामा केही पाइला सार्न नपाउँदै नागरिकतासम्बन्धी मुद्दाको फैसलाका कारण रोकिनु पर्यो । अर्थात् उनको सांसद पद खारेज भयो । अब फेरि पनि उनी आफ्नो संसदीय यात्राका लागि यही क्षेत्रबाट ‘अझ ठुलो ट्र्याक’ खोल्ने पक्षमा छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम प्रतिनिधि रिक्ति भएको यो स्थानमा अब उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यहाँ २० चैतमा मनोनयन दर्ता गर्ने कार्यतालिका छ । हाल मतदाता नामावली अद्यावधिकको काम भइरहेको छ । अर्थात् आयोग उपनिर्वाचका लागि पूर्ण तयारीका साथ लागिसकेको छ ।

यस्तो थियो अघिल्लो निर्वाचनको मत परिणाम
चितवन २ मा ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनले कांग्रेसका उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । त्स्तै, नेकपा एमालेले कृष्णभक्त पोखरेललाई उठाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पार्टी सभापति लामिछाने नै उठेका थिए ।

रविले लामो समय टेलिभिजन पत्रकारिता गर्दा वैदेशिक रोजगारीमा गएका नेपालीको पीडा, देशको अनियमितताविरुद्ध आवाज उठाएको र देशको सार्वजनिक र सामाजिक काममा सक्रिय भएको कारण धेरै मतदाताले उनलाई रुचाएका थिए । तत्कालीन पाँच दलीय गठबन्धनका साझा उम्मेद्वार उमेश श्रेष्ठ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेललाई हराएका थिए ।

उक्त निर्वाचनमा ८३९५६ जनाले मतदान गरेको निर्वाचन आयोगको तथ्याङ्कमा छ । लामिछानेले ४९२६४ भोट पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्रेष्ठले १४९८३ मत प्राप्त गरेका थिए । भने नेकपा एमालेका पोखरेलले १४६६७ भोट ल्याएको आयोगको तथ्याङ्क छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४२८१ भोट बढी पाएका लामिछानेले पाएर देशमै फराकिलो मतान्तरले विजय भएका थिए ।

उनले ऐतिहासिक जित त निकाले तर उनको जितले तिनै चितवनका जनतालाई दोहोरो झन्झट परेको छ । सरसर्ति हेर्दा लामिछानेको सानो गल्तीका कारण पुनः चितवनका जनताले दुःख पाएका छन् । भने राज्यकोषको रकम पनि दोहोरो खर्च हुने भएको छ । फेरिएको गठबन्धन मंसिर अगाडिको निर्वाचन समीकरण र अहिलेको समीकरण परिवर्तन भएको छ । निर्वाचनअघि एक्लै पाँच दलीय गठबन्धन र एमालेसँग भिडेको रास्वपाका लामिछाने अहिले सात दलीय सरकारको समर्थनमा छन् । यद्यपी सांसद र मन्त्रीपदको खारेजीसँगै उनको पार्टीले सरकारलाई समर्थन कायमै राखेर सरकारबामट बाहिरिसकेको छ ।

सात दलीय गठबन्धनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र दुई स्वतन्त्र संसद् छन् । तर पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी सरकारसँग असन्तुष्ट छन् । उनीहरूले सरकारलाई समर्थन मात्र गरेका छन् । यता नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी अघोषित गठबन्धनमा छन् । सुदूरपश्चिम प्रदेशमा हालै गठन भएको सरकारमा पनि यी दुई पार्टी सरकारमा छन् । उनीहरूबीच पाँच दलीय गठबन्धन हुँदा जोडिएको नाता हालसम्म पनि यथावत् छ । पाँच दलीय गठबन्धन हुँदा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा थिए । तर हाल त्यो गठबन्धनमा रहेका मध्ये नेपाली कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा अहिलेसम्म सँगै छन् ।

एमाले र माओवादी अनिर्णित, कांग्रेस र रास्वपा आशै आशमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अन्य कांग्रेसका नेताहरू पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने दाउमा छन् । उनीहरूले यसका लागि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक भेट्ने गरेको र फोनमा समेत कुराकानी गरिरहेको स्रोतले पुष्टि गरेका छन् । कांग्रेसले यसअघिकै उम्मेदवार उमेश श्रेष्ठलाई उठाउने निधो नै गरेको छ । तर, आधिकारिक घोषणा भने अहिलेसम्म कतै गरेको छैन ।

कांग्रेस कार्यसम्पादन समितिका एक नेताका अनुसार नेपाली कांग्रेसलाई चितवन २ मा हुन लागेको निर्वाचनमा माओवादीले पनि सहयोग गर्ने विश्वास गरिएको छ ।

मकालुखबरसँग ती नेताले भने, ‘उमेश जी नै उठ्नु हुन्छ । उहाँलाई पहिलाको पाँच दलीय गठबन्धनले साथ दिन्छ । माओवादी सात दलीय गठबन्धनमा खुसी छैन । पहिलाकै गठबन्धन व्यँताउने कुरा भइरहेका छ । माओवादीका साथीहरूले रविजी लाई र एमालेलाई कुनै पनि हालतका सहयोग गर्न अवस्थामा हुनुहुन्न छैन । हामी पहिलेकै अवस्थामा फर्किने कि भन्ने कुराहरू अनौपचारिक रूपमा चलिरहेको छ ।’

नेकपा एमालेले पनि पुनस् एमालेका कृष्णभक्त पोखरेललाई नै उठाउने तयारी गरेको देखिन्छ । तर एमाले पनि चितवन २ मा हुने भनिएको उपनिर्वाचनको सन्दर्भमा हालसम्म मौन छ । उसले यसबारे आफ्ना उम्मेदवारलाई कुनै जानकारी दिएको छैन । एमाले सचिवालयका एक नेताका अनुसार एमालेले रास्वपालाई या अन्य दललाई सहयोग नगरी आफ्नै उम्मेदवार बनाउने भन्ने बारेमा एमालेमा पनि दुई धार छ । अध्यक्ष केपी ओलीले यहिलेसम्म यस विषयमा मुख नखोलेको ती नेताले बताए ।

उनले भने, ‘सात दलीय गठबन्धनको साझा उम्मेदवार बनाउने भन्ने कुरा बाहिर आएका हल्ला मात्र हुन् । माओवादीले साथ दिए एमालेले आफ्नै उम्मेदवार खडा गर्ने भन्ने छ ।’ तर एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालको सम्बन्ध बिस्तारै टाढिँदै गएको संकेत गर्दै एमाले सचिवालयका अर्का नेताले भने, ‘सत्ता गठबन्धनले एउटै उम्मेदवार बनाएर जाने सम्भावना नै छैन । साँच्चै भन्दा यो गठबन्धन कस्तो भयो कस्तो । यहाँ कसैले कसैलाई विश्वासै गर्न सकेको छैन । माओवादीले एमालेलाई सहयोग गर्छ भन्ने कुरामा अध्यक्षज्यू ढुक्क हुनुहुन्न । कुनै नाटकीय परिवर्तन भएन भने एमालेले उम्मेदवार उठायो भने त कृष्णभक्त पोखरेल नै उठाउने हो ।’

नेकपा माओवादी केन्द्रले चितवन २ मा आफ्नो उम्मेदवार उठाउने कुरा कतै गरेको छैन । अन्य पार्टीको चर्चा चलिरहँदा माओवादी भने सुनेर बसिरहेको छ । उसले कांग्रेस या एमाले कसको उम्मेदवारलाई सहयोग गर्ने भन्ने विषयमा निर्णय लिन सकेको छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले र रास्वपाको साथले हाल प्रधानमन्त्री बनेका छन् । जसका कारण उनीले कसलाई सहयोग गर्ने कि आफै उठ्ने भन्ने कुरामा निर्णय तहमा पुग्न नसकेको माओवादीका एक पदाधिकारीले मकालुखबरलाई बताए ।

उनले भने, ‘उम्मेदवारी दिने कुरा चलेको छैन । कांग्रेस या एमालेका उम्मेदवारलाई सहयोग गरेर जाने कि भन्ने छ । रास्ववपाले पनि सरकारलाई सहयोग गरेकाले के गर्ने निर्णय नै गर्ने सकेको छैन । एमालेबाट पनि पछिल्लो समय अध्यक्ष ज्यू असन्तुष्ट हुनुहुन्छ ।’

ती पदाधिकारीले थपे, ‘ हाम्रो पार्टी जे भएपनि निर्णायक तहमा छ । पुरानो गठबन्धनलाई खुलेर साथ दिने अवस्था पनि छैन । तर एमालेको भर पनि छैन । केही दिनमा केन्द्रीय र स्थायी कमिटीको मिटिङ बसेर निर्णय होला ।’

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पुनस् लामिछानेलाई नै उम्मेदवार बनाउने भएको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार पुन लामिछाने नै निर्वाचन लड्ने र सानदारका साथ निर्वाचन जित्ने उनले बताए ।

ढकालले भने, ‘पार्सपोटको दुरुपयोग भन्न मिल्ने कुरा नै छैन । कुनै पनि ऐन नियममा उहाँको पासपोर्ट दुरुपयोग भएको छ भन्ने खालको कुरा छैन । अदालतको अन्तिम फैसला भएपछि मात्र दुरुपयोग भएको ठहर्छ । यो कुरामा हामी गम्भीर छौँ । यसअघिको घटनाले गर्दा पनि हामी यो कुरामा सजक पक्कै छौँ । जनता जहिले पनि रवि लामिछानेको पक्षमा छन् । जनताले राज्य संयन्त्रको प्रणालीका कारण दुःख पाए । यो कुरामा हामीले पनि माफी माग्नुपर्छ ।’

यस्तै, रास्वपालाई सात दलीय गठबन्धनले सघाउँछन् कि एक्लै लड्ने हो भन्ने प्रश्नमा ढकालले भने, ‘यो विषयमा अहिलेसम्म कुरा भएको छैन । छलफल गर्ने समय छ । हतार छैन । राजनीतिक रूपमा सबै पक्षसँग छलफल हुन्छ । रविजीको जित सुनिश्चित छ । चितवन २ का जनताले रविजीको काम देखिसकेका छन् । उनको पक्षमा व्यापक जनलहर उर्लिने छ । पटक पटक जनताले दुःख पाए भन्ने कुरा मात्र हो । रास्वपालाई एक्लै लड्दा पनि चितवन २ मा समस्या छैन । जनताले देश बनाउनका लागि रवि ज्यूलाई जस्तोसुकै बेला पनि साथ दिनुहुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *