रास्वपा भन्छ-‘गृह मन्त्रालयबारे प्रधानमन्त्री ज्यूको क्लियर रेस्पोन्सको प्रतीक्षामा छौँ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो भागमा परेको गृहमन्त्रालयमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको बताएको छ । आफ्नो भागमा परेको मन्त्रालय खोसिन लागेकोप्रति रास्वपाले आपत्ति जनाएको हो । रास्वपाले गृहमन्त्रालय नछाड्ने बताउँदै प्रधानमन्त्रीलाई गृहमन्त्रीमा आफ्नो पार्टीबाट तत्काल नाम पठाउन आफूहरूलाई भन्न आग्रह गरेको छ ।

सभापति रवि लामिछानेको नागरिकता विवाद भएपछि सर्वोच्च अदालतको आदेशले रविको सांसद, मन्त्री र सभापति पद गुमेको थियो । आइतबार उनले काठमाडौँ जिल्ला अदालतबाट नागरिकताको प्रतिलिपि लिएर पुनः रास्वपाको सभापतिमा फर्किएका छन् । तर, उनलाई पुनः गृहमन्त्रालयमा पठाउन प्रधानमन्त्री तयार नभएको देखिएको छ ।

सत्ताधारी दल नेकपा एमालेले भने रविलाई पुनः गृहमन्त्रीमा पठाउन दबाब दिइरहेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल अझै पनि यसबारे द्विविधामै छन् । उनलाई आफ्नै दल नेकपा माओवादी केन्द्र र सत्ता साझेदार दलको पनि गृह मन्त्रालयबारे निर्णय लिन फरक–फरक किसिमको दाबाब छ ।

याे पनि रविलाई पुन: गृह मन्त्री बनाउन बालकोट र समर्थको दबाब, द्विविधामा प्रधानमन्त्री

एमाले अध्यक्ष ओलीले पटक पटक भेटेर रविलाई गृहमन्त्रालयमा फर्काउन भनेको स्रोतले पुष्टि गरेको छ । अन्य सत्ता साझेदार पार्टी र आफ्नो पार्टीले रवि गृहमन्त्रीमा फर्किन नहुने प्रधानमन्त्रीसँग अडान राखेको स्रोतको भनाइ छ । तर, रास्वपाले प्रधानमन्त्रीले औपचारिक पत्र पठाएर पुनः आफ्नो पार्टीबाट गृहमन्त्रीको नाम पठाउनु पर्ने माग गरेको छ ।

रास्वपा प्रवक्ता मुकुल ढकालले मकालुखबरसँग कुरा गर्दै भने, ‘हाम्रो भागमा परेको गृहमन्त्रालय अरूले दाबी गर्न पाउने हक छैन । प्रधानमन्त्री ज्यूले पत्र पठाएर हामीलाई गृहमन्त्रालयमा हाम्रो मान्छेको नाम पठाउन भन्नुभएको छैन । हामी यसको प्रतीक्षामा छौँ । हामीले सभापति रवि लामिछाने ज्यूलाई नै गृहमन्त्रालयमा पठाउने बारे निर्णय पनि गरेको छैनौँ । तर हाम्रो भागको मन्त्रालयमा अरूको हस्तक्षेप किन र ?’

उनले प्रधानमन्त्रीसँग छलफल भइरहेको भए पनि कुनै निष्कर्ष ननिस्काएको बताए । गृहमन्त्रालय खोस्न शक्तिहरू लागेको बताउँदै रास्वपाले यसको जहिले विरोध गर्ने बताए ।

‘यो त अलमल भयो,’ उनले भने, ‘प्रधानमन्त्री ज्यू कता फस्नुभयो केही थाहा छैन । हाम्रो मन्त्रालय खोस्न दिने छैन ।’

रवि लामिछानेको पासपोर्ट विवादका विषयहरु पनि आइरहँदा किन पुनः रविलाई नै गृहमन्त्रालयमा पठाउन आतिनुभयो भन्ने प्रश्नमा भने, ‘हामीले कति पर्खिने एक महिना पर्खिने कि दुई महिना हो कि कति ? नेपालमा मुद्दा को फैसला आउन २० वर्षसम्म लागेका उदाहरण छन् । मुद्दा परेको मान्छेले के गर्ने अगाडि बढ्न पाउने कि नपाउने । यदि ३ महिनामा रवि ज्यूको सम्पूर्ण फैसला हुनेभए हामी कुनै पनि कुरा गर्दैनौँ । हामीले कति पर्खने केही गर्ने खोज्नेलाई रोक्नु त भएन नि ।’

उनले रास्वपा देश बनाउन अग्रसर रहेको भन्दै रवि लामिछानेलाई सरकारमा पठाउदा देश र जनताको पक्षमा पार्टीको हितमा हुने-नहुने बारे विचार गरिने बताए ।

‘प्रधानमन्त्री ज्यूले छलफल गर्दै छु पख्नुहोस् भन्नु भएको छ,’ उनले भने, ‘हामीले उहाँलाई केही दिन कुराएका छौँ । अब अल्झिरहँदैनौँ । क्लियर रेस्पोन्सको प्रतीक्षामा छौँ । रवि ज्यूको नागरिकता विवादको पूर्णपाठ र पासपोर्ट विवादको फैसला छिटो आउनु पर्यो ।’

यस्तै रास्वपाका उपसभापति तथा सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले पनि सभापति रवि लामिछानेलाई तत्काल गृहमन्त्री बनाउन आफ्नो पार्टीले दबाब नदिएको बताएका छन् । उनले आफ्नो भागमा परेको गृहमन्त्रालयमा प्रधानमन्त्रीले तत्काल नाम पठाउन आफ्नो पार्टीलाई भन्नुपर्ने बताए ।

मकालुखबरसँग कुरा गर्दै उनले भने, ‘सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटमा गृह हाम्रो भागमा परेको थियो र अब हाम्रा अन्य साथीहरूले यो मन्त्रालयको जिम्मेवारी लिनुहुन्छ । हामीले सभापति ज्यूलाई नै यो मन्त्रालय दिनुपर्छ भन्ने कुरा नै गरेका छैनौ । मिडियामा हल्ला आएका मात्रै हुन् ।’

रविबाहेक पार्टीमा बाँकी १९ जना सांसद मध्ये कोही एक गृह मन्त्रालयमा जाने उनले बताए । ‘तर प्रधानमन्त्री ज्यूको आनाकानीमाथि हाम्रो प्रश्न हो,’ उनले भने ।

उनले रविले पुनः प्राप्त गरेको नागरिकतामा विवाद भएको समाचारबारे आफूलाई जानकारी नभएको समेत बताए । उनले रविलाई सभापति बनाउन रास्वपाले हतार गर्‍यो नि भन्ने प्रश्नमा भने, ‘पार्टी त चलाउनु पर्‍यो नि उहाँले नागरिकता पाइसक्नु भएको छ ।’ याे पनि हाम्रो भागको मन्त्रालयमा दाबी हो, रवि नै गृहमन्त्री बन्ने कुरो छैन : डोलप्रसाद अर्याल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *