निहारिका र शिवराजबिच मिलापत्र, सँगै बस्न थाले

काठमाडाैँ । उच्च अदालत जनकपुरमा बलात्कारको मुद्दा विचाराधीन अवस्थामा रहँदा निहारिका राजपूत भन्ने सोनालीकुमारी सिंहले शिवराज श्रेष्ठसँग मिलापत्र गरेकी छन् ।

निहारिकाले शिवराजलाई बलात्कारको आरोप लगाएकी थिइन् । जिल्ला अदालत धनुषाले सफाइ दिए पनि उच्च अदालतमा यो मुद्दाको फैसला हुन बाँकी छ ।

तर मुद्दाका पक्ष विपक्षले भने अब श्रीमान् श्रीमतीका रूपमा सँगै बस्ने भन्दै मिलापत्र गरेका हुन् ।
जिल्ला अदालत धनुषामा सोमबार मिलापत्र गराएको अदालतको आदेशमा उल्लेख छ । मिलापत्र गर्नका लागि निहारिका र शिवराजले संयुक्त निवेदन दिएका थिए । निवेदनपछि जिल्ला न्यायाधीश ब्रिजेस प्याकुरेलको इजलासले निहारिका र शिवराजको सहमति अनुसार मिलापत्र गराएको आदेश गरेका थिए ।

उनीहरूले अदालतमा दिएको निवेदनमा बलात्कार विषय नै उल्लेख गरेका छैनन् । यसबिचमा केही खटपट भए पनि त्यो सामान्य रहेको उल्लेख गरेका छन् ।

कानुनी हिसाबले उमेर नपुगेको भए पनि पति पत्नीकै रूपमा बस्दै आएको बताएका छन् ।
२०७७ भदौ ५ गते शिवराज र निहारिकाका छोरा बिहान श्रेष्ठको जन्म भएको थियो । यसअघि शिवराजले छोरा अस्वीकार गरेका थिए । निहारिकाले शिवराजबाट बलात्कृत भएपछि छोरा जन्मेको आरोप लगाएकी थिइन् ।

डिएनए परीक्षणबाट छोरा शिवारजकै भएको खुलेको थियो । उच्च अदालतले शिवराजको डिएनए गर्न आदेश दिएको थियो । डिएनए मिलेसँगै निहारिका र छोरालाई स्वीकार गर्न शिवराज तयार भएका हुन् ।

शिवराज बेरोजगार भएका कारण परिवारमा विवाद भएको र त्यो कुरा परिवारमा सामान्य भएको मिलापत्रमा निहारिकाले उल्लेख गरेकी छन् । शिवराजले निहारिकालाई यातना नदिएको बताएका छन् ।

शिवराजले निहारिका अलग बसे अंश दिने र सँगै बसे पनि स्वीकार गर्ने बताएका छन् । यतिका दिनसम्म मुद्दा लडी बाझी आए पनि अब उपरान्त मुद्दा नलड्ने आपसमा मिलेर बस्ने सहमति पत्रमा उल्लेख छ ।

२०७८ माघ २४ गते जिल्ला अदालत धनुषाले बलात्कारको मुद्दामा शिवराजलाई सफाइ दिने फैसला गरेको थियो । निहारिकाले २०७६ कात्तिक ६ गते शिवराजले जबरजस्तीकरणी गरेको आरोप लगाएकी थिइन् । जिल्लाको फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो । उच्च अदालतमा अहिले पनि बलात्कार मुद्दा विचाराधीन छ । फैसला हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *