स्मरणमा सहिद

यो स्वतन्त्रता र प्रजातन्त्र सहिदको रगतले रङ्गिएकाे छ

काठमाडौँ । हामी स्वतन्त्रताको वायुमा बाचिँरहेका छौँ । जुन वायु सहिदहरूले आफ्नो प्राणवायुको सट्टामा हामीलाई दिएर गए । हामीले पिउने पानीमा सहिदहरूका आँसु छन् । जसले परिवारलाई छाडी देशलाई रोजेका थिए । हामीले टेकेको पाइला पाइलामा सहिदहरूका रगत मुछिएका छन्, जुन रगत स्वतन्त्रताका लागि बगेका थिए । कसैलाई झुण्ड्याएर कसैलाई गोली ठोकेर मृत्युदण्ड दिइयो । खरानी भएर सहिदहरु यही माटोमा लीन भए ।

यो देशको जल, वायु र माटोमा मात्र होइन, प्रत्येक अंगमा साहिद जीवित भई बसेका छन् । सहिदका बलिदानीमै बाँचेका छन्, यो स्वतन्त्रता । यो प्रजातन्त्र । जुन प्रजातन्त्र प्राप्त गर्न दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ सहिद भएका थिए ।

नेपालमा वि.सं १९०३ देखि २००७ सालसम्म राणाहरूको जहानियाँ शासन थियो । राणाहरूले जनतालाई शिक्षा र सूचनाबाट बञ्चित गरे । गाँस, बास, कपास र स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूर्तिलाई पूरै बेवास्ता गरिदिए ।

जनताहरू एक ठाउँ भेला भएर बातचित गर्नसमेत बञ्चित गरे । त्यसबेला प्रजापरिषद्को कार्यकर्ता रहेका दशरथ चंदले सेवा सिंह भन्ने नामबाट राणा विरोधी लेखहरू छाप्थे । तत्कालीन राणा सरकारले वि.सं १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी हत्या गर्यो ।

भारतको पञ्जाब विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातक गरेपछि सहिद शुक्रराज शास्त्री नेपाल फर्केका थिए । उनी वि.सं. १९९५ माघ १३ गते काठमाडौँको इन्द«चोकमा राणा शासनविरुद्ध आयोजित आमसभामा सम्बोधन गर्दा राजद्राेहको अभियोगमा पक्राउ परे । ३ वर्ष कैदमा परेका उनलाई ८ वटा झुटा मुद्दा लगाएर राणा सरकारले ३ वर्ष कैदमा राख्यो । सर्वस्वहरणसहित फाँसीको सजाय सुनायो । वि.स ं१९९७ साल माघ १० गते उनलाई राणा सरकारले झुण्ड्याएर हत्या गर्यो ।

सहिद धर्मभक्त माथेमाको अवस्था पनि दशरथ र शुक्रराजको भन्दा फरक भएन । राणा शासनको आतंकबाट जनतालाई मुक्त गर्न धर्मभक्तले वि.स.ं १९९३ मा आफ्नै घरमा नेपाल प्रजा परिषद्को स्थापना गरे । राजा त्रिभूवनको उपस्थितिमा काठमाडौँको लैनचौरमा प्रजा परिषद्को गोप्य बैठक बसिरहेका बेला उनीसहित धेरैजना पक्राउ परेका थिए । राणाहरूले वि.सं. १९९७ माघ १३ गते सिफलमा बकैनाको रुखमा झुन्ड्याएर उनको हत्या गरेका थिए ।

दशरथ चन्दको संगतबाट प्रजापरिषद्को सदस्यता लिएका गंगालाल श्रेष्ठ राणा शासन विरोधी गतिविधिमा सक्रिय भए । राणा विरोध गतिविधिमा सक्रिय भएकै कारण उनलाई वि.सं. १९९७ साल कात्तिक २ गते पक्राउ गरियो । वि.सं १९९७ माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटैबाटो लगि विष्णुमतिको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो ।

लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र यी सबै हाम्रा वीर सहिदहरूको उपलब्धी हो । आफ्नो जीवनलाई सौदामा राखी मुलुकलाई स्वतन्त्र बनाएका वीर सहिदहरू नेपालीको मनमा सधैँ अमर रहन्छन् । यी नै वीर सहिदहरूको सम्झना गर्दै नेपालमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *