स्नातक चौथो वर्षकाे परीक्षा तालिका परिमार्जन गर्न माग गर्दै नेविसंघद्वारा प्रदर्शन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विधानविपरीत स्नातक तह चौथो वर्षकाे परीक्षा तालिका सार्वजनिक गरेकाे भन्दै त्यसकाे विराेधमा नेपाल विद्यार्थी संघले परीक्षा नियन्त्रण कार्यालय बल्खुमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

उक्त तहकाे वार्षिक शैक्षिक ‘काेर्स’ हालसम्म पूरा नभएकाे र परीक्षा फारम भरिसकेकाे २ दिनपछि नै परीक्षा सञ्चालन हुने गरी तालिका प्रकाशित गरेकाे भन्दै उनीहरूले विराेध प्रदर्शन गरेका हुन् । याे विधानविपरीत रहेकाे उनीहरूकाे भनाइ छ ।

विश्वविद्यालयले २९ पुसदेखि २९ माघसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता (फाल्गुन ७)  सम्म दोब्बर दस्तुर हुने गरी आवेदन फारम खुलाएको थियो । फारम खुलेको हप्ता दिन पनि नहुँदै त्रिविले १० फागुनबाट परीक्षा सञ्चालन हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयले अशोभनीय, विधानविपरीत र त्रुटिपूर्ण रुपमा परीक्षा तालिका सार्वजनिक गरेको भन्दै नेपाल विध्यार्थी संघ स्नातक चौथो वर्षका विद्यार्थी  प्रदर्शनमा उत्रिएका हुन् ।

त्रिचन्द्र क्याम्पस, नेपाल कमर्स क्याम्पस, पाटन क्याम्पस र कोटेश्वर बहुमुखी क्याम्पसअन्तर्गतका नेविसंघका विद्यार्थीले संयुक्त ज्ञापनपत्रसमेत बुझाएका छन् ।

सामान्यतया त्रिविले परीक्षा फारम भरेको ३५ दिनपछि परीक्षा गर्ने गरेको भए पनि यो पटक परीक्षा फारम भर्ने अन्तिम मितिको ३ दिनपछिबाट परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरेपछि विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *