नेकपा एसमा गइदिए/आइदिए हुन्थ्यो भन्नेहरू धेरै छन् तर, म विचलित हुँदिनँ : भीम रावल (अन्तरवार्ता)

‘मैले गुटबन्दीमा विश्वास गरिन, एमालेको नीति र सिद्धान्तमा हिँडे तर मलाई कमजोर बनाउन खोजियो’

काठमाडौँ । २०७८ मंसिरमा भएको नेकपा एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि वैचारिक नेता डा. भीम रावल हाल एमालेको कुनै जिम्मेवारीमा छैनन् । एमालेको दसौँ महाधिवेशनमा विजय हासिल गरेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको निर्वाचनमा पनि रावललाई टिकट नदिएपछि उनी एमालेबाट एक्लिए । आफूले टिकट नपाएपछि ०७९ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा रावले एमालेलाई सहयोग नगरेको आरोप पनि छ ।

नेकपा एमालेका पूर्व महासचिव मदन भण्डारीको एउटा चर्चित भनाइ छ, ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् । तर अध्यक्ष ओली र रावलको भने २०७७ पुस ओलीले प्रतिनिधि सभा विघटन गरेको मितिदेखि हालसम्म पनि राम्रोसँग बोलचाल नभएको स्रोत बताउँछ । भण्डारीको भनाइको आशयसँग मिल्दोजुल्दो उनीहरूको चरित्र देखिएको छ । तर २०६५ सालमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनमा पूर्व झापाका ओली र पश्चिम अछामका रावल एउटै प्यानलमा थिए । पछि उनले समूह परिवर्तन गरेर ओलीको विपक्षमा लागे ।

हाल रावल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने लागेको हल्ला भन्ने कुराहरू चलिरहेका छन् । हुन् त एमाले अध्यक्ष ओलीले पार्टीमा हस्तक्षेप गरेको भन्दै आफू एमालेमा बस्नै नसकेको भनेर एमाले नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन् । यही कारण रावल पनि समाजवादीमा जान्छन् भन्ने धेरैले अड्कल काटिरहेको हुनसक्छ । यसैसन्दर्भमा रहेर उनै डा. रावलसँग मकालुखबरले ७ प्रश्न गरेको छ ।

१. एमाले अध्यक्ष केपी शर्मा ओलीले तपाईँप्रति धेरै उपेक्षा गरेर गैर जिम्मेवार बनाउँदा पनि तपाई एमालेमै बसिरहनु भएको छ । तपाईँको अबको तयारी के छ ?
मैले झन्डै ५ दशक लामो समयसम्म एमाले पार्टीको विकास, विस्तार एकीकरण गर्दै आए । त्यो कारण यो पार्टी सिद्धान्त र नीति विधि र कार्यक्रम चलोस् भन्ने मेरो प्रयत्न थियो । हालसम्म पनि यो मेरो प्रयत्न जारी छ । पार्टीमा इमानदार भएर लामो समयसम्म काम गरेको मान्छेलाई प्रतिनिधिसभामा उम्मेदवारी रोकियो । कम्युनिस्ट विराेधीहरु र आपराधिक पृष्ठभूमि भएकालाई उम्मेदवारी दिन लगाइयो । तर पनि म देश र जनताप्रतिको आफ्नो कर्तव्य भुल्ने छैन । देशको राष्ट्रिय राजनीतिमा के हुन्छ म हेर्छु । पार्टीले आफ्नो नीति र जनताको अगाडि गरेको वचन प्रतिबद्धता पुरा गर्ने कोसिस गर्छ गर्दैन म नियाल्छु । म जनताको पक्षमा काम गर्छु ।

२. तर तपाईँ नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै हुनुहुन्छ भन्ने कुराहरू आइरहेका छन्, जाने निधो भइसकेको हो ?
जुन व्यवहार मलाई नेकपा एमालेका अध्यक्ष लगायत उनी निकटले गरे त्यो भएको कारण त्यहाँ बस्ने अवस्था हुँदैन होला भनेर अनुमान गरेर भनेको हुनसक्छ । कतिपयले गइदिए आइदिए हुन्थ्यो भन्ने चाहेको पनि छन् । तर मसँग यो विषयमा कुनै ठोस कुरा, कुनै गम्भीर कुराकानी नै अहिलेसम्म भएको छैन । म देशको स्थितिप्रति गम्भीर छु । यो विषयमा सामान्य फोनमा मात्र कुरा भएको छ । नेकपा एसले मात्र होइन माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि निर्वाचन अगाडि देखिनै सहकार्य गरौँ । हामी साथ दिन्छौँ । तपाई उठ्नु भन्नुभएको थियो । यस्तै माधवकुमार नेपाल र झालनाथ खनालले पनि सहकार्य गर्ने विषयमा सामान्य फोनमा मात्र कुरा गर्नु भएको हो । उहाँहरूले पार्टीमा ल्याऊ भनेर कुरा चलाएको र हल्ला आएका होलान् । म जिल्ला गएको थिए १३ दिनपछि बिहीबार मात्र काठमाडौँ आएको हो । मलाई यो विषयमा जानकारी छैन ।

३. नेकपा एका अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झालनाथ खनालले तपाईँसँग यता आउनुहोस् भनेर भेटेको फोन गर्नु भएको छैन र ?
कुराकानी त निर्वाचन हुनुभन्दा अगाडि पनि फोनमा भएको हो । तपाई उठ्नुहोस् हामी पार्टीमा नआएपनि सहयोग गर्छौँ भन्नुभएको थियो । तपाई संसद्मा आउनुहोस् पार्टीमा आउनु पर्दैन पनि भन्नु भएको हो तर मैले धन्यवाद छ यो कुरामा म आफ्नो विषयमा अडिग भएकाले पदलाई महत्त्व दिएको छैन भने । फोनमा त अहिलेपनि कुरा हुन्छ । तर पार्टीमा जाने विषयमा बसेर कुनै छलफल भएको छैन । हाम्रो विचार आदानप्रदान भएको छैन । मैले लामो समयदेखि एमाले बनाएर जनताको नाममा काम गरेको छु । त्यो कारण म विचलित भएको छैन । नेकपा एसका युवा साथीहरू चाहिँ मलाई भेट्न आउनु भएको थियो । तर सामान्य खबर-खाबर र राजनीतिक घटनामा कुरा भयो ।

४. तपाईँ आफै लामो समय देश र जनताको पक्षमा काम गरेर आएको मान्छे म भनेर भनिरहनु भएको छ । एमाले पार्टीमा गुट चलाउन पनि सक्नु भएन ? एमालेमा तपाईँले गरेको हस्तक्षेप पनि चलेको छैन । साँच्चै भन्दा तपाई एमालेमा एक्लिनु भएको छ तर किन फेरि एमाले छाड्न चाहानुहुन्न ?
मैले गुटबन्दीमा विश्वास गरिन् । पार्टीको नीति प्रणालीमा विश्वास गरे । र पार्टी निर्माणमा विवेकशील भएर सुदूरपश्चिम जस्तो ठाउँमा विकास र विस्तारमा लागे । पार्टी निर्माण गर्दा पनि देशभर पार्टीको भलाइका लागि इमानदार भएर लागिरहे । मैले गुट बनाएको भए ओली भन्दा शक्तिशाली हुन्थे तर मलाई त्यता रहर भएन । पार्टी र देश भनेर काम गरे । यो विषयमा उल्टो हेरेर गुट बनाउनु पर्थ्यो । गुट नहुनेको ठाउँ छैन । यस्ता मान्छेले बोलेको कुरा पदका लागि हो भनेर कसैले भन्छ भने त्यो प्रतिशोधपूर्ण छ । यो भनेर मलाई कमजोर बनाउन खोजियो । म कम्युनिस्ट पार्टीको रक्षा र एमालेको रक्षा गर्ने निरन्तर लागेको छु । यो कुरा नेकपा एमालेको सिद्धान्तको रक्षा गर्ने सबैले ठिक ठानेका छन् । भरखरै आम निर्वाचन सम्पन्न भयो । कसको हालत के भयो भन्ने पनि हेरे । सरकार गठन भयो र कस्तो सरकार भयो भनेर पनि हेरियो । स्वार्थ पूर्ति गर्नेका लागि मन्त्रालयमा मन्त्रीहरू पठाएको पनि देखियो । सुशासनका कुरा गफ मात्र रहेछ भन्ने आवास भएका छ । सबै कुरा हेरिरहेको छु । मैले आत्तिएर हतार गरेर निर्णय गर्नुपर्ने केही देखेको छैन । म देशभित्र र बाहिर भएका सरकारका गतिविधिहरू निकटबाट हेरिरहेको छु । देशको राष्ट्रिय हित विपरीत स्वार्थमाथि धक्का लाग्नेगरी राजनीतिक दल उद्देश्य हीन गन्तव्य हीन र लक्षहीन भएर अवसरवादी चरित्र देखाइरहेका छन् यो नेपालको संविधानको धारा २०७९ को उल्लङ्घन हो । यो कारण म चिन्तित छु र चिन्ता लाग्दो रहेछ । यो सन्दर्भमा मेरा एमालेका अन्य साथीहरूसँग सामान्य छलफल भएकै छ । एमालेका केही साथीहरूले साथ दिनु भएकै छ । यो सबै कुरालाई हेरेर उपयुक्त समयमा कस्तो स्थिति आइपर्छ अनि म अगाडि बढ्छु ।

५. लामो समय एमालेमा विद्रोह गरेपनि केही सिप नलागेर तपाईँकै सहयात्री घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरिसक्नु भएको छ । उहाँले एमाले अध्यक्ष ओली बाहेक कसैको एमालेमा तागत नचल्ने भन्दै आरोप पनि लगाउनु भएको छ । के एमाले यस्तै भएको हो र ओलीको ठाडो आदेश मात्र चल्छ है एमालेमा ?
घनश्याम जी त थाई कमिटीको सदस्य पनि हुनुहुन्थ्यो । महाअधिवेशनपछि उहाँले कस्तो स्थितिको सामना गर्नुभयो त्यो कुरा उहाँलाई बढी थाहा छ । मैले बारम्बार भन्ने गरेको छु नेकपा एमालेले जसरी विगतबाट राष्ट्र, जनता, सिद्धान्त, कार्यक्रम, नीति, विधि र प्रतिविद्धतामा प्रहार गरेको कुरा सबैमा जायज छ । यो नेतृत्वको कमजोर र मपाईँ हो । धेरै कुराहरू ओझेलमा परेका छन् । एमालेले आफ्नो नीति र सिद्धान्तको ट्याक बिर्सिएको सबैलाई महसुस भएको छ । यसलाई सुधारेर जानुपर्छ । कसैको एकलौटी शासन गर्ने थलो एमाले पार्टी होइन । नेतृत्व सुध्रिन आवश्यक छ । यो पटकको निर्वाचनमा पनि देखियो नि कहाँ कहाँ के के भयो भनेर ।

६. भीम रावलको हस्तक्षेप र चरित्रका कारण सुदूरपश्चिममा एमाले कमजोर भयो भन्छन् नि ! यो पटको निर्वाचनमा तपाईँले आफ्नै पार्टीलाई पनि भोट माग्नु भएन है ?
मलाई जनताको बिचमा जान रोक्ने अनि कमजोर भयो भन्ने । मलाई बाहिराएको कारण नेकपा एमालेको ठुलो पङ्क्ति दुखी भएको हुनुपर्छ । त्यो पङ्क्तिले पटक पटक आवाज पनि उठाउँदै आएको छ । मेरो अनुपस्थितिले जनता निराश भएका छन् । यो कुरा सबैले विश्लेषण गरेका छन् । भोट मागिनस् भनेर मलाई किन भन्न सक्दैनन् एमाले नेतृत्वले ।

७. उसो भए तपाई एमालेमै बसेर फेरि अर्को महाधिवेशनमा लड्ने तयारी हो ?
नेपालको राजनीतिमा कल्पनै नगरिएको घटनाहरू हुन सुरु भएका छन् । नेकपा बन्दा जनताहरू उत्साहित थिए । तर ३ वर्षमा ढल्यो । यसको मुख्य अधिकार पार्टी जोगाउनेलाई दिन बिर्सिएर हो । अहिले तीनै व्यक्ति पुन: एक ठाउँमा हुनुहुन्छ । यस्तो खालको राजनीति भएको देशमा ४ वर्ष भनेको धेरै टाढा हो । के हुन्छ हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *