उपसभामुखमा भुईँ मान्छे

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा राना मगर विजयी भएकी छिन् । शनिवार प्रतिनिधिसभामा भएको मत विभाजनमा रानाको पक्षमा १६६ सांसदको मतसहित उनी उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।

प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार रहेकी रानाले १६६ मत प्राप्त गरेकी हुन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे । इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत सत्तारुढ गठबन्धनका दलहरूले मतदान गरेका थिए । कांग्रेसको तर्फबाट उम्मेदवार मुक्ताकुमारी यादवले भने ९७ मत प्राप्त गरिन् । बैठकमा २६४ सदस्य उपस्थित थिए ।

इन्दिराकै शब्दमा उनी ‘भुईँ मान्छे’ हुन् । उपसभामुखमा निर्वाचित भएपछि उनले भनेकी छन्, ‘म सधैँ सडकमा कराइरहने भुईँ मान्छे सबैको साथ पाएर यो ठाउँमा पुग्न लागेकी छु, भुईँ मान्छेकै पक्षमा निर्णायक भूमिका खेल्नेछु ।’

इन्दिरा कैद भुक्तान गरिरहेका आमासँगै कारागार पुगेका तथा त्यहीँ जन्मिएका बालबालिकाको शिक्षादीक्षामा काम गर्दै आएकी महिला हुन् । उनलाई बीबीसीले सन् २०१७ का लागि छानिएका विश्वका सय प्रेरणादायी महिलाको सूचीमा राखेको थियो । उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष हुन । बन्दी सहायता नेपालले आमासँगै कारागार पुगेका वा त्यहीँ जन्मिएका बालबालिकाको शिक्षा र संरक्षणको काम गर्दै आएको छ ।

उनको यही कार्यलाई उच्च प्रशंसा गर्दै बीबीसीले विश्वका ६० प्रेरणादायी तथा सृजनशील महिलाभित्र इन्दिरालाई राखेको थियो । त्यसबेला बीबीसीले उच्चपद प्राप्ति, महिला निरक्षरता, सडक दुर्व्यवहार र खेलमा लैङ्गिक विभेदका क्षेत्रका काम गर्ने गरी चार शीर्षकमा प्रेरणादायी महिलाको छनौट गरेको थियो । उक्त सूचीमा लाइबेरियाकी राष्ट्रपति एलेन जनसन सर्लीफ, अन्तरिक्षयात्री पेगी ह्वीट्सन्, इन्गलण्डका फुटबल खेलाडी स्टेफ हग्टन, कलाकार तथा कवयित्री रुपी कौर र एसिड आक्रमणबाट बच्न सफल रेशम खान लगायत परेका थिए । उनै इन्दिरा नेपाललागि उच्च पद प्राप्त गर्न समेत सफल भएकी छन् ।

गत ४ मंसिरको आम चुनावको केही महिना अगाडि मात्रै खुलेको रास्वपाले उनको नाम समानुपातिक सूचीमा राखेको थियो । रास्वपाले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १२ सिट जित्यो । उक्त १२ जनामध्येमा पर्दै संघीय सांसद भएकी इन्दिराले उपसभामुखको उम्मेदवार बन्ने अवसर प्राप्त गरेकी हुन् ।

२०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिराले समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन् । काठमाडौँको नयाँ बजारको बाल आवासगृहमा २८, साँखुमा ८६ र झापाको खुदुनाबारीस्थित बालगृहमा १० बालबालिकाको लालनपालन गरिरहेकी उनले ती बालबालिकाका लागि जूनकिरी नामका दुई वटा प्राथमिक स्कूल पनि चलाएकी छन् । साँखुको जूनकिरी र खुदुनाबारी दुबैमा डेढ÷डेढ सय बढी सय बालबालिका अध्ययनरत छन् ।

इन्दिराले पाल्पा र भक्तपुरमा यूथ होम पनि खोलेकी छन् । आवासगृहमा ठूलाले साना बालबालिकाको हेरचाह गर्ने नियम बसाएकी छन् । ठूला दुईको भागमा साना पाँच जना तोकिएको छ । कर्मचारी नपुगेर नभई बालबालिकालाई जिम्मेवार बनाउन र पारिवारिक माहौल सिर्जना गर्न यसो गरेको इन्दिरा बताउँछिन् ।

ठूलालाई आफ्नो खुट्टामा उभिन सजिलो होस् भनेर पेन्टिङ, सिलाई-बुनाई, कृषि जस्ता आयमूलक काम पनि सिकाउने गरेकी छन् । इन्दिराले कारागारका वयस्क बन्दीहरूलाई पनि सहयोग गरिरहेकी छन् । सरकारले एक शिक्षक दिएको काठमाडौँको महिला कारागारभित्रको प्राथमिक विद्यालयमा इन्दिराले तीन शिक्षकको व्यवस्था गरेकी छन् ।

बाबुआमाको अपराध प्रमाणित भएपछि कारागार पुगेका निर्दोष बालबालिकाको अभिभावकत्व लिएर सीएनएन हिरो बनेकी पुष्पा बस्नेत पनि शुरुमा इन्दिराकै संस्था पिए, नेपालमा स्वयंसेवक थिइन् । उनले इन्दिराकै रोहबरमा कारागारबाट तीन जना बालबालिका लगेर प्रारम्भिक बाल विकास केन्द्र आरम्भ गरेकी हुन् । अर्थात्, इन्दिरा आफैँले जन्माएकी छोरी मात्र नभएर सयौँको ‘आमा’ बनेकी छन् । सयौँले आमा भनेर बोलाउँदा संसार जितेको अनुभूति हुने बताउने इन्दिरा उपसभामुख जस्तो राज्य सञ्चालनको उच्चतम थालोमा पुगेकी छन् । अभावपूर्ण बाल्यकाल बिताएकी इन्दिरा ११ वर्षमा एकैचोटि पाँच कक्षामा भर्ना भएकी थिइन् । २०५३ मा स्नातक गरेर समाजसेवामा लागेकी इन्दिराले अब  राज्य सञ्चालनको उच्च तहबाट सेवा गर्नुपर्नेछ ।

उपसभामुख, सभामुख नहुँदा सभा चलाउने पद मात्रै होइन, संवैधानिक परिषद्को सदस्य भएर विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिको निर्णय लिने पद पनि हो । यसकारण यो पदलाई राजनीतिक रूपमा पनि उत्तिकै महत्त्वपूर्ण रूपमा हेरिन्छ । यस पदको गरिमालाई ख्याल गरेर काम गर्ने इन्दिराको प्रतिबद्धता छ । उपसभामुख निर्वाचित भएपछि सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै इन्दिराले सभामुखसँग मिलेर काम गर्ने र संविधानले दिएको भूमिका तटस्थ रूपमा निभाउने बताइन् । पार्टीमा आफूलाई सबैले आमा भन्ने गरेको भन्दै उनले भनिन्, ‘आजबाट ठूलो परिवारमा भित्रिएको छु । तटस्थ र इमानदारिताका साथ भूमिका निभाउँछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *