सभामुखको चुनौती : आफ्नै व्यवहार

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।  प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १००  मत प-यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरे पुराना कम्युनिस्ट नेता नेता हुन् ।

गत चुनावमा पहिलो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन पाएका थिए, चुनाव जिते । चुनाव जितेपछि उनले एक पटक पनि प्रतिनिधिसभाको रोष्ट्रम प्रयोग गर्ने अवसर पाएनन् । सिधै सभामुखको उम्मेदवार भएका उनी निर्वाचित भए । प्रतिनिधिसभा सदस्यको चुनाव जितिसकेपछि उनी प्रतिनिधिसभाको वेलमा पुगे । कारण वेल हुँदै आफ्नो सिटमा जानुपर्छ ।

तर, अब उनी सिधै सभामुखको आसनमा पुगेका छन् । घिमिरे ४ मंसिरमा सम्पन्न आम चुनावमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका हुन् । एमाले प्रदेश–१ इञ्चार्ज रहेका घिमिरे पहिलो पटक प्रतिनिधिसभा सदस्य भए पनि राष्ट्रिय सभा सदस्य भने २०५६ सालमै भएका थिए । घिमिरे झापामा एमालेलाई स्थापित गर्न लामो समय काम गरेका नेतामध्ये पर्छन् ।

६६ वर्षीय घिमिरे वि.सं. २०३१ सालदेखि राजनीतिमा छन् । झापा विद्रोहपछि नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएको बताउँछन् । २०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ–गाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटिए । घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए ।

२०३५ साल पुस ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक भए । २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख भए । २०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरण पछि सम्पन्न नेकपा (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य थिए । २०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज भए । २०५८ सालमा केन्द्रीय विभाग अन्तर्गत स्वास्थ्य विभागको इन्चार्ज । त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्ज भएर काम गरे ।

२०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्ष भए । २०७८ सालमा सम्पन्न नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज भएर काम गरे ।  बिहीबार प्रतिनिधिसभाको सभामुखकै जिम्मेवारी प्राप्त गरेका छन् । उनी आफूले विगतमा धेरै राजनीतिक त्याग गरेको र त्यसको सफलता प्राप्त गरेको बताउँछन् ।

भूमिगत कालमा २०३५ साल देखि २०४६ साल सम्म संगठन र नेतृत्व गरेका जिल्लाहरु तेह्रथुम, पाँचथर र इलाम आजसम्म कम्युनिष्टको मजबुत संगठन सहितको किल्लाको रुपमा स्थापित भएका थिए । त्यसकै जगमा २०४८ सालमा भएको आम निर्वाचनमा इलाम जिल्लामा आफू पाएको टिकट अर्को नेतालाई प्रदान गरेर पार्टीको जीत निश्चित गर्न आफूले त्याग गरेको घिमिरे बताउँछन् । त्यसको परिणाम आफ्नो क्षेत्रमा पार्टी लगातार विजयी भएको भएको घिमिरेलाई लाग्छ ।

२०५४ सालमा मेची अञ्चल इन्चार्ज भएको बेला सम्पन्न स्थानीय चुनावमा मेची अञ्चलका सबै जिल्ला विकास समिति र तीन चौथाइ भन्दा बढी स्थानीय तहहरूमा पार्टी जिताउन सफल भएको, प्रदेश नं एक इन्चार्ज भएको बेला २०७९ सालमा सम्पन्न स्थानीय चुनावमा प्रदेश नं एकमा पाँचदलीय गठबन्धनको घेरा तोड्दै कुल ५८६४ जनप्रतिनिधि मध्ये सबैभन्दा धेरै २६८५ प्रतिनिधिहरू नेकपा एमालेबाट विजयी गराउन सफल भएको लाई पनि उनले आफ्नो सफलतामा राखेका छन् ।

२०७९ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रत्यक्ष तथा समानुपातिक दुवै चुनावमा प्रदेश नं १ मा नेकपा एमाले पहिलो दल बनाउन सफल भएको, २०७९ सालको चुनावमा हाल सम्मको इतिहासमा कहिल्यै नजितेको सोलुखुम्वु जिल्लामा ५ दलीय गठबन्धनलाई हराउँदै नेकपा एमालेलाई विजयी गराउन सफल भएको, पहिलो पटक झापा क्षेत्र नं २ बाट उम्मेदवार बन्दा पाँच दलीय गठबन्धन स्वतन्त्र लगायत सबैको घेरा तोडेर प्रतिनिधि सभा तथा प्रदेश सभाका दुवै स्थानमा सानदार जीत निकाल्न सफल भएको पनि घिमिरेको सफलताका कथा हुन् । मदन भण्डारी फाउण्डेसनको कार्यालय प्रमुख भएर फाउन्डेसनको विस्तार र विकास समेत योगदान गरेका घिमिरेले त्यसबापत्त सभामुखको जिम्मेवारी पाएका छन् ।

नेताहरूका अनुसार आफ्ना विचारहरू स्पष्ट रुपमा राख्ने, पार्टी अनुशासनलाई आत्मसात गर्ने, पार्टी नेतृत्वको विश्वास पात्र, सबैसँग सम्मानपूर्ण व्यवहार गर्ने, प्रचार प्रसार भन्दा वढी काममा केन्द्रित हुने र पार्टीले दिएको जस्तो सुकै जिम्मेवारी पनि सहज रुपमा वहन गर्ने घिमिरेका स्वभाव हुन् । यही स्वभावले सभामुख भएको बताउने घिमिरे सभामुखको मर्यादा कायम गर्ने बताउँछन् ।

प्रधानमन्त्री हुँदा आफू अनुकूल सभामुख बनाउन नसक्दा महत्त्वपूर्ण राजनीतिक निर्णयमा प्रतिनिधिसभाको साथ नपाएको गुनासो गर्दै आएका एमाले अध्यक्ष ओलीले यसपटक आफ्ना विश्वास पात्र घिमिरेलाई सभामुख बनाएका छन् ।

२०७६ वैशाखमा नयाँ वानेश्वर स्थित लोत्सेहलमा भएको संसदीय दलको बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदीय समितिले असहयोग गरेको टिप्पणी गरेका थिए । संसदीय समितिको दायित्व सरकारलाई सहयोग गर्नु रहेको उनको टिप्पणी थियो । संसदीय समिति सरकारको चाहना अनुसार चल्नुपर्ने मनसाय व्यक्त गरेको भनी त्यसबेला ओलीको आलोचना भएको थियो । आलोचना हुनुको पृष्ठभूमि थियो- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले खोलेको विज्ञापन रोक्न भनेको थियो । तर, विज्ञापन रोक्न चाहँदैनथ्यो ।

विगतमा स्वयम संसद र संसदीय समिति मातृ पार्टीको माया र सरकारको छायामा परेका अन्य धेरै उदाहरण छन् । कांग्रेस सरकारमा गएको १६ महिनासम्म प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक ६ पटक पनि बसेन । जबकि, सरकारको मुख्य निगरानी गर्ने समितिका रुपमा लेखा समितिलाई लिइन्छ । लेखा समितिको बैठक नबस्नुको कारण लेखा समितिको सभापतिमा कांग्रेस भरत शाह थिए । आफ्नो मातृ पार्टी र मातृ पार्टीको सरकारलाई असहयोग हुने डरले उनले बैठक नै नरहेको स्वयम समितिका सदस्यहरुले टिप्पणी गरेका थिए ।

सभामुख नै मातृ पार्टीको निर्देशनमा चलेको आरोप र दृष्टान्त पनि छन् । नेकपा एमालेले आफ्ना १४ जना सांसदलाई कारबाही गरेको पत्र तत्कालीन सभामुख अग्नि सापकोटाले तुरुन्तै टाँस नगर्दा आफ्नो पार्टी फुटेको भनी एमालेले विगतमा ९ महिनासम्म संसद अवरोध गरेको थियो । कसैको सन्दर्भमा सांसदहरूमाथि भएको कारबाही तुरुन्तै सदर गर्ने र कसैको सन्दर्भमा नयाँ पार्टी खोल्ने अवसर दिने समय दिने गरी सापकोटाले भूमिका खेलेका थिए । स्वम सभामुख सापकोटाले आफूले प्राप्त अधिकारको प्रयोग गरेको तर्क गर्दै एमाले सांसदहरुमाथिको कारबाहीमा ढिलो गरेको स्वीकार गरेका थिए ।

अर्थात्, नवनिर्वाचित सभामुखको चुनौती फेरिपनि आफ्नै गरिमाको छ । संसदीय अभ्यासमा रहेका र अनुभवीलाई पन्छाएर २५ वर्षपछि संसद फर्किएका र आफ्ना विश्वास पात्र घिमिरेलाई ओलीले अघि सार्नुले सभामुखमा निर्वाचित भइसकेपछि देवराजले निष्पक्षता र तटस्थातको प्रतिक मानिने सभामुखको जिम्मेवारी निर्वाह गर्छन् कि दलीय छाया बन्छन् भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

तर, घिमिरेले विगतबाट शिक्षा लिँदै संसद्लाई चुस्त बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । ‘म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु । प्रतिनिधिसभाको प्रतिनिधित्व ठिक ढंगले गर्नेछु । विगतका सभामुखहरूको कामबाट शिक्षा लिँदै संसद्लाई चुस्त बनाउन लाग्नेछु ।’ सभामुख घिमिरेको प्रतिबद्धता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *