पोखरा म्याराथनको अपनत्व महानगरले लिने, विभिन्न देशका खेलाडी बोलाउने महानगरको तयारी

पोखरा । १७ औँ संस्करणको तयारीमा रहेको पोखरा म्याराथनको अपनत्व पोखरा महानगरले लिने मेयर धनराज आचार्यले बताएका छन् ।

नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दै आएको म्याराथन सफल बनाउन यसपालि महानगरले पनि अपनत्व ग्रहण गर्ने उनले बताए । ‘पोखरा म्याराथन पोखरा महानगरको आफ्नै कार्यक्रम हो । यसलाई सफल बनाउन पोखरा महानगरले सहकार्यसँगै आवश्यक कार्यहरू पुरा गर्नेछ,’ उनले भने ।

महानगरसँग भगिनी सम्बन्ध रहेका विभिन्न देशका खेलाडीहरूलाई निमन्त्रणा गर्ने र नेपालका अन्य शहरहरुका मेयरहरूलाई समेत निमन्त्रणा गर्ने मेयर आचार्यले जानकारी दिए ।

१७ औँ सफल पोखरा म्याराथन आगामी फागुन ६ गते शनिबार हुँदैछ । पोखरा रंगशालाबाट सुरु हुने म्याराथनले पोखरा महानगरका १ देखि १७ नम्बर वडाहरूमा छुन्छ । पोखरा म्याराथन अन्तर्गत ४२.१९५ किमी, २१ किमी (हाफ म्याराथन), १० किमी, ५ किमी, ह्विल चियर र दृष्टिविहीन दौड हुनेछन् । पोखरा म्याराथन खुलातर्फ यस वर्ष ५ लाख नगद पहिलो पुरस्कार तोकिएको छ ।

मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरामा खेल संस्कृतिको विकास एवं प्रवर्द्धन गर्न पोखरा म्याराथनले महत्त्वपूर्ण भूमिका खेलेको बताए । यो वर्ष पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता समेत पाएको छ । त्यसैले यसको अन्तर्राष्ट्रिय प्रचार सुरु भैसकेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय धावकहरूले समेत सहभागिताका लागि चासो दिन थालेका गुरुङले सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *