राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति अनुदार गणतन्त्र पुनः उदार देखिँदै

गणतन्त्र स्थापनापछि कट्टर गणतन्त्रवादी नेता प्रचण्डकै सरकारले सुरु गर्यो पुनः पृथ्वी जयन्ती मनाउन

काठमाडौँ । नेपालमा बर्सेनि पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । यो पटकको जन्मोत्सव पृथ्वीनारायण शाहको ३ सय औँ जन्मोत्सव हो । यस दिन उनले नेपाल एकीकरणका लागि गरेको योगदानको सम्झना गर्दै देशभर राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

नेपालमा पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउने प्रचलन वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि योगी नरहरिनाथले पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेपछि मनाउन थालिएको हो ।

नेपालमा संवैधानिक राजतन्त्र रहँदासम्म राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै उनको जन्म जयन्तीमा पुस २७ गते सार्वजनिक समेत सार्वजनिक बिदा दिने गरिएको थियो । तर, २०५८ सालमा राजा वीरेन्द्रको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएपछि देशका राजा ज्ञानेन्द्र बने । ज्ञानेन्द्रले सासन सत्ता आफ्नो हातमा लिएर प्रत्यक्ष शासन सञ्चालन गर्न थालेपछि आम जनता राजसंस्थाको विरुद्धमा देखिन थाले । अघिदेखि नै गणतन्त्रको माग गर्दै आएको नेकपा माओवादीले राजासंस्थालाई निरंकुश तानाशाही व्यवस्थाको रुपमा परिभाषित गर्न थाल्यो । तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमदल दाहाल प्रचण्डको नेतृत्वमा भएको सशस्त्र युद्धको बलमा २०६२/६३ मा राजसंस्था अन्त्य र गणतन्त्रका लागि आन्दोलन भयो । उक्त आन्दोलनमा राजतन्त्रबारे त नकारात्मक भावना फैलाइयो नै, देशलाई एकीकरण गर्ने र राष्ट्र र राष्ट्रियताको सम्बर्द्धन गर्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, महेन्द्र शाह र वीरेन्द्र शाहकै बारेमा पनि नकारात्मक भ्रमहरु सिर्जना गरियो । यसले गर्दा आन्दोलनताका यी राजाहरुको शालिकहरु समेत ठाउँठाउँमा तोडफोड गरियो । पृथ्वीनारायण शाहको जन्मजन्यन्ती पुस २७ गते बिदा दिन छोडियो । उक्त जयन्ती मनाउन पनि छाडियो ।

संयोग नै मान्नुपर्छ, गणतन्त्रका उनै उठानकर्ता पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री भएपछि यो वर्षदेखि राष्ट्रिय एकता दिवस मनाउन थालिएको छ ।

राजतन्त्रवादी राष्ट्रिय प्रजान्त पार्टीको समेत समर्थन प्राप्त यो सरकारले आफ्नो गठबन्धनको सहयात्री दल राप्रपा र आम जनताको भावनाको कदर गर्दै पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताको रुपमा फेरि स्वीकार गरेको छ । त्यतिमात्रै होइन, गणतन्त्र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसमेतले सिंहदरबारअघि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उनको योगदानलाई कदर गरेकी छन् ।

यसकारण राष्ट्र निर्माता र राष्ट्रपिता हुन् पृथ्वीनारायण शाह

पृथ्वीनारायण शाहको जन्म वि.सं. १७७९ पौष २७ गते गोरखा जिल्लामा भएको थियो । वि.सं. १७९९ मा यिनी गोरखाका राजा भए । १८०१ देखि नेपाल राज्यको अभियानमा जुटेका यिनले १८२६ मा काठमाडौँ उपत्यकालाई आफ्नो अधीनमा पारे । यिनको अधिकांश समय नेपाल एकीकरणको अभियानमा बित्यो । १८३१ माघे सङ्क्रान्ति दिन गोरखातिर जाँदै गर्दा बुढीगण्डकीको किनारमा यिनको निधन भएको थियो ।

पृथ्वीनारायण शाह नेपालका राष्ट्रपिता हुन् । उनले देशलाई शत्रुबाट बचाउन स–साना राज्य भएको नेपालमा एकीकरणको थालनी गरेका थिए । गोरखा दरबारमा जन्मेका पृथ्वीनारायण शाहले राजसी सुविधाको भोग नगरी आफ्नो जीवनकाल नै एकीकरणका लागि समर्पित गरेका थिए । यही कुरालाई संकेत गर्दै उनले भनेका थिए, ‘मेरा साना दुःखले आर्ज्याको मुलुक होइन यो चार जात छत्तिस वर्णको साझा फूलबारी हो सबलाई चेतना भया ।’

वास्तवमा नै नेपाल बहुजाति, बहुभाषिक भएको सुन्दर फूलबारी हो । पृथ्वीनारायण शाहको अथाह बलिदानले गर्दा नै आज सिङ्गो नेपाल विश्वसामु उभिन सफल भएको छ । उनका कतिपय भनाइहरू अहिले पनि उस्तै सान्दर्भिक छन् ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण मात्र नभएर राज्य सुरक्षा र आर्थिक समृद्धिका लागि पनि उत्तिकै योगदान गरेका थिए । देशलाई जासुस, शरणार्थी, हत्यारा आदिबाट जोगाउनका लागि उनले तत्कालीन समयमा राज्य सुरक्षाकै लागि विभिन्न भन्ज्याङहरूमा तोप तयारी राख्नेगरी फलामे ढोकाहरू निर्माण गर्न निर्देशन दिएका थिए ।

देशको सुरक्षासँगसँगै आर्थिक समृद्धिलाई पनि जोड दिएका उनले मुलुक गरिब भयो भने सुरक्षित हुँदैन भन्ने मान्यता राख्दथे । उनले विदेशी व्यापारीहरू नेपाल प्रवेश गरे भने नेपाललाई मरुभूमि बनाउँछ भनेर विदेशी कपडा लगाउन बहिष्कार गर्न सल्लाह दिएका थिए । स्थानीय सम्पत्ति देश बाहिर जान नदिन उनले स्थानीय मानिसहरूलाई कपडा बुन्न प्रशिक्षण समेत दिए । देशभित्रको पैसा बाहिर जान दिनुहुँदैन भनेर नेपाली जडीबुटीलाई विदेश भूमिमा बेच्न र प्राप्त रकमलाई देशमा फिर्ता ल्याउन उनले जोड दिए ।

पृथ्वीनारायण शाहले नेपाललाई एउटा सुन्दर र सक्षम राज्य बनाउन चाहन्थे । तर अहिले देशको अवस्था यसको ठिक विपरीत छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता हाम्रा देशका अनेकौँ सीमाहरूमा विदेशीको आँखा लागेको छ । दिन प्रति दिन हामी परनिर्भरता भइरहेका छौँ । हाम्रा दाजु भाइहरूले दुःख गरेर भित्र्याएका रेमिट्यान्स पनि विलासी बस्तुहरूको खरिदले विदेशमै फर्किरहेको छ । हामी आफैँ पनि स्थानीय उत्पादनलाई छाडेर विदेशी सामानको प्रयोग गरिरहेका छौँ । देशमा भएका उद्योगहरू बन्द हुने अवस्थामा छन् । कति त बन्द भइसके । हामी आफ्नै देश विकाश गर्नका लागि विदेशीको लगानी र सहयोगको प्रतीक्षा गर्छौं ।

देशलाई शत्रुहरूबाट बचाउन, सुरक्षा, सक्षम र आत्मनिर्भरका लागि पृथ्वीनारायण शाहजस्तै व्यक्तित्वको आवश्यकता देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *