मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्रीबीच भेटबार्ता, प्रदेशलाई प्रभावकारी बनाउन छलफल

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मुख्यमन्त्रीमा नियुक्त भएसँगै पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । उनी मंगलबार काठमाडौँ गएका हुन् ।

भेटका क्रममा प्रदेशलाई बलियो र प्रभावकारी बनाउनका लागि छलफल गरिएको उनले बताए । ‘अहिले प्रदेशमाथी प्रश्न उठेको छ । यसलाई प्रभावकारी बनाएर कामबाट जवाफ दिनुपर्ने छ,’ उनले भने, ‘प्रदेशको समग्र विकास निर्माण र स्थायित्वका विषयमा छलफल गरें ।’ उनले प्रदेशको स्थायी संरचना निर्माणमा पनि संघ सरकारको ध्यानाकर्षण गराएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले पनि प्रदेशलाई बलियो बनाउन विषयमा सकारात्मक प्रतिक्रिया दिएका अधिकारीको भनाई छ । मकालुखबरसँग कुरा गर्दै अधिकारीले भने, ‘संघीयतालाई संस्थागत गर्न उहाँको प्रतिक्रिया निकै सकारात्मक छ । मैले केही योजनाहरुबारे पनि ध्यानाकर्षण गराएको छु,’ उनले भने, ‘अव प्रदेशको औचित्य कामबाट मात्रै पुष्टि गर्न सकिन्छ भन्नेमा हामी एकमत भयौँ ।’

अधिकारी सोमबार ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । सोही दिन उनको शपथ र पदबहाली भैसकेको छ । अधिकारीले २९ गते विश्वासको मत लिने तयारी गरेका छन् । केन्द्रमा कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएपछि प्रदेशमा पनि आफूले कांग्रेससँग आग्रह गर्ने बताए । ‘कांग्रेससँग म आग्रह गर्छु । मिलेर मात्रै प्रदेशको विकास हुन सक्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *