रामचन्द्रलाई राष्ट्रपति बनाउने आशमा प्रचण्डलाई कांग्रेसको समर्थन !

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संविधानको धारा ७६ को उपधारा २ अनुसार संसदबाट विश्वासको बहुमत प्रमाणित गरेका छन् । २७५ सदस्यीय संसदमा जम्मा दुई सांसदबाहेक अन्य सबैको समर्थन रहने गरी उनेले २६८ सांसदको विश्वासको मत पाएका छन् । यसबाट जम्मा २ जना सांसदमात्र प्रतिपक्षीको भूमिकामा हुने भएका छन् । यसले राजनीतिक वृत्तमा ठुलै हलचल पैदा गरेको छ ।

सरकार गठनका बेला प्रचण्डलाई समर्थन नगरी प्रतिपक्षमा बसेको कांग्रेस एकाएक प्रचण्डलाई विश्वासको मत दिन पुग्नुको कारण के हो ? यो धेरैको जिज्ञासाको प्रश्न बनेको छ । आखिर विश्वासको मत माग्दै सोमबार बेलुका शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका प्रचण्डले देउवालाई के त्यस्तो आश्वासन दिए, जसले दह्रो प्रतिपक्षीको भूमिका निर्वाह गर्ला भनी ठानिएको नेपाली कांग्रेस पनि सत्ता पक्ष वा सरकारको समर्थक बन्न पुग्यो ।

कांग्रेसकै एक शीर्ष नेता भन्छन्– ‘राष्ट्रपति कांग्रेसले पाउने सहमति भएपछि प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको हो ।’

बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २९ फागुनमा सकिँदैछ । सोपछि राष्ट्रपति बन्न धेरैको नाम चर्चाका आएको छ । प्रचण्ड नेतृत्वको सरकार गठनमा महत्त्वपूर्ण भूमिका खेलेको सात दलीय गठबन्धनको एउटा दल नेकपा एमालेलाई राष्ट्रपति दिने सर्त थियो । एमालेबाट राष्ट्रपतिमा उपाध्यक्ष सुवास नेम्वाङको नाम चर्चामा छ । नेम्वाङले पनि आफू राष्ट्र बन्न इच्छुक रहेको बताउँदै आएका थिए ।

तर सोमबार साँझ देउवा निवासमा भएको प्रचण्ड–देउवाबीचको भेटपछि मंगलबार संसदको परिदृष्य परिवर्तन भयो । कांग्रेस सम्पादन समितिका एक सदस्यका अनुसार राष्ट्रपति कांग्रेसले पाउने भएपछि प्रचण्डलाई मंगलबार विश्वासको मत दिइएको हो ।

ती कांग्रेस शीर्ष नेताले भने , ‘हामीले प्रचण्डलाई विश्वासको मत दिएको यतिकै होइन । हाम्रो सभामुखमा दाबी पुग्दैन र हामी दाबी पनि गर्दैनौँ । तर हाम्रो राष्ट्रपतिमा दाबी छ । यो कुरा हामीले प्रधानमन्त्रीसँग राखेरै विश्वासको मत दिएका छौँ ।’

सम्भावना कति छ राष्ट्रिय सहमतिमा सरकारको ?

मंगलबारको संसद बैठकमा कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिए पनि आफू प्रतिपक्षी नै भएको बताइरहेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार आफूलाई विश्वासको मत माग्दै कांग्रेस लगायतका दललाई राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह गरेका थिए । संसदमा ठुलो प्रतिपक्षी दल सत्ता पक्ष बनिसकेको र जम्मा २ वटा दलका २ सांसद प्रतिपक्षमा रहेको अवस्थामा यो सरकार नै राष्ट्रिय सहमतिको सरकार जस्तो देखिइसकेको छ ।

प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट विश्वासको मत दिएका छ । त्यस्तै, स्वतन्त्र सांसद अमरेश सिंह र योगेन्द्र मण्डलले पनि विश्वासको मत दिए।

जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले मात्रै आफूहरूले विश्वासको मत नदिई प्रतिपक्षीमा बस्ने बताए ।

नेपाली कांग्रेसले राष्ट्रपति लिने सर्तसहित राष्ट्रिय सहमतिकै सरकार बनाउन प्रचण्डलाई विश्वासको मत दिएको नेकपा माओवादीका एक शीर्ष नेताले स्वीकार गरे ।

ती नेताले भने, ‘राष्ट्रपति कांग्रेसले पाउनु र दाबी गर्नु स्वाभाविक कुरा हो । उहाँहरूले विश्वासको मत दिएर राष्ट्रिय सहमतिमा सरकार बनाउनु भएको छ ।

‘हामीलाई साथ दिनुभएको छ हामीले पनि उहाँलाई साथ त दिनु पर्छ नि । यो विषयमा छलफल हुन्छ । हामीलाई हतारो छैन ।’

खुल्ला त रामचन्द्रको भाग्य ?

पटक पटक नेपाली कांग्रेस सरकारमा पुग्दा पनि अवसर नपाएका रामचन्द्र पौडेललाई कांग्रेसले राष्ट्रपति अगाडि सारेको छ । नेपाली कांग्रेका एक शीर्ष नेताका अनुसार प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपति पठाउने भएको छ । ती नेताले मकालुखबरलाई दिएको सूचना अनुसार प्रधानमन्त्री प्रचण्ड र देउवाबिच रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने कुरामा भित्री सहमति भएर नै प्रचण्डलाई भोट हाल्न कांग्रेसका नेता सहमत भएका हुन् ।

पौडेल तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका छन् । पौडेलले राष्ट्रपति पाउने भएपछि सो क्षेत्रमा उप निर्वाचन हुने छ । जसका लागि नेपाली कांग्रेसले भित्री रूपमा उम्मेदवारको समेत टुंगो लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *