माइतीघरमा न्यायका लागि लालटिन बालेर प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै अनिश्चितकालीन धर्ना र रिले अनसनमा बसिरहेका आन्दोलनकारीहरूले आइतबार माइतीघर मण्डलामा लालटिन बालेर प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सत्याग्रही डाक्टर गोविन्द केसी, सामाजिक अभियान्ताहरु विमल अर्याल, निर्घ नवीनलगायतको उपस्थिति रहेको थियो ।

पौष १४ गतेदेखि तेस्रो चरणको आन्दोलनको घोषणा गरेको महिला अधिकार मञ्च बाँकेले हरेक दिन बिहान ९ बजे कलंकीदेखि माइतीघरसम्म पैदल नै आएर साँझ ५ बजेसम्म प्रदर्शन गर्दै आइरहेका छन् ।

मञ्चकी अध्यक्ष रुबी खानकाअनुसार बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्धान गरेपछि मञ्च र पीडित परिवारले पुनः आन्दोलन सुरु गरेको हो ।

गतवर्ष ४३ दिनको लामो धर्ना र आन्दोलनपछि वार्तामार्फत सरकारले उक्त मुद्दामा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले पनि उक्त मुद्दाका आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएपछि प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने एकजना वृद्धलाई तारेखमा राखेको छ ।

तर मुद्दामा मुख्य अभियुक्त भनिएका बादशाह कुर्मीलाई भने प्रहरीले पक्राउ गर्नुको साटो संरक्षण दिइरहेको मञ्चले आरोप लगाउँदै आएको छ । बादशाह कुर्मी हालै सम्पन्न निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ (क)बाट नेपाली काङ्ग्रेसको तर्फबाट प्रदेश सांसद निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *