मर्जरको अवसरमा ग्लोबल र बिओकेको प्रभातफेरी

काठमाडौँ । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू(बिओके) ले संयुक्तरूपमा देशव्यापी प्रभातफेरी कार्यक्रम आयोजना गरेका छन् । ग्लोबल आइएमई बैंक र बिओके मर्जरको अवसरमा दुई बैंकले संयुक्तरूपमा काठमाडौं उपत्यकासहित नेपालका मुख्य शहरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेका हुन् ।

ग्लोबल आइएमई बैंक र बिओकेले यही पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दैछन् । प्रभातफेरीमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायत दुवै बैंकका एक हजारभन्दा बढी कर्मचारीको उपस्थिति रहेको बताइएको छ ।

वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरीमा उपस्थित कर्मचारीले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट शहरको मुख्य भाग परिक्रमा गरेका थिए भने उपत्यकाबाहिर पनि मुख्य शहरमा परिक्रमा गरेका थिए । मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, कुल निक्षेप चार खर्बभन्दा बढी र कुल कर्जा तीन खर्ब ७९ अर्बभन्दा बढी पुग्ने बैंकले जनाएको छ ।

default

मर्जरपछि बन्ने नयाँ बैंकको कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसाय आकारका हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँचजना र बिओकेका दुईजना रहने बताइएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनुहुनेछ ।

२१ बैंक तथा वित्तीय संस्था गाभिएर बन्ने ग्लोबल आइएमईमा पाँच वाणिज्य बैंक, १० विकास बैंक तथा छ फाइनान्स कम्पनी समाहित हुनेछन् । दुई बैंक मर्जरपछि कुल तीन सय ६५ शाखा कार्यालय, तीन सय ६७ एटिएम, दुई सय ८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीन विदेशस्थित सम्पर्क कार्यालय पुग्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *