बामदेवको बाटोमा शंकर र उपेन्द्र !

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद् छिर्ने प्रयास गरेको खुलेको छ । गत ४ मंसिरमा सम्म आम चुनावमा पोखरेल माओवादी केन्द्रका रेखा शर्मासँग १९३ मतान्तरले पराजित भएका थिए । माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित एक्लो उनै महिला सांसद शर्मालाई राजीनामा गर्न लगाएर शंकर पोखरेलले संसद् छिर्ने प्रयास गरेको खुलेको हो ।

यता, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पनि संसद् छिर्न रणनीति बनाएका छन् । संसद् छिर्ने रणनीति अनुसार नै उनले पार्टीको संसदीय दलको नेता रामसाहाय प्रसाद यादवलाई बनाएको स्वमं जसपाका नेताहरूको स्वीकारोक्ति छ ।

रामसहाय प्रसाद यादव संसदीय दलको नेता बनेपछि यादव संसद् छिर्नका लागि वातावरण बनेको कतिपयको टिप्पणी छ । तर, यसका लागि अध्यक्ष यादवले थप सफलता प्राप्त गर्नुपर्नेछ । संसद् छिर्ने अध्यक्ष यादवको आकांक्षाले नै जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई संसदीय दलको नेतामा उम्मेदवार नै बन्न नसकेको बताइन्छ ।

४ मंसिरको चुनावमा अध्यक्ष उपेन्द्र यादव सप्तरी-२ बाट पराजित भएपछि धेरैको अनुमान थियो, जसपाको संसदीय दलको नेता संघीय परिषद् अध्यक्ष राई बन्नेछन् । किनकि जसपाबाट चुनाव जित्ने नेताहरुमध्ये सुनसरी-१ बाट निर्वाचित राई नै सबैभन्दा वरिष्ठ थिए । तर, बारा-२ बाट जितेका रामसहाय यादव निर्विरोध दलको नेता चुनिए । दलको नेता चयन गर्न मनोनयन दर्ताको समयमा राईले उम्मेदवारी नै दर्ता गरेनन् । राईसँगै अन्य आकांक्षी राजकिशोर यादव र नवलकिशोर साहले पनि उम्मेदवारी दर्ता गरेनन् । यी सबै घटनाक्रम एकप्रकारले अनपेक्षित थियो ।

जसपाका सांसद सुशीला श्रेष्ठका अनुसार जसपाभित्र संसदीय दलको नेतामा अघिल्लोदिनसम्म आकांक्षीमध्ये राईको सम्भावना बढी थियो । तर, अन्तिम दिन बदलियो । तथ्य अध्यक्ष यादवको संसद् छिर्ने प्रयास भएको बताइन्छ । जसपाले उपराष्ट्रपतिमा दाबी गरेको छ । अध्यक्ष यादवका अनुसार उपराष्ट्रपति पाएको खण्डमा हाल संसदीय दलको नेता रहेका रामसहाय प्रसाद यादवलाई अगाडि बढाइनेछ ।

राष्ट्रपति र उपराष्ट्रपति फरक भूगोलको भए पनि हुने संवैधानिक व्यवस्थालाई देखाएर जसपाले राष्ट्रपति र उपराष्ट्रपतिमा दुवै पुरुष वा दुवै महिला हुन पनि सक्ने तर्क गरेको छ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने व्यवस्था छ । जहाँ भनिएको छ, ‘यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।’ संविधानको यही व्यवस्था अनुसार पुरुष पुरुष पनि राष्ट्रपति हुन सक्ने भएकाले एमालेले पुरुषलाई नै राष्ट्रपति बनाए पनि जसपाले पाएको खण्डमा मधेशी समुदायबाट पुरुषलाई नै राष्ट्रपति बनाउने भनेको हो । तर, यसका लागि सत्ता साझेदार दल तयार हुनुपर्छ ।

राष्ट्रपति र उपराष्ट्रपतिमा सांसदलाई पठाउने र रिक्त स्थानमा उपचुनाव लडेर संसद् छिर्ने दाउ एमाले महासचिव शंकर पोखरेल र जसपाका अध्यक्ष उपेन्द्र यादवको छ । यस्तो प्रयास विगतमा नेता बामदेव गौतमले गरेका थिए । बामदेव असफल भएका थिए, उपेन्द्र र शंकरको प्रयास हेर्न बाँकी छ ।

सत्ता साझेदार दलहरूका बिचमा राष्ट्रपति एमालेले र उपराष्ट्रपति माओवादीले लिने सहमति छ । तर, जसपाले उपराष्ट्रपति आफूहरूले पाउनैपर्ने भनेको छ । यसको सिधा कारण- संसदीय दलको नेता राम साहाय प्रसाद यादलाई उपराष्ट्रपति बनाउने र खाली भएको निर्वाचन क्षेत्रमा अध्यक्ष यादव आफैँ उम्मेदवार बन्ने ।

उपेन्द्रलाई मधेशमा मात्रै नभएर राष्ट्रिय राजनीतिमै चतुर नेताका रूपमा हेरिन्छ । २०६३ सालको अन्तरिम संविधानप्रति असन्तुष्टि जनाउँदै मधेशमा आन्दोलनको नेतृत्व गरेर यादव राष्ट्रिय राजनीतिमा उदाएका थिए । त्यसयता मधेश र राष्ट्रिय राजनीतिमा बलियो प्रभाव राख्दै आएका उपेन्द्रले यसपटक चुनावकै मुखमा कांग्रेस-माओवादीसहितको गठबन्धन परिवर्तन गरेर एमालेसँग तालमेल गरे ।

तर जसपाले सन्तोषजनक नतिजा निकाल्न सकेनन् नै, स्वयं उपेन्द्र सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतसँग पराजित भए । यादवले आफ्नो र पार्टीको पराजयको कारण एमालेसँगको तालमेललाई मानेका छन् ।

जसपाका नेताहरूका अनुसार उपेन्द्र उपराष्ट्रपति लिएर रामसहाय प्रसाद यादलाई पठाउने र खाली भएको ठाउँ बारा २ मा आफैँ चुनाव लडेर सत्ता साझेदार दलहरूको साझा उम्मेदवार भएर चुनाव जितेर आफैँ संसदीय दलको नेता बन्न चाहन्छन् । त्यसका लागि उनले अशोक राईलाई रोकेर रामसहाय प्रसाद यादवलाई संसदीय दलको नेता बताएको स्वमं नेताहरू स्वीकार गर्छन् ।

यही प्रक्रिया अपनाएर एमाले महासचिव पोखरेलले पनि रेखा शर्मालाई उपराष्ट्रपति बनाएर संसद् छिर्ने प्रयास गरेका हुन् । उपराष्ट्रपति माओवादीले पाउने भनिएको र त्यसमा रेखा शर्मालाई पठाउने शंकरको प्रस्ताव अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत शर्मासँग छलफल गरेका थिए । शर्माले नै अस्वीकार गरेपछि शंकर पोखरेलको दाङ २ बाटै चुनाव लडेर संसद् छिर्ने प्रयासमा धक्का लागेको छ ।

चुनावमा हारेर पनि संसद् छिर्ने प्रयास गर्नेमा उपेन्द्र र शंकर पहिला अनुहार होइनन् । यस्तो प्रयास विगतमा नेता बामदेव गौतमले गरेका थिए । बामदेव असफल भएका थिए । गौतमले बहालवाला सांसदलाई राजीनामा गराएर संसद् छिर्ने प्रयास गरेका थिए । राष्ट्रपति र उपराष्ट्रपतिमा सांसदलाई पठाउने र रिक्त स्थानमा उपचुनाव लडेर संसद् छिर्ने दाउ एमाले महासचिव शंकर पोखरेल र जसपाका अध्यक्ष उपेन्द्र यादवको छ । बामदेवको बाटो पच्छ्याएका उपेन्द्र र शंकरको प्रयास हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *