नेकपा एसको नियति : आफ्नो निर्णय लिन अन्य दलको भर !

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दुई दिनसम्म राजधानीमा बसेको स्थायी कमिटीले ठोस रूपमा कुनै निर्णय गरेन । सरकारमा सहभागी हुने/नहुनेबारे पोलिटब्युरो बैठकपछि मात्रै टुंगो लगाउने गरी स्थायी कमिटीको बैठक सकिएको छ ।

सरकारमा सहभागिता, वाम एकता वा समाजवादी केन्द्र निर्माण र एमालेसँगको एकता जस्ता विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल निरन्तर विभिन्न पार्टीसँग छलफलमा छन् । तर, पार्टीबाट कुनै निर्णय गराइरहेका छैनन् ।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्लामात्रै भएको बताउँछन् । उनका अनुसार आज सोमबार पार्टीको पोलिटब्युरो बैठक डाकिएको छ ।पोलिटब्युरो बैठकबाट आएका सुझावका आधारमा मात्रै सरकारमा जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने उनले बताए । उनका अनुसार दुई दिनसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा समसामयिक र राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल भयो तर, ठोस निर्णय भएन । अब पोलिटब्युरो बैठकबाट ठोस निर्णय हुने उनको भनाइ छ ।

‘पार्टीको स्थायी कमिटीको बैठकले के सुझाव दिन्छ, त्यसपछि मात्रै यावत विषयहरूमा थप धारणाहरू बाहिर ल्याउनेछौँ’ उपमहासचिव खतिवडा भन्छन्, ‘हामीले समसामयिक राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल गरेका छौँ । यो बैठकले पार्टी निर्माण, सुदृढीकरण र बिस्तारका बारेमा छलफल गरेको छ । पार्टी एकता बाहिरको हल्ला मात्रै हो ।’

एकीकृत समाजवादी नेकपा एमाले फुटेर बनेको दल हो । चुनाव अगाडि एमालेबाट विभाजन भएर २०७८ भदौ २ गते निर्वाचन आयोग आधिकारिक रूपमा दर्ता भएको यो पार्टी गत ४ मंसिरमा सम्पन्न आम चुनावबाट भने राष्ट्रिय दल बन्न सकेन । राष्ट्रिय दल बन्न जम्मा खसेको सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ । ३ प्रतिशत मत समानुपातिकतर्फ नपाएर राष्ट्रिय दल बन्न नसकेपछि एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेको छ ।

आम चुनावबाट राष्ट्रिय पार्टी बन्न नसकेपछि यो पार्टीमा पुनः एमालेसँगै एकता गर्नुपर्ने आवाज उनी उठेको छ । वाम एकताको रूपमा एकताकै लागि अग्रसर हुनुपर्छ भन्ने मत पनि छ । साथसाथै, एकीकृत समाजवादी गठन हुने वा एमाले विभाजन हुनुको पुष्टि नभएकाले पार्टी निर्माणमै लाग्नुपर्ने मत पनि बलियो रूपमा छ ।

एमालेसँग एकता गर्नुपर्छ भन्ने पक्षमा रहेको भनिएको झलनाथ खनाल पक्ष पनि सार्वजनिक रूपमा पार्टी बनाउनुपर्नेमा जोड दिइरहेको छ । बरु, एमालेलाई प्रतिगमनकारीको संज्ञा दिएर कटाक्ष गरिरहेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, ‘वर्तमान सरकारमा प्रतिगमनकारी, पुनःउत्थानवादीहरु सामेल छन् ।’ पार्टी भित्रको विवादलाई देखाएर एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेका थिए । तर, उक्त विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो । प्रतिनिधिसभा विघटनलाई बदर गर्दै सर्वोच्च अदालतले माधव नेपाल सहितका सांसदहरूको समर्थन प्राप्त शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । आफ्नो पार्टीको सरकार ढालेर अर्को दलको सरकार बनाउन भूमिका खेलेको भनी एमालेले माधव नेपाल सहितका सांसदलाई कारबाही समेत गरेको थियो । तर, नयाँ दल दर्ता गरिसकेको भन्दै संसद् सचिवालयले त्यसलाई मान्यता दिएन । त्यस उपर परेको रिटमा सर्वोच्च अदालतले पनि सुनुवाइ गरेन ।

अहिले फेरि एमालेसँग एकता गर्नुपर्छ भनेर तिनै नेताहरू समेत भनिरहेका छन् । तर, यो विषयमा एकीकृत समाजवादीमा दुई धार देखा परेको छ । शनिबारको स्थायी कमिटी बैठकमा सम्पूर्ण नेताहरूले विभिन्न विषयउपर आ-आफ्नो मत राख्न नभ्याएपछि बैठक आइतबार पनि बस्यो ।

दुवै दिनको बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनमा पार्टीको संगठन सुदृढीकरण रणनीति तथा संगठन निर्माण, सरकारमा सहभागी हुने या नहुने, नेकपा एमालेसँग एकतालगायत विभिन्न विषयउपर छलफल भयो । उपमहासचिव खतिवडाका अनुसार एमालेसँगको एकता, सरकारमा सहभागी हुने विषयमा राम्रा/नराम्रा पक्षहरूबारे चर्चा भए । बैठकमा पुरानो गठबन्धन सफल हुन नसक्नुका कारणबारे सबै नेताले आ-आफ्नो ढंगले विचार पनि राखे । ‘सरकार गठन गर्दा पुरानो गठबन्धन क-कसका कारण तोडियो र नयाँ सरकारबारे हाम्रो धारणा के हुनुपर्छ भनेर धारणा आइरहेको छ । सरकारमा जाने वा नजाने विषयमा पोलिटब्यूरोमा पुगेर टुंगो गर्ने स्थिति बनेको छ,’ खतिवडाले भनेका छन् ।

आफूहरूले एमालेसँग एकताको प्रस्ताव नगरेको र त्यसमा रुचि नभएको उनको भनाइ छ । ‘तपाईँहरूका अध्यक्ष नेपाललाई राष्ट्रपति दिएर पार्टी नेकपा एमालेसँग विलीन गराउने चर्चा छ नि’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘औपचारिक वा अनौपचारिक दुवै कोणबाट यस्तो कुरा भएको छैन । पार्टी विलय वा एकीकरण गर्ने गरी हामीले काम गरेका पनि छैनौँ । त्यसमा हाम्रो रुचि छैन ।’

प्रवक्ता खतिवडाले यस्तो जिकिर गरे पनि पार्टीमा एमालेसँग एकताको सन्दर्भमा मत विभाजित भएको छ । एक्लै अगाडि बढ्दा पार्टी थप कमजोर हुने भएकाले एमालेसँग एकता गर्नुपर्ने मत थुप्रै नेताको थियो । ‘पार्टीमा थुप्रै नेताले एक्लै हिँड्दा पार्टीलाई फाइदा नहुने र एमालेसँग एकता गर्नुपर्छ भन्ने विचार राख्नुभएको थियो,’ बैठकमा उपस्थित एक नेताले भने । शुभचिन्तक तथा नागरिकहरू पनि नेकपा एस र एमाले मिल्नुपर्छ भन्ने धारणा राखिरहेका दुवैले मिल्नुको विकल्प नहुने ती नेताले बताए । ‘हामीलाई निर्वाचनको ताजा जनादेशले पनि त्यही भनेको छ,’ उनले भने, ‘एकीकृत समाजवादीले एकता प्रक्रिया छिट्टै अगाडि बढाउनुपर्छ ।’

नेकपा एसका अर्का नेताले पनि एमालेसँग ढिलोचाँडो मिल्नुको विकल्प नभएको बताए । पार्टी विभाजनकै कारण निर्वाचनमा पार्टीले राष्ट्रिय दलको मान्यता पाउन नसकेको ती नेताको मत छ । ‘ढिलोचाँडोको कुरा मात्र हो, तर एक दिन एमालेसँग मिल्नुको विकल्प छैन । एक्लै कतै पुगिँदैन,’ उनले भने ।

गुल्मी-२ मा पराजित रामकुमारी झाँक्रीलगायत केही अन्य प्रभावशाली नेताहरू पनि एमालेमै फर्किनुपर्ने मत जोडदार रूपमा राखिरहेका छन् ।

यद्यपि, पार्टी अध्यक्ष नेपाल सरकारमा सहभागिता, वाम एकता वा समाजवादी केन्द्र निर्माण र एमालेसँगको एकता जस्ता विषयमा माधवकुमार नेपाल निरन्तर विभिन्न पार्टीसँग छलफल गरिरहेका छन् । उनको प्रयास एमाले नेता भीम रावल, पूर्व एमाले नेता घनश्याम लगायतलाई ल्याएर पार्टीलाई अझ मजबुत बनाउनुपर्छ भन्ने पक्षमा रहेको कतिपयको बुझाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *