सहकारीले घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा समस्यामा

काठमाडौँ । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुले घरजग्गा, गाडी तथा अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा समस्या आएको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १२ औँ वार्षिक साधारणसभामा बोल्दै रजिष्ट्रार पण्डितले सहकारीहरुको पैसा अनुत्पादक क्षेत्रमा गएको र उक्त लगानी फिर्ता नहुँदा अहिलेको समस्या आएको बताए । यस्तो खराब कर्जा लगानी उठाउन सहकारी अभियानसमेत नतातेको उनले आरोप लगाए ।

‘सहकारीमा खास समस्याको चुरो पत्ता लागिसकेको छ । हामी आफै त्यसको भुक्तभोगी छौँ र पनि समस्या समाधनतर्फ किन लाग्दैनौं ?’ रजिष्ट्रार पण्डितले भने, ‘समस्या सल्टाउन अभियानहरु नै लागि परेको छैन ।’

तरलता अभावका बीच सहकारी संघ÷संस्थाहरुले सदस्यहरुको बचत रकम नै फिर्ता गर्न नसकेको सन्दर्भलाई जोड दिँदै रजिष्ट्रार पण्डितले भने, ‘अभियानले नै सदस्यको बचत रकम एक पटकमा ५ प्रतिशत भन्दा बढी फिर्ता नगर्नु भनेपछि झन् समस्या बढ्यो । त्यो समस्या समाधान गर्न विभागले निर्देशन नै जारी गर्नुपर्यो ।’

सोही अवसरमा रजिष्ट्रार पण्डितले केही प्राविधिक तथा बाध्यात्मक परिस्थितिले विभागले सहकारीको वास्तविक तथ्याङक राख्न नसकेको स्विकार्दै माघपछि वास्तविक तथ्यांक आउने गरी विभागले काम गरिरहेको बताए ।

कार्यक्रममा सहकारी बैंकका अध्यक्ष केबी प्रसाद उप्रेतीले सहकारीमा अहिलेको अवस्था आउनुको कारण राज्य र बैंक वित्ती संस्थाको भएको बताए । राज्यले लिएको नीति र बैंंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरका कारण अहिलेको अवस्था सृजना भएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =