कांग्रेसभित्रका ‘अभागी’ रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले हातमा आइसकेको राष्ट्रपति पद  गुमेको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनले मलाई प्रधानमन्त्री बनाए तपाईँलाई राष्ट्रपति बनाउन सघाउँछु भनेर वचन दिइसकेका थिए । आखिरी अन्तिम समयमा गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री हुन सकेनन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री नसकारेपछि उनले गठबन्धन तोडेर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका छन् । आज साँझ चार बजे प्रचण्डले प्रधानमन्त्रीको शपथ लिने भएका छन् । यता, रामचन्द्र पौडेलको लागि ‘राष्ट्रपति’ माछोमाछो भ्यागुतो भएको छ ।

कांग्रेसभित्रका ‘अभागी’ नेता हुन् रामचन्द्र पौडेल । पार्टीमा न कहिल्यै ‘फस्ट म्यान’ हुन पाए, न कहिल्यै कुनै ठूलो अवसर नै पाए । झन्डै ६ दशक सम्पूर्ण जीवन कांग्रेसकै राजनीतिमा समर्पित गरेका वरिष्ठ नेता पौडेलले २०५१ सालमा सभामुख बनेबाहेक कार्यकारी भूमिका कहिल्यै पाएनन् ।

यसपटक हात परिसकेको राष्ट्रपति पद कांग्रेस सभापति शेरबहादुर देउवाको दम्भका कारण पौडेलले गुमाउन परेको छ । देउवाले प्रचण्डलाई पहिलो कार्यकाल (साढे दुई वर्ष) प्रधानमन्त्री दिन तयार भए पौडेलले राष्ट्रपति पद पाउने थिए । यसमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सकारात्मक थिए । देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिन तयार नहुँदा आइसकेको राष्ट्रपति पद पौडेलको लागि खोसिएजस्तो भएको छ ।

आइतबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारको गठबन्धनको बैठकबाट निस्केर हिँडेपछि नेपाली कांग्रेसका नेता पौडेलले  ‘हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ, के हुन्छ यो देशको अवस्था मलाई चिन्ता छ’ भनेका थिए । आखिरी उनले भनेकै भयो । कांग्रेसको हातबाट सबथोक गएको छ । अब केन्द्र तथा सातै प्रदेशमा कांग्रेसको सरकार बन्ने छैन । कांग्रेस सभापति देउवा १७ महिनापछि प्रधानमन्त्रीबाट बाहिँरिँदैछन् ।

कांग्रेस नेता पौडेलका लागि पार्टीको ‘फस्ट म्यान’ बन्न अहिले पार्टीको १४ औँ महाधिवेशन अन्तिम अवसर थियो, त्यो पनि उनको लागि गुम्यो ।र समकालीन साथी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भइसके । दुई कार्यकाल पार्टीको ‘फस्ट म्यान’ भएका छन्, तर पौडेलले ६ दशक लामो कांग्रेसको राजनीतिमा कुनै लाभको पद पाएनन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा पौडेललाई आफ्नै टिमका सहयात्रीले साझा उम्मेदवार नमान्ने अड्डी लिएका कारण उनी फस्ट म्यान बन्न सकेनन् । ७८ वर्षमा चढिसकेका पौडेलले अहिले कांग्रेस सबैभन्दा ठूलो दल बन्दा पनि कुनै अवसर पाउने स्थिति बनेन ।

नेपाली कांग्रेसका उनी निकट एक नेताका अनुसार झन्डै १३ वर्षको जेलजीवन, लामो त्याग र संघर्षशील राजनीतिमा रामचन्द्र पौडेल
‘अभागी’ पात्र बनेका छन्, जसले कहिल्यै फस्ट म्यान हुने मौका पाएनन्, पार्टीमा कुनै लाभको पद पाएनन् । २०५१ सालमा सभामुख भएका थिए, त्यहाँदेखि यता पौडेल कुनै लाभको पदमा पुगेका छैनन्, निष्ठाको राजनीति गरिरहेका छन् ।

पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक गरी १३ वर्ष त उनले जेलजीवनै बिताएका थिए । २०६७ सालमा पौडेल पहिलोपटक प्रधानमन्त्रीको उम्मेदवार बने । प्रधानमन्त्रीका लागि संसद्मा १७ पटकसम्म मतदान भयो,  पौडेलले बहुमत जुटाउन सकेनन् । जति गर्दा पनि परिणाम ननिस्केपछि त्यतिबेला चुनावी प्रक्रिया नै रद्द गरियो र दोस्रो प्रक्रियाबाट तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचित भए ।

राजनीतिमा पौडेल ‘‘चतुर खेलाडी’ मानिँदैनन् । ‘सानो चित्त’ र दाउपेचमा खेल्न नसकेकै कारण पौडेल कांग्रेसको राजनीतिमा अभागी पात्र बनिरहेका छन्, जुन पात्रको लागि अहिले पनि ठूलो चान्स गुम्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *