स्थानीय सरकार नागरिक नजिकको सरकार हो, नागरिकप्रति जवाफदेही हुनुपर्छ : देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको कामकारबाही नागरिकप्रति नै जवाफदेही हुनुपर्ने बताएका छन् । उनले स्थानीय सरकार नागरिक नजिकको सरकार भएकाले पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका हुन् ।

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गरे ।

नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी हुनु पर्दछ । ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरुले नागरिकको अपेक्षा अनुसार यस महानगरलाई नमूना महानगरको रुपमा काम गर्ने हिसाबले जिम्मेवारपूर्ण ढंगले नागरिकको सेवालाई अघि बढाउनु हुनेछ भन्ने विश्वास लिएको छु, उनले भने, मौलिक कला, संस्कृति र साहित्य महानगरपालिकाका अमूल्य सम्पदा हुन् । यस महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचिन सम्पदाहरु नेपाललाई विश्वमा चिनाउने महत्त्वपूर्ण धरोहर र वैभव हुन् ।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरुको संरक्षण र सम्वर्द्धनको काम भइरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढ्न थप क्रियाशील हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *