कर्णाली प्रदेश सभा : समानुपातिकतर्फ १५ महिला र एक पुरुष निर्वाचित

सुर्खेत । कर्णाली प्रदेश सभाका लागि १६ जना समानुपातिक सांसद निर्वाचित भएका छन् । समानुपातिकमा पहिलो बनेको नेकपा एमालेबाट ५ जना, नेपाली कांग्रेसबाट ५ जना, नेकपा माओवादी केन्द्रबाट ४ जना र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १— १ जना सांसद निर्वाचित भएका हुन् ।

प्रत्यक्षमा २४ सिट मध्ये नेपाली कांग्रेस र माओवादीले समान ९—९ सिट र नेकपा एमाले ५ सिटमा विजयी भएकोमा एकजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । प्रत्यक्षतर्फ २ दलको मात्र सहभागिता रहेको कर्णाली प्रदेश सभामा भने समानुपातिकमा ५ दलको सहभागिता रहेको छ ।

प्रत्यक्षमा कुनै पनि महिला सांसद निर्वाचित नभएको यो प्रदेश सभामा भने समानुपातिकमा १५ महिला निर्वाचित भएका छन् । नेकपा एमालेबाट हुम्लाका कलबहादुर हमाल कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित एक्ला पुरुष उम्मेदवार हुन् ।

कर्णाली प्रदेश सभामा समानुपातिकमा १५ महिला निर्वाचित
४० सदस्यीय कर्णाली प्रदेश सभामा २४ प्रत्यक्ष र १६ समानुपातिक सांसद रहने व्यवस्था छ । यस प्रदेश सभाका १६ समानुपातिकमा बिभिन्न दलहरुले १५ महिलालाई निर्वाचित गरेका छन् । निर्वाचित हुनेमा नेकपा एमालेबाट ४ जना, नेपाली कांग्रेसबाट ५ जना, नेकपा माओवादीबाट ४ जना र एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १— १ जना रहेका छन् ।

नेकपा एमालेबाट कालिकोटकी दक्षिणा शाही, रुकुम पश्चिमकी तुलसा मल्ल, दैलेखकी गमता बिक र सुर्खेतकी नन्दा गुरुङ निर्वाचित भएका हुन् । यस्तै नेपाली कांग्रेसबाट सुर्खेतकी जानकी सिंह, हुम्लाकी विजया बुढा, दैलेखकी इन्द्राकुमारी शाही, सल्यानकी लक्ष्मी सुनार र सुर्खेतकी बलिमाया बुढा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रले समानुपातिकमा पाएको ४ सिटमा कालिकोटकी यशोदा न्यौपाने, रुकुम पश्चिमकी मिलन खड्का रोका, डौल्पाकी उर्मिला विश्वकर्मा र हुम्लाकी जुम्कित लामा कार्की निर्वाचित भएका हुन् । साथै नेकपा एकीकृत समाजवादीबाट रुकुम पश्चिमकी कल्याणी खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुर्खेतकी सन्तोषी शाही निर्वाचित भएका हुन् ।

प्रत्यक्षबाट कुनै पनि महिला सांसद निर्वाचित नभएको कर्णाली प्रदेश सभामा दलहरुले ३३ प्रतिशत महिला सहभागिता पुर्याउन समानुपातिकमा महिला उम्मेदवार चयन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *