म छिट्टै देशको नेतृत्वमा पुग्दैछु, अर्को चुनाव कास्कीबाट लड्छु : प्रचण्ड

पोखरा । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफै छिट्टै देशको नेतृत्वमा पुग्ने बताएका छन् । कास्कीको अन्नपूर्ण १ मा रहेको महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्तीलाई उद्घाटन गर्दै उनले आफू नै प्रधानमन्त्री बन्ने अवस्थामा रहेको बताएका हुन् ।
‘म देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु । यो अवसर मैले पाउँदा अन्नपूर्णमा केही अविष्मरणीय काम गरेर देखाउने छु । विकासका परियोजना अघि बढाउँछु,’ उनले भने, ‘ पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया बुझ्नै नपाई बित्यो । दोश्रो कार्यकाल देशका लागि महत्वपूर्ण काम गरेको छु । राष्ट्रिय एकतालाई सुदृढ बनाएँ । अब आर्थिक क्रान्तिको सुरुआत हुन्छ ।’
उनले आगामी चुनाव कास्कीबाट लड्ने बताए । ‘म सबै प्रदेशमा निर्वाचनका लागि खटिएँ । निर्वाचनको माहोल बनाउन जनतालाई अपिल गरें । सफल भएको पनि छु,’ उनले भने, ‘म मात्रै यस्तो नेता बनेको छु, पहिलो पटक रोल्पा पुगेर चुनाव लडें, दोश्रो पटक सिराहा पुगें । पछि आफ्नै जिल्ला चितवन र अहिले गोरखामा पुगेर चुनाव लडें । समय यस्तै भयो भने अर्को पटक कास्कीबाट चुनाव लड्न पनि बेर छैन ।’
उनले अबका आफ्ना दिनहरु पार्टी जिवन र सुशासनका लागि समर्पित गर्ने निर्णय गरेको उनले सुनाए । प्रचण्डले देशमा आर्थिक क्रान्तिको सुरुवात आफूले गर्ने बताएका छन् ।
‘मैले अन्नपूर्ण गाउँपालिकाका लागि ऐतिहासिक काम गर्नु छ । देशका लागि पनि गर्नु छ । राजनीतिक परिवर्तन भए । अब आर्थिक क्रान्ति गर्नु छ । सबै राजनीतिक दलहरु आर्थिक क्रान्तिमा केन्द्रित हुनु पर्ने छ,’ उनले भने, ‘जनताले परिवर्तनको महशुस गर्न सकेनन् भने क्रान्तिको औचित्य प्रमाणित गर्न सक्दैनौँ । त्यसैले यो पटक त्यो औचित्य पुष्टी गर्नका लागि आर्थिक क्रान्तिको थालनी गर्नुपर्ने छ ।’
देशको नेतृत्व गर्ने अवसर मलाई प्राप्त भयो भने भ्रष्टाचार नियन्त्रणमा लाग्ने उनले सुनाए ।
समय भने जस्तो भयो भने अर्को निर्वाचनमा कास्कीबाट लड्न पनि सक्छु : प्रचण्ड pic.twitter.com/yoUJxTkZUC
— Makalu Khabar (@makalukhabar) December 14, 2022









