दैलेखमा तीन वर्षमा १ सय ३४ जनाले गरे आत्महत्या

समस्याको चिन्ता गर्ने होइन, सकारात्मक चिन्तन गर्ने हो : डिएसपी शाह

दैलेख । दैलेखमा गएको ३ वर्षमा १ सय ३४ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा मात्रै १२ जनाले आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ६२ जना, आर्थिक वर्ष २०७८/७९ मा ५९ जना साथै आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा १२ र मंसिर महिनामा १ गरी १ सय ३४ जनाले आत्महत्या गरेका हुन् । तीन वर्षको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै करिब ७७ प्रतिशतले झुण्डिएर आत्महत्या गरेको पाइएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा जिल्लामा ६२ जनाले आत्महत्या गरेकोमा ४८ जनाले झुण्डिएर आत्महत्या गरेका हुन् । यस्तै ७ जनाले विष सेवन गरेर, १ जनाले धारिलो हतियार प्रयोग गरेर, १ जनाले भिरबाट हाम फालेर आत्महत्या गरेका हुन् । यस्तै ६ जनाको आत्महत्या दुरुत्साहनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद शाहले बताए । उनका अनुसार २०७८/०७९ मा ५९ जनाले आत्महत्या गरेकोमा ४४ जनाले झुण्डिएर, १० जनाले विष सेवन गरेर, धारिलो हतियारको प्रयोग र भिरबाट हाम फालेर १–१ जनाले आत्महत्या गरेको साथै ३ जनाको आत्महत्या दुरुत्साहनबाट मृत्यु भएको हो । आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिकमा १२ जना र मंसिरमा १ जनाले ले झुण्डिएर आत्महत्या गरेका छन् ।
यसरी हेर्दा दैलेखमा तीन वर्षमा आत्महत्या गर्नेको दर थोरै अंकमा मात्र घट्दै गएको छ । यसो त आत्महत्या रोकथाम विश्वभरी नै एउटा प्रमुख चुनौतीको रुपमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष करिब ८ लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ । दैलेखमा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न तहबाट प्रयासहरू भइरहेका पनि छन् । जिल्ला प्रहरी कार्यालय दैलेखले सामुदायिक प्रहरी साझेदारी मार्फत १ हजार ७२ वटा कार्यक्रम गरेको छ । जसले गर्दा पनि धेरै जसो अपराधहरु कम भएका छन् । यसै कार्यक्रम मार्फत जिल्लाका विभिन्न ठाउँमा महिला तथा बालबालिका सम्बन्धी कार्यक्रम मात्रै करिब पाँच सय जति भएका छन् । जसमा आत्महत्या न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि भएको र यसले पनि आत्महत्या न्यूनीकरणमा सहयोग पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ ।
समस्याको चिन्ता गर्ने होइन, सकारात्मक चिन्तन गर्ने हो : डिएसपी शाह
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद शाहले आत्महत्या न्यूनीकरणका लागि थुप्रै प्रयास गर्दा पनि केही मात्रामा मात्र कमी आउनु सन्तोषजनक नभएको बताए ।
उनले भने, ‘आत्महत्या भनेको मानसिक अवस्था हो । मनोबल कमजोर हुँदा आत्महत्या बढ्दै गएका छन् । यसको न्यूनीकरणका लागि विशेषतः सचेतनाका कार्यक्रमहरू प्रभावकारी बनाउनुपर्ने हुन्छ । सानो–सानो विषयमा पनि आवेशमा आएर आत्महत्या हुने गरेको पाइएको छ । बालविवाह, बहुविवाह, हिंसा, सामाजिक अवस्था, आर्थिक अवस्था आत्महत्या हुने मुख्य कारण हुन् । यी सबै मानसिक स्वास्थ्य तथा मनोबलसँग जोडिने भएको हुँदा यसको न्यूनीकरणका लागि मनोबललाई उच्च पार्ने कुरामा जोड दिनुपर्छ ।’ जीवनमा धेरै समस्या आउँछन् । यस्ता समस्याको चिन्ता नगरी सकारात्मक चिन्तन गर्नुपर्ने बताउँदै डिएसपी शाहले आफूलाई अरूसँग नकारात्मक रुपमा तुलना गर्नाले पनि आत्महत्या हुने गरेको बताए । दैलेखमा भएका धेरैजसो आत्महत्याको मुख्य कारण बालविवाह भएको उनको भनाई छ ।
सामाजिक, आर्थिक, घरेलु हिंसा, मानसिक तनाव, बालविवाह जस्ता कारणहरुले आत्महत्या निम्ताउने गर्दछन् । यसको न्यूनीकरणमा आमनागरिक र सरोकारवाला सबैले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *