कर्णाली प्रदेश सभामा ५ दलको उपस्थिति, यस्तो छ संसदीय अंकगणित

प्रदेश सभामा कांग्रेस पहिलो

सुर्खेत । कर्णाली प्रदेश सभामा ५ दलको उपस्थिति रहने भएको छ । प्रत्यक्षतर्फ एमाले, कांग्रेस र माओवादीले मात्र सिट जितेपनि समानुपातिक मत परिणामबाट नेकपा एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारको प्रदेश सभामा इन्ट्री हुनेछ।

प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ सहित ४० सांसद रहने कर्णाली प्रदेश सभामा प्रत्यक्षमा नेपाली कांग्रेसका ९, नेकपा माओवादी केन्द्रका ९, नेकपा एमालेका ५ र १ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यस्तै, समानुपातिकतर्फ नेकपा एमालेका ५, नेपाली कांग्रेसका ५, नेकपा माओवादी केन्द्रका ४, एकिकृत समाजवादीका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना उम्मेदवार निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फ प्रदेश सभामा तेस्रो भएको नेकपा एमाले भने समानुपातिकमा पहिलो भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एमालेले १ लाख ८३ हजार ९ सय ५० मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १ लाख ७० हजार ७ सय ५६, नेकपा माओवादी केन्द्रले १ लाख ३७ हजार ६ सय २९, नेकपा एकीकृत समाजवादीले ३५ हजार ८ सय २६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १ सय ८६ समानुपातिक मत पाएका छन् ।

प्रदेश सभामा कांग्रेस पहिलो
कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस ठुलो दल बनेको छ । ९ प्रत्यक्ष र ५ समानुपातिक सहित १४ सिट प्राप्त गरि कांग्रेस पहिलो दल बनेको हो । यस्तै नेकपा माओवादी केन्द्र १३ सिट प्राप्त गरि दोस्रो दल बनेको छ । माओवादीले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ सिट प्राप्त गरेको हो । समानुपातिकमा पहिलो भएको नेकपा एमाले भने निर्वाचित सांसद संख्याको आधारमा तेस्रो भएको छ । एमालेले प्रत्यक्षमा ५ र समानुपातिक ५ गरि १० सिट प्राप्त गरेको हो । यस्तै प्रदेश सभामा प्रत्यक्षतर्फ सून्य भएको नेकपा एकीकृत समाजवादी र राप्रपाले भने समानुपातिकमा १–१ सिट पाएका छन् ।

प्रत्यक्षतर्फ
काग्रेस ९
माओवादी ९
एमाले ५
स्वतन्त्र १

समानुपातिकतर्फ
एमाले ५
काग्रेस ५
माओवादी ४
समाजवादी १
राप्रपा १

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *