कर्णालीमा तत्काल पुगे मतपत्र, अझै पुगेनन् पाठ्यपुस्तक

सुर्खेत । कर्णालीमा शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि सबै पाठ्यपुस्तक पुगेका छैनन् । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीहरूको पढाई नै प्रभावित भएको छ । हिमाली जिल्लाहरूमा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ । तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थीहरूले गुनासो गरेका छन् । समयमै पर्याप्त पुस्तक नहुँदा अधिकांश विद्यालयको पठनपाठन प्रभावित हुन पुगेको भन्दै अहिलेसम्म पुस्तक नपाउनु सम्बन्धित निकायको लापरबाही भएको विद्यार्थीहरूको गुनासो छ ।

विद्यार्थीहरू मतपत्र समयमै पुग्ने तर विद्यार्थीहरूको लागि किताब नपुग्नु विडम्बना भएको बताउँछन् । यता, किताब समयमै पुग्न नसक्नुको कारणलाई सम्बन्धित निकायहरू भने एकले अर्कोलाई देखाउँदै पन्छिने गरेका छन् । कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाहरूको भएको भन्दै त्यसको लागि प्रदेश सरकारबाट रकम निकासा भइसकेको बताएको छ । कर्णाली प्रदेश शिक्षा निर्देशनालयका निमित्त शिक्षा निर्देशक दिपा हमालले यस विषयमा स्थानीय सरकारबाट किताब पुग अपुग भएको सन्दर्भमा केही जानकारी नआएको बताइन् ।

पालिकाहरूले भने किताब किन्ने जिम्मेवारी विद्यालयलाई दिएको बताउँदै आएका छन् । पुस्तकको लागि विद्यालयको खातामा रकम पठाइसकेको तर पुस्तक अभावको कारण विद्यार्थीको हातसम्म पुस्तक उपलब्ध नभएको प्रदेश राजधानी समेत रहेको सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुलसी पुरी वनले बताइन् ।

यता, पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक समयमै छाप्न सकेको छैन । जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले स्थानीय तह र विद्यालयहरुबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको दाबी गरे । तर जनक शिक्षा सामाग्री केन्द्रको केन्द्रीय कार्यालयले भने कागजको अभावका कारण पुस्तक छपाई हुन नसकेको प्रतिक्रिया दिएको छ । मतपत्रको लागि भने निर्वाचन आयोगले कागज उपलब्ध गराएको हुनाले मतपत्रको छपाई चाँडै र सहजै सम्पन्न भएको तर किताब छाप्नको लागि कागजको अभाव रहेको केन्द्रीय कार्यालयका प्रवक्ता चित्र कुमार आर्चायको भनाइ छ ।

कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरूले पुस्तक नपाउने समस्या वर्षेनी खेप्दै आएका छन् । कर्णालीको दैलेख, सुर्खेत र जाजरकोटमा कक्षा ६ को विज्ञान, गणित र अंग्रेजी विषयको ६ हजार पुस्तक पुग्न नसकेको बताइएको छ भने कक्षा ८ को विभिन्न विषयको ३ हजार किताब पुग्न सकेको छैन । त्यसैगरी कक्षा ११ र १२ कक्षाको १२ हजार किताब पुग्न नसकेको जनाइएको छ । पाठ्यपुस्तक उपलब्ध गराउने जिम्मेवारी पाएका निकायहरुले भने एकले अर्कोलाई जिम्मेवारी भन्दै पन्छिने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *