कर्णालीमा समानुपातिकतर्फ एमाले पहिलो पार्टी

सुर्खेत । कर्णालीमा मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनअन्तर्गत जारी मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ । गठबन्धनका कारण कर्णालीमा कमजोर बनेको नेकपा एमाले प्रदेश समानुपातिकतर्फ भने पहिलो पार्टी भएको छ ।

कर्णाली प्रदेशमा प्रदेश सभा समानुपातिक तर्फ ५ लाख ६६ हजार ८ सय २९ जम्मा सदर मत खसेको थियो । जसमा नेकपा एमालेले १ लाख ८३ हजार ९ सय ५० मत प्राप्त गरेको छ । प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा शून्य भएको नेकपा एमालेले प्रदेश सभामा भने ५ सिट जितेको छ ।

यस्तै नेपाली कांग्रेस दोस्रो पार्टी बनेको छ । नेपाली कांग्रेसले १ लाख ७० हजार ७ सय ५६ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ४ स्थानमा विजयी भएको कांग्रेसले प्रदेश सभामा ९ सिट जितेको छ । माओवादी केन्द्रले १ लाख ३७ हजार ६ सय २९ मत प्रात गरेको छ । प्रत्यक्षतर्फ माओवादी केन्द्रले प्रतिनिधि सभामा ४ र प्रदेश सभामा ९ सिट जितेको हो ।
नेकपा एकीकृत समाजवादीले समानुपातिक तर्फ ३५ हजार ८ सय २६ मत प्राप्त गरि चौथो स्थानमा रहेको छ । एकीकृत समाजवादीले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ३ सिट जित्दा प्रदेश सभामा भने शून्य भएको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १ सय ८६ मत प्राप्त गरेको छ । प्रत्यक्षमा राप्रपाले १ सिट जित्दा प्रदेश सभामा भने जित निकाल्न सकेन । साथै कर्णालीमा नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फ ८ हजार ९ सय ९३ मत प्राप्त गरेको छ ।

नेकपा (मार्क्सवादी लेलिनवादी), नेकपा माओवादी समााजवादी, राष्ट्रिय जनमोर्चा, हाम्रो नेपाली पार्टी, लगायतले भने ५ हजार मत कटाउन सकेनन् । प्रदेशमा सबैभन्दा कम समानुपातिक मत नेपाल संघीय समाजवादी पार्टीले पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *