कर्णाली : गठबन्धनका ८ र राप्रपाका १ विजयी, एमाले शून्य

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । हालसम्म ९ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नतिजा आएको छ । यी ८ ठाउँमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यी मध्ये ३ स्थानमा नेपाली कांग्रेस, र तिनै स्थानमा एकीकृत समाजवादीका उम्मेदववार विजयी भएका छन् । २ स्थानमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

राप्रपाका १ उम्मेदवार प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । यस्तै ३ जिल्लामा मतगणना भइरहेको छ । ती मध्ये २ जिल्लामा माओवादी केन्द्र र एउटा जिल्लामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम गरिरहेका छन् ।

सुर्खेतका दुवै क्षेत्रमा नेपाली कांग्रेस विजयी
कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतका दुवै प्रतिनिधि सभामा नेपाली कांगे्रसका उम्मेदवार विजयी भएका छन् । सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधि सभामा नेपाली कांगे्रसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार धुव्रकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन् । कांग्रेस उपसभापती खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार शाहीले ३० हजार ९८८ मत प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा यसै प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट तत्कालीन गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार धुव्रकुमार शाहीले नेपाली कांगे्रसका उम्मेदवार पूर्णबहादुर खड्कालाई पराजित गरेका थिए ।

यस्तै, सुर्खेत २ मा पनि नेपाली कांगे्रसका उम्मेदवार हृदयराम थानी विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढा क्षेत्रीलाई ५ हजार १०७ मतान्तरले पराजित गरेका थिए । थानीले ३४ हजार ६२५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका बिसीले २९ हजार ५५८ मत प्रप्त गरेका हुन् ।

दैलेखका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी
दैलेखमा पनि २ प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । जहाँ निर्वाचन क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीमका उम्मेदवार अम्मरबहादुर थापा विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार रवीन्द्रद्रराज शर्मालाई पराजित गरेका थिए । एकीकृत समाजवादीका थापाले १८ हजार २९६ मत प्राप्त गर्दा एमालेका रवीन्द्रराज शर्माले १७ हजार ४४५ मत प्राप्त गरेका हुन् । यस्तै, दैलेख २ मा नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाही निर्वाचित भएका छन् । उनले नेकपा एमालेका लक्ष्मी पोखरेललाई पराजित पराजित गरेका हुन् ।

रुकुम पश्चिममा माओवादीका शर्मा विजयी
यस्तै, कर्णालीको रुकुम पश्चिममा गठबन्धनबाट माओवादी केन्द्रका नेता जनार्दन शर्मा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटालाई पराजित गरेका हुन् । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार शर्माले ३९ हजार ५४९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार देवकोटाले १२ हजार ९६१ मत प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा पनि उक्त स्थानबाट माओवादीका नेता शर्मा विजयी थिए ।

सल्यानमा एकीकृत समाजवादीका उम्मेदवार विजयी
सल्यानमा एकीकृत समाजवादीका प्रतिनिधि सभा उम्मेदवार प्रकाश ज्वाला निर्वाचित भएका छन् । उनले स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहलाई पराजित गरेका हुन् । ३५ हजार ७ सय मत प्राप्त गरि एकिकृत समाजवादीका प्रकाश ज्वाला विजयी हुँदा उनका निकट प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार शाहले ११ हजार ७८९ मत प्राप्त गरी पराजित भएका थिए ।

जाजारकोटमा माओवादीका वस्नेत विजयी
जाजारकोटमा एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ । यस जिल्लामा मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबाट गठबन्धनबाट माओवादी केन्द्रका नेता शक्तिबहादुर वस्नेत विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार निरजप्रसाद आचार्यलाई पराजित गरेका हुन् । निर्वाचित बस्नेतले ३४ हजार १५१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार आचार्यले २५ हजार १२० मत प्राप्त गरेका थिए ।

जुम्लामा राप्रपाका शाही विजयी
कर्णाली प्रदेशका विभिन्न प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा गठबन्धन विजयी हुँदा, यता जुम्लामा भने राप्रपाबाट प्रतिनिधि सभा उम्मेदवार बनेका ज्ञानेन्द्र शाही विजयी भएका छन् । उनले गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवार बनेकी गोमा गौतम कुँवरलाई पराजित गरेका हुन् । ज्ञानेन्द्र शाहीले २२ हजार ८१९ मत प्राप्त गरी विजयी हुदा उनका प्रतिस्पर्धी माओवादीकी उम्मेदवार गोमा गौतमले ११ हजार ९५९ मत प्राप्त गरेकी हुन् । विजयी उम्मेदवार शाही राप्रपा प्रवक्ता पनि हुन् ।

डोल्पामा एकीकृत समाजवादीका बुढा विजयी
कर्णाली प्रदेशको डोल्पामा एकीकृत समाजवादीका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन् । कर्णालीका प्रायः जसो स्थानमा गठबन्धनका उम्मेदवारहरुले नेकपा एमालेका उम्मेदवारलाई पराजित गरिरहँदा यस जिल्लामा पनि नेकपा एमालेका उम्मेदवार गणेशबहादुर शाही पराजित भएका छन् । समाजवादीका विजयी उम्मेदवार बुढाले ११ हजार २९२ मत प्राप्त गर्दा नेकपा एमालेका शाहीले ५ हजार ५०५ मत प्राप्त गरेका छन् ।

कर्णालीका ७ जिल्लाका ९ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा ३ जिल्लामा भने मतगणना जारी छ । मतगणना भएका स्थानमा पनि गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

हुम्ला, मुगु र कालिकोटमा गठबन्धनको अग्रता कायम
कर्णालीका ३ जिल्लामा मतगणना जारी छ । जहाँ गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । मतगणना भएरहेको कालिकोटमा माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुर शाहीले अग्रता कायम गरेका छन् । यो समाचार तयार पार्दासम्मका नेकपा माओवादीका उम्मेदवार महेन्द्रबहादुर शाहीले १८ हजार ३ सय २१ मत प्राप्त गरेका छन् । भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नगिन्द्र शाहीले १३ हजार ५९३ मत प्राप्त गरि उनलाई पछ्याइरहेका छन् । यस्तै हुम्लामा पनि माओवादी केन्द्रका उम्मेदवार अग्र स्थानमा छन् ।

माओवादी केन्द्रका उम्मेदवार छिरिङ डम्डुल लामाले ८ हजार ८६८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दल रावलले ६ हजार ७४९ मत प्राप्त गरि पछ्याइरहेका छन् । यस्तै मुगुमा भने नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही अग्रताका छन् । उनले ८ हजार ४३ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार राजबहादुर कार्कीले ५ हजार ८७८ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *