आम निर्वाचन २०७९ : फेरि पनि प्रचण्ड नै निर्णायक

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली काँग्रेस सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहिबार टेलिफोन गरेर बधाई दिए ।
प्रचण्डले पनि दुवै नेतालाई बधाई फर्काए ।

तर, राजनीति र कूटनीतिमा व्यवहार र सङ्केतको ठूलो अर्थ रहन्छ ।

प्रचण्डलाई बधाई दिन एमाले अध्यक्ष ओलीले आफैँ फोन गरे । दुवै नेताको सचिवालयका अनुसार नेकपा एकता विवाददेखि संवादमा नरहेका ओली र प्रचण्डपछि लामो समयपछि टेलिफोन संवाद भएको हो । नेताहरूका अनुसार टेलिफोन संवादमा ओलीले प्रचण्डलाई आगामी दिनमा मिलेर जान आग्रह समेत गरे ।

यता ओलीसङ कुराकानी भए लगत्तै काँग्रेस सभापति देउवाले पनि प्रचण्डलाई टेलिफोन गरेर औपचारिक बधाई दिए । दुवैले बधाई साटासाट गरे । चुनावपछि पनि सँगसँगै अगाडि बढ्ने आफ्नो बाचा अनुसार अगाडि बढ्न चुनावी परिणाम बाधक बन्ने आफूले नदेखेको सन्देश प्रचण्डलाई दिएका छन् ।

चुनाव अगाडि देउवा र प्रचण्डले सत्ता गठबन्धनको सहजै सरकार बन्ने आङ्कलन गरेका थिए । आङ्कलन अनुसार परिणाम नआएको भए पनि सरकार बनाउन समस्या नहुने देउवाको आश्वासन प्रचण्डलाई छ । तर, स्वमं प्रचण्डलाई भने माओवादी केन्द्रका नेताहरूले काँग्रेससँगको सहकार्यले चुनावमा फाइदा नभएको रिपोर्टिङ गरिरहेका छन् । यही बेला प्रचण्डलाई ओलीले फोन गरेका हुन् । लगत्तै देउवाले पनि फोन संवाद गरेका हुन् ।

प्रचण्डलाई उच्च प्राथमिकताका साथ ओली र देउवाले फोन गर्नुको प्रमुख कारण हो– पछिल्लो मत परिणाम । परिणाम अनुसार फेरि पनि माओवादीविना काँग्रेस र एमालेको सरकार बनाउन सम्भव छैन । काँग्रेस र एमाले मिले भने अन्य पार्टीको आवश्यकता पर्दैन । तर, पहिलो र दोस्रो काँग्रेस र एमाले मिलेर सरकार बनाउने सम्भावना कम हुन्छ ।

पहिलो हुनेले सरकार बनाउने र दोस्रो हुनेले प्रमुख प्रतिपक्षीको भूमिका खेल्ने जनादेश भएको मान्ने गरिन्छ । अथवा स्पष्ट बहुमत नआएको अवस्थामा दोस्रो दलले नेतृत्व गरेर पनि सरकार बनाउन सक्छ । यस्तो हुँदा पहिलो दल प्रतिपक्षीमा पुग्छ । यो अवस्थामा फेरि पनि तेस्रो शक्ति निर्णायक हुन्छ ।

प्रचण्डसँग देउवा र ओलीले बिहीबार गरेको टेलिफोन संवादले पनि यही सङ्केत गर्छ – काँग्रेस वा एमाले माओवादीको सहयोगमा सरकारमा जान्छ । साना दलहरू पनि जोडिन सक्छन् । किनभने काँग्रेस वा एमालेलाई माओवादीको सहयोगबिना साना दलहरू मात्रै लिएर सरकार बनाउन सक्ने अवस्था देखिन्न । यो अवस्थामा फेरि पनि प्रचण्ड नै निर्णायक हुनेछन् ।

अर्कोतर्फ, निर्वाचन परिणाम सार्वजनिक हुँदै गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका महासचिव देव गुरुङ लगायतले वाम एकताको कुरा उठाएका छन् । फेरि वाम एकता हुन सक्ने र त्यसो भए सरकारबाहिर रहनुपर्ने त्रासमा काँग्रेस देखिन्छ । यस कारण पनि प्रचण्डमाथि दोहोरो नजर परेको हो ।

शुक्रबार बिहान सम्म सार्वजनिक परिणाम अनुसार नेपाली काँग्रेसले प्रत्यक्षमा ४० ठाउँमा जितेको छ भने ११ स्थानमा अग्रता हासिल गरेको छ । त्यस्तै एमालेले २९ ठाउँमा जितेको छ भने १९ ठाउँमा अग्रता हासिल गरेको छ । माओवादी केन्द्रले १२ ठाउँ जितेको छ भने ०६ स्थानमा अग्रता कायम राखेको छ । नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेको छ ।
समानुपातिक तर्फ एमालेले १०२८५७३ मत पाएको छ भने काँग्रेसले ९८५३७५ मत पाएको छ । माओवादी केन्द्रले ४४९९४९ मत पाउँदा स्वतन्त्र पार्टीले ४८८११३ मत पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *