जिम्मेवारीको गरिमा र मर्यादा राखेर काम गर्न कर्मचारीलाई आयोगको निर्देशन (विवरण सहित)

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको मतदान तथा मतगणना कार्यमा खटिएका सम्पूर्ण कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखेर काम गर्न विशेष निर्देशन दिएका हुन् ।

यस्तो छ विशेष निर्देशनको पूर्ण विवरण :

मतदान तथा मतगणना कार्यमा खटिएका कर्मचारी साथीहरू,

यो महत्त्वपूर्ण जिम्मेवारीमा नियुक्त भई कार्य सम्पादन गर्न खटिनु भएकोमा म सबैलाई बधाई दिन्छु र केही सन्देशसहित शुभकामना दिन चाहन्छु ।

१. मतदान अधिकृत, मतगणना अधिकारी र कर्मचारीको जिम्मेवारी, पाउनु गर्वको विषय हो । यो जिम्मेवारी गरिमा र मर्यादालाई कायम राख्दै मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने सङ्कल्प गर्नोस् ।

२. नेपालको संविधान, प्रचलित ऐन, कानुन, आचारसंहिता, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि र निर्देशनको पूर्ण रूपमा पालना गर्नोस् ।

३. व्यक्तिगत, संस्थागत एवं पदीय रूपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्नोस् ।

४. निर्वाचनको कार्य सम्पादन गर्ने सिलसिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव, दबाब, भनसुन, धम्की, आदि आउन सक्छन् । तर कुनै आग्रह, पूर्वाग्रहबाट प्रेरित वा प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न र गराउन प्रतिबद्ध भएर लाग्नोस् ।

५. निर्वाचनमा प्रयोग गरिएका मतपत्र, मतपेटिका वा अन्य निर्वाचन सामग्रीको दुरुपयोग गर्न नदिनोस् । कसैले अवाञ्छित कार्य गर्न खोज्यो भने कानुनबमोजिम प्रतिकार गर्नोस् तर कदापि यस्ता कार्यको मतियार नबनोस् ।

६. मतदान तथा मतगणनासम्बन्धी विवाद निरूपण गर्दा पक्षहरूबाट पर्न सक्ने प्रभावबाट स्वतन्त्र रही समाधान गर्नोस् ।

८. राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा परेर कुनै कार्य नगर्नोस् ।

९. मतदान तथा मतगणनासम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक, नागरिक समाज मिडियाकर्मी मतदातालगायत सबैप्रति आदर भाव र समान व्यवहार गर्नोस् ।

तपाइको नैतिक आचरण, व्यवहार र कार्यशैलीले निर्वाचनको स्वच्छता र स्वतन्त्रताको मापन हुन्छ । त्यसैले कुनै पनि काम गर्दा आफूले आफूलाई सोध्नोस्, छातिमा हात राखेर निर्णय गर्नोस् । तपाईँको कामले तपाई आफै लज्जित हुनुपर्ने अवस्था आयो भने हामी सबैको दुर्भाग्यको विषय हुनेछ । तपाई जे काम गर्दै हुनुहुन्छ, निर्वाचन आयोग भएर गर्दै हुनुहुन्छ । म तपाईँहरू सबैलाई विश्वास सुम्पन चाहन्छु र सम्पूर्ण सफलताको कामना गर्दछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *