सुर्खेतका मतदाता परिवर्तन चाहन्छन् : टेकबहादुर चुनारा (अन्तर्वार्ता)

सुर्खेत । आम निर्वाचन नजिकिँदै गर्दा यतिबेला उम्मेदवारहरू भने चुनावी घरदैलो अभियानको अन्तिम कसरतमा होमिएका छन् । मङ्सिर ४ गते हुने निर्वाचनलाई केन्द्रित रहेर यतिबेला उम्मेदवारहरू मतदाताको बिचमा छन् र आफ्ना योजना भिजनहरू मतदाता माझ बुझाउँदै र चुनावी गतिविधिलाई तीव्र बनाउँदै गइरहेका छन् । यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुर्खेत-२ मा प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका टेक बहादुर चुनारासँग हामीले निर्वाचन केन्द्रित रहेर कुराकानी गरेका छौँ ।

अन्तर्वार्ताको सुरुवातमै उनले भने, ‘हामी र हाम्रो दलहरूप्रति आकर्षण बढ्दो छ । पुराना दलहरूप्रति मतदाताको वितृष्णा बढ्दै गएको छ, कारण हो लामो समयसम्म पनि समाजमा व्याप्त विभिन्न समस्याहरूको समाधान गर्न सकेनन् र जनताको अवस्थामा परिवर्तन आएन त्यसैले गर्दा हामी र हाम्रा उम्मेदवारप्रति आकर्षण र विश्वास बढेको छ । जसलाई हामीले कहिले गुमाउने छैनौँ ।’

मतदाताले एजेण्डाप्रति विश्वास गर्छन् ?
मतदाताको एजेण्डा र घोषणापत्रप्रतिको विश्वास हराउँदै गएको छ । लामो समयदेखि विभिन्न राजनीतिक दलहरूले मतदाताहरूलाई विभिन्न आश्वासन दिए तर पटक पटक सत्ता र नेतृत्वमा पुग्दा पनि केही नगर्ने र चुनाव जित्नकै लागि एजेण्डाहरुमा झुटको खेती गर्दा जनताहरूले पुरानो नेतृत्वहरूप्रतिको आक्रोशका कारणले गर्दा यस्तो अवस्था सिर्जना भएको हो । यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीप्रति भने जनता सकारात्मक छन् । हामीले गर्न सक्ने र गर्छौ नै भनेर बाचापत्र तयार पारेका छौ । जनताको अमूल्य मत पाएको खण्डमा यसको कार्यान्वयनमा रत्तीभर पनि चुक्ने छैनौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र यसका उम्मेदवारप्रति जनताले विश्वास किन गर्ने ?
यो पार्टी नेपालको वर्तमान अवस्थाको अन्त्य गरी नागरिकका अनेकन् समस्याहरूको समाधान गर्न समस्याहरूकै कारण र समस्याहरूकैबीच जन्मेको पार्टी हो । हामी अहिलेको परिस्थितिलाई बुझेर अघि बढिरहेका छन् र यसका उम्मेदवार र नेतृत्व सक्षम छ । त्यसैले पनि मतदाताले हामीलाई विश्वास गर्छन् ।

तपाईँको उम्मेदवारी के का लागि ?
मेरो उम्मेदवारी मूलतः समाजमा रहेका अनेक समस्याहरूको समाधानका लागि हो । म चाहन्छु कनै पनि जनप्रतिनिधिका कारण नागरिकले सास्ती भोग्नु नपरोस् । विकासका नाममा हुने अनेक बेतिथिको अन्त्य र समाजलाई सकारात्मक परिवर्तनको बाटोमा लैजान मेरो उम्मेदवारी हो । यति भनिरहँदा मलाई पदको लोभ भने होइन । न त कसैप्रतिको आक्रोशले नै उम्मेदवारी दिएको हुँ । मेरो उम्मेदवारी मात्र समाजका लागि काम गर्नका लागि हो । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व र विचार मन परेर यो पार्टी रोजे । उम्मेदवारको सन्दर्भमा हाम्रो पार्टीभित्र भएको प्राईमेरी निर्वाचनले मलाई उम्मेदवारमा सिफारिस भए र उम्मेदवार बनेँ ।

सुर्खेतका मतदाताले के खोजेका छन् ?
अहिले यहाँका मतदाताले परिवर्तन खोजेका छन् । एउटै अनुहार पटक पटक जिताएका यहाँका मतदाताले विकास र समृद्धिका सपना मात्रै देखे त्यसैले यसपटक मतदाता परिवर्तन चाहन्छन् । र जुन हाम्रो घरदैलो अभियानमा देखिएको पनि छ । हामीले मत माग्दा कुनै आश्वासन दिएका छैनौ हामी गर्न सकिने र आधार सहितका योजनाहरू लिएर जनतामाझ गएका छौँ ।

तपाईँका प्रतिबद्धताहरू के-के हुन् ?
कर्णाली प्रदेशको सन्दर्भमा ‘दिगो विकासको पूर्वाधार, कर्णाली प्रदेशको आधार’ भन्ने उद्देश्यले चुनावी मैदानमा छौँ । हाम्रा केही प्रतिबद्धताहरू यसप्रकार छन् ।

  • जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री हुने ।
  • भ्रष्टाचार मुक्त समाज: म पनि गर्दिन गर्नेलाई पनि छाड्दिन ।
  • स्वास्थ्यमा सबैको समान पहुँच: सक्नेले आफै गर्ने नसक्नेलाई सरकारले निःशुल्क स्वास्थ्य सेवा ।
  • सुरक्षित राजमार्ग तथा सडक सञ्जाल: दुर्गम क्षेत्रका मुख्य मुख्य सडकहरू कालोपत्रे गराउने ।
  • विगत लामो समयदेखि भोग चलन गर्दै आएका सुकुम्वासीहरूको पहिचान गरी तत्काल स्थायी पुर्जा वितरण गर्ने ।
  • कृषिमा आधुनिकीकरण क्रान्ति एक क्षेत्र, एक बाली, किसानको जीवनमा खुसीयाली गराउँदै हरेक कृषकलाई आत्मनिर्भर बनाउने वडा एक व्यवसाय अनेक: व्यापारीलाई सहज वातावरणसहित प्रविधिको अधिकतम प्रयोग गर्दै युवाहरूलाई उद्यमशील गुणस्तरीय पूर्वाधार निर्माण तथा अनुगमन ।
  • नेपाल सरकारका कुनै पनि कर्मचारीहरूलाई राजनीतिक संगठनहरूमा आबद्ध हुन दिइने छैन ।
  • अब पालो युवाको: हरेक क्षेत्रमा युवाहरूको पहुँच पुग्ने गरी युवा नीति बनाइने ।

उम्मेदवार बनेर घरदैलोमा जाँदा कस्तो अनुभव भयो ?
म उम्मेदवार बनेर जनतामाझ जाँदा जनताका धेरै समस्या नजिकबाट बुझ्न पाए मेरो उम्मेदवारी पनि यस्तै समस्या समाधानका लागि हो । जनताले यसपटक मत बदल्न चाहेका छन् ।

को हुन् टेक बहादुर चुनारा ?
यसो त उनको एउटा पहिचान भने छैन । उनी समाजसेवी हुन्, कलाकार हुन, पूर्व आर्मी हुन्, युवा अगुवा हुन, देशमै रोजगारी नपाउँदा बिदेसिएका युवा हुन्, र देश विदेश बुझेका नेपाली हुन् । उनी करिब ४५ वर्षका भए । वीरेन्द्रनगर सुर्खेतमा नै जन्मेका उनको बाल्यकाल पनि वीरेन्द्रनगरमा नै बित्यो । विद्यालय तहको पढाई सकेर उनी आर्मी बनेपछि विविध कारणले गर्दा उनी वैदेशिक रोजगारी गए र उनले कलाकारिता र समाजसेवालाईसँगै अघि बढाए जुन अहिले पनि जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *