टिप्पणी

मदन भण्डारीको गाउँ, एमालेले जित्ला ?

बहुदलीय व्यवस्थाको पुनःस्थापनापश्चात् पहिलोपटक २०४८ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले चुनाव चिन्ह सूर्य लियो । महासचिव मदन भण्डारी सूर्यध्वजाबहाक उम्मेदवार बनेर काठमाडौँ क्षेत्र नम्बर १ र ५ बाट चुनावी मैदानमा उत्रिए । दुवै क्षेत्रमा उनले सानदार विजय प्राप्त गरे । नेपाली कांग्रेसको गढ मानिने क्षेत्र नम्बर १ बाट त उनले बहालवाला प्रधानमन्त्री एवं कांग्रेसका कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराईलाई नै पराजित गरे । त्यो जीतले महासचिव भण्डारी र एमालेको राष्ट्रिय–अन्तर्राष्ट्रिय छवि चम्किलो बन्यो । भित्री कुरा, महासचिव भण्डारीकै विशेष रोजाइमा एमालेले सूर्य चिन्ह लिएको थियो । त्यही चुनावदेखि एमालेले आजपर्यन्त सूर्य चिन्ह प्रयोग गर्दै आएको छ ।

यसबिचमा राजनीतिक विकासक्रम धेरै अघि बढिसकेको छ । भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा अङ्गीकार गरेपछि एमालेले धेरै पटक मुलुकको नेतृत्व गर्ने अवसर पाइसकेको छ । भण्डारीको वैचारिक र व्यावहारिक लोकप्रियताको उच्च सम्मान गर्दै एमालेले उनलाई ’जननेता’ को पदवी दिएको छ । जननेता भण्डारीकै वैचारिक जगमा एमालेले पटकपटक राजकीय सत्ता प्राप्त गरेको हो।

पूर्वी मोरङको इटहरा पूर्वी मोरङको इटहरा, सातमेडी गाउँ जननेता भण्डारीको कर्मथलो हो । तत्कालीन इटहरा गाविस वडा नम्बर ८ मा पर्ने जननेताको घर अहिले रतुवामाई नगरपालिका वडा नम्बर १० मा पर्छ । यो नगरपालिका प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर २ र प्रदेशासभाका लागि २ (१) अन्तर्गत पर्छ । यही गाउँको अन्नपानी खाएर भण्डारीले आफ्नो युवा चेतनाको विकास गरे र नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिए । आजको लोकतान्त्रिक गणतन्त्र नेपालको जग जननेता भण्डारीकै वैचारिक धरातलमा निर्माण भएको हो भनेर कम्युनिस्टहरू भन्दै आएका छन् । कम्युनिस्टको जगमा कांग्रेसको झन्डा तथापि एमाले कार्यकर्ता र शुभचिन्तकहरूका लागि अफसोचको कुरा, जननेता भण्डारीको कर्मथलोमा एमालेले धक फुकाएर सूर्यको विजयी झन्डा फहराउन पाएको छैन ।

२०४८ सालदेखि एक पटकबाहेक यहाँ निरन्तर कांगेसले जित्दै आएको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यो क्षेत्र एमालेले जितेको थियो । त्यो चुनावमा जित आफ्नो पक्षमा पारेका ऋषिकेश पोख्रेल अहिले प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । यही क्षेत्रबाट प्रदेशसभा सदस्यका उम्मेदवार डिबी कार्की छन् । एमाले मोरङ अध्यक्ष पोख्रेलको यो प्रतिस्पर्धा तेस्रो हो । २०७० का विजयी पोख्रेल २०७४ मा भने कांग्रेसका डा. मिनेन्द्र रिजालसँग झिनो मतले पराजित भए ।

१ नम्बर प्रदेश कमिटी सदस्य कार्की भने पहिलो चोटी चुनावी प्रतिस्पर्धा गर्दै छन् । यस्ता ऐतिहासिक स्थलबाट चुनाव लड्न पाउने अवसर एमालेजनलाई अन्त बिरलै होला । पहिलो महिला राष्ट्रपतिको कर्मघर मदन भण्डारीको गाउँका रुपमा चिनिने यो ठाउँ अहिले राष्ट्रपति विद्यादेवी भण्डारीको गाउँ भनेर पनि चिनिन्छ । पहिलो महिला राष्ट्रपतिको गाउँको उपमा पाउनु यहाँको विशिष्ट गौरवको रुपमा स्थानीयले बुझेका छन् ।

कमैलाई थाहा होला, एमालेको जन्मस्थल पनि यहीँ हो । यो स्थान राष्ट्रपति भण्डारीको घरबाट करिब ५ किलोमिटर पश्चिम बक्राहा नदी किनारमा रहेको डिपु गाउँमा पर्छ । टेकबहादुर राईको घरमा २०३५ साल पुस ११ गते तत्कालीन नेकपा मालेको स्थापना भएको हो । यही पार्टी २०४७ सालमा नेकपा (एमाले) बनेको हो । यसरी पार्टी स्थापनाको इतिहासको रेकर्ड पनि यही गाउँसँग छ । नेपाली कम्युनिस्ट आन्दोलन र मुलुकको रुपान्तरणमा महत्त्व राख्ने यस्ता ऐतिहासिक व्यक्तित्व र स्थलहरूलाई जीवन्त राख्न र तिनको महत्त्व पुस्तान्तरण गर्दै लान यहाँ अहिलेसम्म खासै काम भएको छैन । यी इतिहास र गौरवहरूको संरक्षण, विकास र पुस्तान्तरणका लागि एउटा बृहत्तर योजनाको आवश्यक छ । यसका लागि एमालेको जित जरुरी छ ।

पोखरेलसँग आयातित प्रतिस्पर्धी अहिले यहाँ मुख्य प्रतिस्पर्धा सत्तारुढ गठबन्धन र एमाले बिचमा छ । पोखरेलको भिडन्त गिरिजाप्रसाद कोइराला पुत्री एवं कांग्रेस नेतृ सुजाता कोइरालासँग हुँदैछ भने कार्कीको प्रतिस्पर्धा नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीसँग छ । चुनावी प्रतिस्पर्धामा चुनौती जहाँसुकै हुन्छ नै, यहाँ पनि छ । तर पोखरेल र कार्कीलाई प्रतिस्पर्धामा चुनौतीभन्दा अवसर ज्यादा छ यहाँ । जित्न सके काम गरेर देखाउने ऐतिहासिक विरासतको फराकिलो धरातल छ । जनतासँग भोट माग्ने अधार पनि पर्याप्त छ । २०४८ देखि एमालेको ३ वर्ष २०४८ देखियता यो क्षेत्रबाट कांग्रेसले २८ वर्ष प्रतिनिधित्व गरेको छ, एमालेले मात्र ३ वर्ष । यो अवधिमा कांग्रेसले स्थानीय समाजको एउटा पनि उम्मेदवार उभ्याउन सकेको छैन, बाहिरबाटै आयात गरेर काम चलाएको छ । यति लामो समयमा कांग्रेसले खासै उल्लेख्य काम केही गर्न सकेको छैन । विकास निर्माण र सेवा प्रवाहमा कांग्रेस नराम्ररी चुकेको छ ।

पार्टी निर्माणको इतिहास, जननेता भण्डारीको विरासत, एमाले सरकारले गरेका स्वाभिमानी, राष्ट्रवादी र जनहितकारी कार्यको फिहरिस्त जनतासमक्ष सबैले बुझ्ने भाषामा प्रस्तुत गर्न सके पोखरेल र कार्कीलाई विजयको सूर्य झन्डा फहराउन गाह्रो पर्दैन । यसका लागि पार्टी कार्यकर्ताको इमानदार प्रयत्न र प्रतिबद्धता भने जरुरी हुन्छ । त्यसतर्फ स्थानीय पार्टी नेतृत्व र स्वयम् उम्मेदवारले मसिनो गरी ख्याल राख्नु आवश्यक छ । यसपटक जननेता भण्डारीको गाउँका सूर्यध्वजावाहक उम्मेदवार पोख्रेल र कार्कीलाई इतिहास रक्षा गर्ने र नयाँ इतिहास बनाउने ठुलो अवसर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *