ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिएको जुम्लामा यस्तो छ चुनावी माहोल

जुम्ला । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ । सत्तारुढ दलको गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधि सभा क्षेत्र एउटा र प्रदेश सभा क्षेत्र दुइटा रहेको जुम्लामा तीन पदका लागि १३ जना चुनावी मैदानमा छन्  । प्रतिनिधि सभातर्फ ४ जना, प्रदेश सभा क्षेत्र (१) मा १ स्वतन्त्रसहित ३ जना चुनावी मैदानमा होमिएका छन् । प्रदेश सभा क्षेत्र (२) मा १ स्वतन्त्रसहित ४ जना उम्मेदवार छन् ।

विसं २०६४ मा नेकपा माओवादी केन्द्र, २०७० मा नेपाली कांग्रेस र २०७४ माओवादी र एमालेबीच गठबन्धन हुँदा माओवादीले जुम्लाको प्रतिनिधिसभा सदस्य निर्वाचन जितेको थियो । विसं २०७४ मा एक प्रदेशसभा माओवादी र एक एमालेले जितेका थिए । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले-माओवादी र कांग्रेस-राप्रपाले तालमेल गरेका थिए ।

गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा कांग्रेसले पाँच पालिकाको प्रमुख, तीन उपप्रमुखसहित २६ वडाध्यक्ष जितेको थियो । माओवादी केन्द्रले दुइटा पालिका प्रमुख, ४ उपप्रमुख, १९ वडामा अध्यक्ष जितेको छ । एकीकृत समाजवादीले एक पालिकाको उपाध्यक्षसहित ६ वडाध्यक्ष जितेको छ ।

एमालेले कुनै पनि पालिकाको अध्यक्ष र उपाध्यक्ष जित्न सकेन । ६० वडामध्ये छ वडाध्यक्ष मात्रै एमाले जितेको थियो । राप्रपाले कुनै वडाध्यक्ष जितेको छैन । एक पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । वडाध्यक्षको मत हेर्दा कांग्रेसको ८ हजार ६ सय ५५, माओवादीको ६ हजार ४ सय ३९, एमालेको २ हजार एक सय ५७ र एकीकृत समाजावादीको १ हजार पाँच सय ९६ मत छ। राप्रपाको ५ सय ४० मत रहेको छ ।

प्रतिनिधि सभामा त्रिपक्षीय प्रतिस्पर्धा 
प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनबाट माओवादीका गोमा गौतम कुँवर, एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले पनि चुनावी मैदानमा छन् ।

विसं २०७० को चुनावमा माओवादी केन्द्रबाट सामानुपातिक सांसद हुँदै पशुपन्छी विकास राज्यमन्त्रीसमेत भएकी गौतमलाई यसपालि सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ । गठबन्धनसँग एकल प्रतिस्पर्धा गर्न एमालेले प्रतिनिधि सभा सदस्यका लागि जिल्ला पार्टी इञ्जार्च तथा केन्द्रीय सदस्य तिला गाउँपालिकाका पूर्वअध्यक्ष योगीलाई चुवानी मैदानमा खडा गरेको छ ।

विसं २०७४ मा एक मात्र स्थानीय तह जितेको एमालेले गत वैशाख ३० मा भएको स्थानीय चुनावमा कुनै पनि पालिका जितेको छैन । प्रतिनिधि सभा सदस्यको चुनावमा होमिएका राप्रपाका पार्टी प्रवक्ता शाही सत्ता गठबन्धनका र एमालेका उम्मेदवारलाई चुनावबाट हराउन खोजिरहेका छन्। उनले उम्मेदवारी दिएसँगै जुम्लाको चुनावी लेखाजोखा राष्ट्रियस्तरमै सुरु भएको छ ।

गाउँ पसे उम्मेदवार
राजनीतिक दलका नेता र उम्मेदवार ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षणमा जुटेका छन् । निर्वाचन आचारसंहिताले सभा, माइकिङमार्फत भड्किलो प्रचारप्रसारमा कडाइ गरेपछि प्रचारशैली फेरिएको छ ।

उम्मेदवारलाई जिताउन घरदैलो गरेर मतदाता भेटघाट र कार्यकर्ता भेला गरी प्रशिक्षण तथा परिचालनमार्फत चुनाव प्रचार गर्न उम्मेदवार गाउँ केन्द्रित हुन थालेका छन् । निर्वाचन आयोगले कात्तिक १७ गतेपछि मात्र चुनावीसभा गर्न पाउने आचारसंहिता बनाएपछि अहिले जिल्ला तहका नेता चुवानी सभालाई सम्बोधन गर्ने गाउँ केन्द्रित भएका छन् ।

मतदाता भेटघाटसँगै टोलटोलमा कार्यकर्ता भेला गरी प्रशिक्षण दिएर परिचालन गरेपछि चुनावी रौनक थप बढेको छ । सभाका क्रममा पुग्न नसकिने टोल तथा भौगोलिकरूपमा विकट क्षेत्रका बस्तीमा घरदैलो कार्यक्रममा राजनीतिक दल लागि परेका छन् । मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने, आफ्नो प्रतिबद्धता सुनाउने कार्यकर्ता भेला गरेर मतदातालाई आकर्षित गर्ने रणनीति बनाउनमा राजनीतिक दलका उम्मेदवार केन्द्रित भएका छन् ।

बागीकै डर
प्रदेश सभातर्फ २ निर्वाचन क्षेत्र रहेको जुम्लामा (१) मा गठबन्धनबाट कांग्रेसका ललितजङ्ग शाहीविरुद्ध सोही दलबाट देवेन्द्रबहादुर शाहीले बागी उम्मेदवारी दिएका छन् ।

ललितजङ्ग २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए भने देवेन्द्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादीका गजेन्द्रबहादुर महतसँग हारेका थिए । कांग्रेसले टिकट नदिएपछि देवेन्द्र प्रदेश सभामा बागी बनेका छन् । प्रदेश (१) मा एमालेका जिरेन्द्रराज गिरी र नेमकिपाका राजेश्वर देवकोटा पनि चुनावी मैदानमा छन् ।

प्रदेश सभा क्षेत्र (२) गठबन्धनबाट एकीकृत समाजवादीका पदमबहादुर रोकाया चुनावी मैदानमा छन् । उनी ०७४ को प्रदेशसभा निर्वाचनमा एमालेबाट विजयी भएका थिए । रोकाया हाल कर्णाली प्रदेशका भौतिक तथा सहरी विकासमन्त्रीसमेत छन् ।

प्रदेश सभा क्षेत्र (२) मा पनि गठबन्धनले बागी भोग्दै छ । कांग्रेसका धनबहादुर बस्नेतले बागी उम्मेदवारी दिएका छन् । राप्रपाका देवप्रसाद न्यौपाने र नेमकिपाका बृखबहादुर रावत पनि (२) बाट चुनावी मैदानमा छन् ।

८ वटा स्थानीय तह रहेको जुम्लामा ८३ मतदानस्थल र एक सय छ मतदान केन्द्र छन् । यहाँ कूल मतदाता ६८ हजार छ सय ३८ जना रहेको छ । प्रदेश सभा क्षेत्र (१) को मतदाता ३६ हजार सात सय ८३ जना, प्रदेश सभा क्षेत्र (२) मा ३१ हजार आठ सय ५५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । -विजय रावत/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *