तीन महिनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको करिब ४१ प्रतिशत लक्ष्य पूरा

सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आफ्नो तिन महिनाको प्रगति सार्वजनिक गरेको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा त्रैमासिक समीक्षा गर्दै आफ्नो तिन महिनाको प्रगति सार्वजनिक गरेको हो ।

जसअन्तर्गत कार्यालयले ४०.६७ प्रतिशत लक्ष्य पुरा गरेको जनाएको छ । कार्यालयका प्रमुख भेष बहादुर थापाले कार्यालयले ४०.६७ प्रतिशत भारित प्रगति र ५६.६८ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिए ।उनले कार्यालयले गुणस्तरीय खाद्यान्न उपयोग गर्ने नागरिकको अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनसँगै उपभोक्ता सचेतनाका कार्यक्रमलाई बढवा दिएको बताए ।

अहिले कार्यालयलाई प्रदेशभर हेर्ने जिम्मेवारी दिइएको भएपनि भौगोलिक विकटता, सीमित श्रोत साधन र कर्मचारी अभावका कारण काम गर्न चुनौती रहेको थापाले बताए । उनले कार्यालयले दैनिक उपभोग्य वस्तुको मापनको लागि ल्याब स्थापना भइरहेको जानकारी समेत दिए । अहिले कार्यालयमा ८ जना मात्रै कर्मचारीहरूले काम गरिरहेका छन् । जबकि कार्यालयमा २० जनाको दरबन्दी रहेको छ । कार्यालयले ६ जिल्ला हेर्ने गरेको थापाले बताए ।

यता, माथिल्लो कर्णालीका तिन जिल्ला हेरिरहेको जुम्ला कार्यालयका प्रमुख डाक्टर ईश्वर सुवेदीले तिन महिनामा जुम्ला कार्यालयले ७५ प्रतिशत लक्ष्य पुरा गरेको बताए । त्यसैगरी ५६.४८ प्रतिशत वित्तीय प्रगति भएको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले पानी, दूध र तेलमा उपभोक्ता ठगी हुने गरेको भन्दै यसतर्फ अनुगमनलाई बढाउन सुझाव दिए । विशेषगरी आम उपभोक्तालाई आफूले खाने खाद्य वस्तुको गुणस्तरका बारेमा जानकारी गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा नागरिक समाजका अगुवा पीताम्बर ढकालले पनि उपभोक्ताको हितका लागि कार्यालयले राम्रो काम गरेको भन्दै आगामी दिनमा अझै अनुगमन तथा गुणस्तर मापनलाई जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *