हाम्रो पक्षमा जनमत छैन भन्नेहरु अहंकारी हुन् : महासचिव भुसाल (अन्तर्वार्ता)

नेकपा एमालेबाट टुक्रिएर बनेकाे नेकपा एकीकृत समाजवादी (नेकपा एस) पहिलो पटक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुँदैछ । केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि एमालेबाट फुटेर माधवकुमार नेपाल, झलनाथ खनाल र अन्य केही नेताले निर्माण गरेको पार्टी हो– नेकपा एस ।  वाम–लोकतान्त्रिक गठबन्धनमा सामेल यो पार्टी स्थापनाकालदेखि नै नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकै फेरो समाएर केही उपलब्धि हात पारेको यो पार्टी आउँदो ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि त्यही गठबन्धनको बलमा चुनावी प्रतिस्पर्धा गर्न तम्तयार देखिएको छ । यही पृष्ठभूमिमा नेकपा एसले ल्याएको चुनावी घोषणापत्र, पार्टी र गठबन्धनको भविष्यलगायत विषयमा हामीले पार्टी महासचिव बेदुराम भुसालसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ सोही कुराकानीको संक्षिप्त सार :

यो चुनावी प्रतिस्पर्धा पहिलो होइन 
‘नेकपा एकीकृत समाजवादी(नेकपा एस)का लागि यो निर्वाचन पहिलो हो । तर, पार्टीभित्रका नेताहरुका लागि यो निर्वाचन पहिलो होइन । यसअघि पनि हामीले धेरैवटा निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका छौँ । त्यसैले हामीलाई निर्वाचनको सामना गर्न गाह्रो छैन । गठबन्धनको साहारा हामीलाई मात्र होइन, कांग्रेस जस्ता ठुला पार्टीलाई पनि चाहिएको थियो र गठबन्धन बन्यो । हामीले सहयात्रीको खोजी गरेका छौँ । हामीले संविधानको रक्षाका लागि यो पार्टी बनाएका छौँ । गठबन्धन पनि त्यसैका लागि बनेको हो ।’
एमालेका साथीहरूको माया छ तर ओली प्रवृत्तिको होइन
‘नेकपा एमाले हामीले बनाएको पार्टी हो । तर आजको एमाले हिजोको एमाले होइन । हालको एमालेको नेतृत्व एमालेका असल नीतिको प्रतिनिधित्व गर्दैन । एमालेभित्रको ठुलो कार्यकर्ता पंक्ति हामीले निर्माण गरेका हौँ । त्यो कारण हामीलाई एमालेका साथीहरूको माया नहुने कुरै छैन । तर  ओलीले देखाएको अंहकारी प्रवृत्ति र विखण्डनकारी चरित्र भएका मानिसहरूको भने हामीलाई माया छैन ।  हामीले बनाएको पार्टी एमालेमा हाम्रा साथीहरूले अझै पनि हामीलाई गुरु मानेर हिँडिरहनु भएको छ । ती साथीहरूको हामीलाई माया नहुने कुरा भएन । एमालेसँग पार्टी एकीकरणको कुरा जहाँसम्म उठिरहेको छ यो बारेमा हामीले सोचेका छैनौँ । हामी अहिले चुनावको तयारीमा छौँ । कता के गर्ने भन्ने कुरामा हामीलाई मतलव छैन । अहिलेको हाम्रो लक्ष्य भनेको चुनाव जित्ने हो । एमालेबाट साथीहरू विद्रोह गरेर निस्किरहेको अवस्थामा एमालेको भविष्य के होला र ?’
खर्चिलो भयो निर्वाचन प्रणाली, सुधार्नु छ 
‘नयाँ लोकत्रान्त्रिक प्रणालीको रक्षाका लागि र संविधानको रक्षा गर्ने हामीलाई जनताले छान्ने छन् । लामो समय जनताको बलिदानबाट प्राप्त उपलब्धि र जनताको अधिकारको रक्षा गर्न जनताले हामीलाई भोट दिने छन् । अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो छ, निर्वाचन प्रणाली खर्चिलो भएकाले यसलाई सुधार्नुपर्ने  आवश्यकता छ । यो मूलतः धेरै पैसा खर्च गर्नेले मात्र जित्न सक्ने र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ, हामी यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । यसै पटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्नेछ । पूर्व–पश्चिम मेघा नहर’ बनाई सिँचाइ, खानेपानी तथा जलमार्गको विकास गर्ने दीर्घकालीन सोचका साथ राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गरिने उल्लेख छ । कृषिको आधुनिकीकरण, स्वदेशी कच्चा पदार्थ आधारित उद्योग, ऊर्जालगायतका क्षेत्रमा उत्पादन एवं व्यापार वृद्धि तथा पर्यटन, व्यवस्थापन र सूचना तथा प्रविधिलगायतका सेवा क्षेत्रको विकास एवं विस्तार गरेर परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु आजको हाम्रो मुख्य आर्थिक कार्यभार हो । यो विषय घोषणापत्रमा उल्लेख छ । यो कार्यभार बहन गर्न हामी दृढतापूर्वक अगाडि बढ्न चाहन्छौँ ।’
विदेशिएका युवालाई स्वदेश फर्काउने योजना 
‘विदेशिएका युवालाई स्वदेश फिर्ता ल्याएर  कृषि उत्पादन बढाउने हाम्रो लक्ष्य छ  । युवा शक्ति नेपालमै परिचलन गर्ने, भूमाफियाले कब्जा गरेका ठूलो क्षेत्रफलको जमिन फिर्ता लिई सार्वजनिक स्थान तथा पार्क बनाउने,  खेतीयोग्य जमिनलाई सिँचाइको व्यवस्था गर्ने जस्ता योजना छन् । विभिन्न तरिकाले कब्जा गरिएका जग्गा तथा सार्वजनिक सम्पत्तिको खोजी गरी सरकारको मातहतमा ल्याउने र त्यस्ता ठाउँमा पार्क, बगैँचा, खेलमैदान र औद्योगिक ग्राम विकास गरिने छ । सबै सार्वजनिक सम्पत्तिलाई राज्य मातहत राखिने छ । घरपरिवारलाई मासिक २ सय युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान र बिजुली उपभोगमा सहुलियत दिइने छ । युवालाई स्वरोजगार बनाउन उद्यमशीलता विकास गर्ने प्रभावकारी योजना अघि बढाइनेछ । बिनाधितो राज्यको जमानीमा सहुलियत ऋणको व्यवस्था गर्न पहल गरिने योजना छ ।  ७० प्रतिशत जनशक्ति प्राविधिक विषयमा उत्पादन गर्ने गरी शिक्षा नीतिमा परिवर्तन गर्ने, माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्न पहल गर्ने र सामुदायिक विद्यालयको स्तर सुधार गर्ने घोषणा पनि एकीकृत समाजवादीले गरेको छ ।
संघीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्न सकिएको छैन । हामी यस स्थितिमा परिवर्तन गर्नैपर्ने पक्षमा छौँ । एकीकृत समाजवादीले भनेको छ– भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्ण पारदर्शिता, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका सबै अंगहरूको कार्य सम्पादन र संघीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने तथा छिटो, छरितो र समय सीमाभित्र विकास निर्माणलगायत सबै काम सम्पन्न गर्ने प्रणालीको विकास गर्ने हाम्रो दृढ प्रतिज्ञा छ । नेपालमै भएका युवालाई रोजगारीको व्यवस्था गर्न पनि हामी गम्भीर छौँ । किसानले उत्पादन गरेका वस्तु खेर जान नदिन कृषि उत्पादन संरक्षणका लागि हरेक पालिकामा शीत भण्डार तथा कृषि उपज सङ्कलन केन्द्रको व्यवस्था गर्ने र बजारमा बिक्री हुन नसकेको व्यावसायिक उत्पादन सरकारद्वारा खरिद गर्न जोड दिने लक्ष्य छ ।’
माधव र झलनाथलाई चुनाव जित्न समस्या छैन
‘माधवकुमार नेपाल र झलनाथ खनाललाई चुनाव जित्न कुनै सकस नै छैन । उहाँहरूको क्षेत्रमा हाम्रो पार्टी अझ दह्रो छ । अझ हामी गठबन्धनमार्फत चुनावमा गइरहेका हुनाले उहाँहरूलाई झनै सहज छ । जुन तरिकाले उहाँहरूलाई बिथोल्न एमालेहरू लागेका छन् । यो सरासर गलत छ । उहाँहरुका पछि जनमत छैनन् भन्नेहरूलाई म उहाँहरूको क्षेत्रमा गएर निरीक्षण गर्ने अनुरोध गर्दछु । उहाँहरूलाई भोट दिएर जिताउन जनता आतुर छन् । एमालेहरुले जस्तो हामीले राप्रपाको फेरो समातेर गणतन्त्रको धज्जी उडाएको छैन । गठबन्धन जनताको आवश्यकता र चाहानामा बनेको हो । हामीले एमालेलाई गाली गरेको होइन । उनीहरूको प्रवृत्तिसँग लडेका हौँ । एमालेसँग सिद्धान्त नै छैन ।’
प्रदेश र संघमा स्वतन्त्रको काम छैन
‘संघीय र प्रदेश सभामा स्वतन्त्र रुपमा चुनाव लडेर जितेकाको कुनै औचित्य नै छैन । स्थानीय तहमा जितेका स्वतन्त्र प्रतिनिधिको जति अधिकार हुन्छ, त्यति संघ र प्रदेश सांसदमा जितेहरुको हुँदैन । संसदले स्वतन्त्र जितेर कुनै काम गर्न सक्दैन । पार्टीभित्र बसेर पार्टीलाई सहयोग गरे भने त्यसको योगदान रहला तर तर यतिकै स्वतन्त्र रुपमा जितेर नीति निर्माण गर्ने कुरा सहज छैन ।’
‘पूर्व–पश्चिम मेघा नहर’ बनाउन सम्भव छ 
‘पूर्वदेखि पश्चिमसम्मका नदीलाई एक–अर्कासँग जोडेर पूर्व–पश्चिम मेघा नहर बनाउने कुरामा हामीले सोचेर विचार गरेर गर्ने सकिने काम नै उल्लेख गरेका छौँ ।
हामीले एमालेमा हुँदा गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका खेलेको, तत्कालीन ‘अनमिन’लाई बिदा गर्ने, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग सुरुवात, काठमाडौँ–निजगढ द्रुतमार्गको सुरुवात, कलंकी–नौबिसे सुरुङमार्गको योजना, जनता आवास कार्यक्रमको सुरुवात गरेको कुरा यहाँहरुलाई थाहा नै छ । त्यो बेला हामीले (मध्यपहाडी) लोकमार्ग सुरुवात गर्दा पनि त यो सकिँदैन भन्नेहरू थिए  । तर यो सम्भव भएर अन्तिम चरणमा छ  । काम गर्न केही समय लाग्छ । माथिल्लो तामाकोसी पनि त बनाउन सम्भव थिएन भन्ने थियो तर माधव नेपाल प्रधानमन्त्री भएको बेला निर्णय भयो । झलनाथ खनाल प्रधानमन्त्री हुँदा शिलान्यास भयो र काम अगाडि बढ्यो । हाल माथिल्लो तामाकोसीबाट धमाधम विद्युत् उत्पादन भइराखेको छ । त्यो कारण पूर्व–पश्चिम मेघा नहर बनाउने कुरा सम्भव छ ।’
कसको नेतृत्वमा सरकार बन्छ भनेर ठोकुवा गर्ने बेला यो होइन
हिजोको स्थानीय तहको तथ्याङ्कको आधारमा हेर्दा गठबन्धन दुई तिहाइभन्दा धेरै स्थानमा अगाडि छ । अहिलेको तथ्य आउने कुरा अहिले देखिएको छैन । हाल खुला रुपमा प्रचार नै हुन पाएको छैन । त्यो कारण आम मतादाताका माझमा उम्मेदवार जान पाएका छैनन् । त्यो कारण यस विषयमा हाम्रो ध्यान नतिजा आएपछि जाला । यो बेला चुनाव लड्ने हो ।
झलनाथ राष्ट्रपति बन्ने कुरा अफवाह  
जुन किसिमले झलनाथजी राष्ट्रपति बन्ने कुरा टुङ्गो लागेको भन्ने कुरा आयो यो सरासर गलत छ र अफवाह हो । हामीबिच यो सन्दर्भमा कुरा भएको छैन । अर्को कुरा आरजु देउवाको प्रधानमन्त्री बन्ने कुरा पनि गठबन्धनका कुनै बैठकमा उठेको छैन । म गठबन्धनका हरेक बैठकमा सहभागी भएको छु । यो कुरा त्यहाँ उठेको छैन । यो विषय छलफल भएको छैन । सिनियर नेता भएको हुनाले झलनाथजीलाई राष्ट्रपति बनाउने भन्ने कुरा हुनु स्वभाविक हो । तर यो कुराको कुनै टुङ्गो छैन ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *