१५ तस्बिरमा पाटनको ऐतिहासिक कार्तिक नाच

ललितपुर । वि.स. १६९७ मा शुरु भएको ऐतिहासिक कार्तिक नाच यही कार्तिक १३ गते आइतबारबाट शुरु भएको छ ।

हिन्दु देवता भगवान् विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन दरबार चोकभित्र रहेको भगवान् श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सव मनाउन पहिलो पटक शुरु गरेको इतिहासमा उल्लेख छ ।

कार्तिक नाच हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने नृत्य अनि संगीतमा आधारित भएर देखाइने नृत्य नाटक हो । यो नाच पाटन दरबार स्क्वायरमा अवस्थित कार्तिक डबलीमा मञ्चन गरिन्छ । शुरुमा यो नाच राजा सिद्धिनरसिंह मल्लले दुई दिनको लागि नाशल चोकमा देखाएर यसको सुरुवात गरेका थिए । तर पछि उनका छोरा श्रीनिवास मल्लले यसलाई सात दिन देखाउन थाले ।

यसै गरी श्रीनिवास मल्लका छोरा राजा योग नरेन्द्र मल्लले यसलाई १५ दिन सम्म मञ्चन गर्न थाले । अहिले भने यो नाच बढीमा १ महिना सम्म नचाइन्छ । कार्तिक नाच सुरुमा ‘बाथः प्याखँ’ बाट सुरु हुन्छ । यो तीन दिनसम्म देखाइन्छ । त्यसपछि भगवान् विष्णुको विभिन्न कथाहरूमा आधारित नाचहरू प्रस्तुत गरिन्छ ।

तत्कालीन समयमा देशमा शान्ति, समृद्धि र मनोरञ्जनको हेतुले यो नाच सुरु भएको मानिन्छ । कुनै समय कार्तिक महिनामा २७ दिन अर्थात् महिना दिनसम्म देखाइने हुँदा यो नाच कार्तिक नाचको नामले परिचित भएको हो ।

यस वर्ष कार्तिक नाच कार्तिक १३ गते देखि २२ गते सम्म १० दिन मात्रै प्रदर्शन गरिने भएको छ । परापूर्वकालमा कार्तिक महिनाभर मनाइँदै आएको उक्त नाच पछिल्ला वर्षहरूमा विविध कारणले गर्दा केही दिन मात्र देखाउन थालिएको छ ।

तस्बिरमा कार्तिक १६ गते बुधबार युद्धकला अन्तरगत देखाइएको शितज्वर/विष्मज्वर युद्ध अनि महादेव/कृष्ण युद्ध नाच :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *